परराष्ट्रमा सहसचिवको ‘माछाबजार’मा अझैसम्म चहलपहल


काठमाडौं। परराष्ट्र मन्त्रालयमा सहसचिवको ‘माछाबजार’मा अझैसम्म चहलपहल देखिन्छ। मन्त्रालयमै १६ वटा महाशाखा बनाएको परराष्ट्रले खटाएको ठाउँमा सहसचिव नजादा ‘माछाबजार’को कुरूप रूप देखिएको हो।

परराष्ट्र मन्त्रालय अमेरिकाको क्यालिफोर्निया राज्य र टेक्सास राज्यमा स्थापना गरेको महावाणिज्यदूतावासमा सहसचिव लक्ष्मण खनाल र सुरेश अधिकारीलाई महावाणिज्यदूत पठाउने निर्णय गरेको थियो। परराष्ट्रले अमेरिकाको क्यालिफोर्निया राज्यमा स्थापना गर्ने भनिएको महावाणिज्यदूतावासमा लक्ष्मण खनाललाई महावाणिज्यदूत र टेक्सास राज्यमा स्थापना गर्ने भनिएको महावाणिज्यदूतावासमा सुरेश अधिकारीलाई महावाणिज्यदूत बनाएर पठाउने निर्णय गरेको थियो। तर, महिनौं बितिसक्दा पनि उनीहरू त्यता नगइकन परराष्ट्र मन्त्रालयको ‘माछाबजार’मा रमाइरहेका छन्।

साउदी अरबको जेद्दामा महावाणिज्यदूत बनाएर पठाइएका परराष्ट्र सेवाका सहसचिव पारस पण्डित पनि अहिलेसम्म त्यता गएका छैनन्। प्रशासन सेवाको सहसचिव हटाएर परराष्ट्र सेवाको सेवाको सहसचिवलाई महावाणिज्यदूत बनाउने निर्णय गरेसँगै सुब्बाबाट लोकतान्त्रिक बढुवा हुँदैहुँदै सहसचिव भएका पारस पण्डितलाई जेद्दाको महावाणिज्यदूतमा खटाइएको थियो। तर, उनी परराष्ट्रको ‘माछाबजार’मै रमाइरहेकाले जेद्दास्थित महावाणिज्यदूतावास निमित्तको भरमा चलिरहेको पाइन्छ। पण्डित काठमाडौंमै टहलिरहदा जेद्दाको कार्यवाहक महावाणिज्यदूत भएर सिर्जना अधिकारीले काम गरिरहेकी छिन्।

हरिप्रसाद ओडारी दुबईको महावाणिज्यदूत र दधिराम भण्डारी न्युयोर्कको महावाणिज्यदूत भएर कार्यालयमा पुगिसक्दा पारस पण्डित, सुरेश अधिकारी र लक्ष्मण खनाल परराष्ट्रको ‘माछाबजार’मै हल्लिरहेका हुन्।

सहसचिवहरू रोजिना ताम्राकार, ईला मैनाली र दिपक विक त परराष्ट्र मन्त्रालयको ‘माछाबजार’मा ‘घाम तापेर’ बसिरहेका छन्। दरबन्दीभन्दा ३ जना बढी सहसचिव परराष्ट्रको ‘माछाबजार’मा थपिएपछि रोजिना, ईला र दिपक ‘बेरोजगार’ भएर बरन्डामा हल्लिरहेका हुन्।

परराष्ट्र मन्त्रालयमा प्रवक्ताको मात्रै भूमिकामा सहसचिव कृष्णप्रसाद ढकाल रहेका छन्। अमृतबहादुर राईपछि परराष्ट्र सचिव हुने लाइनमा रहेका ढकाल प्रवक्ताको भूमिकामा मात्रै सीमित भएका हुन्। पहिला परराष्ट्रको प्रवक्ताले अन्तर्राष्ट्रिय संघ, संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा समेत हेर्ने गर्थ्यो। ढकालले नै अन्तर्राष्ट्रिय संघ, संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा प्रमुख एवं प्रवक्ताको भूमिकामा काम गरिरहेका थिए। ढकालभन्दा अघि अमृतबहादुर राई र सेवा लम्साल दुबै जिम्मेवारी थिए। तर, अहिले वरिष्ठ सहसचिव ढकाललाई प्रवक्तामा मात्र सीमित पारेर सहसचिव विष्णुप्रसाद गौतमलाई उनले हेर्दै आएको अन्तर्राष्ट्रिय संघ, संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखाको जिम्मेवारी दिइएको छ। परराष्ट्र मन्त्रालयमा प्रवक्तासहित १६ वटा महाशाखा बनाइएको हो। यसले पनि परराष्ट्र मन्त्रालयलाई ‘माछाबजार’ बनाउन भूमिका खेलेको छ।

परराष्ट्र मन्त्रालय सहसचिव गणेशप्रसाद ढकाल युरोप महाशाखा, भृगु ढुंगाना उत्तरपूर्व एसिया महाशाखा, गेहेन्द्र राजभण्डारी दक्षिण एसिया महाशाखा र तापस अधिकारी दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखा प्रमुख रहेका छन्।

सहसचिव राजकाजी खड्का मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा, वासिङ्टन डिसीबाट फर्किएका कुमारराज खरेल शिष्टाचार महाशाखा, चिनको बेइजिङबाट फर्किएका सुरेन्द्रकुमार यादव सामान्य प्रशासन महाशाखा र दिलिपकुमार पौडेत उत्तर तथा दक्षिण अमेरिका महाशाखा प्रमुखको जिम्मेवारीमा छन्।

बढुवा भएर सहसचिव भएका पुष्पराज भट्टराई श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा, मणिरत्न शर्मा आर्थिक कुटनीति महाशाखा, लोकबहादुर पौडेल क्षेत्री शार्वजनिक कुटनीति महाशाखा र किरण शाक्य नीति योजना तथा अनुसन्धान महाशाखा प्रमुखको भूमिकामा छन्। न्युयोर्क नियोगबाट कौशल किशोर राय फर्किनसकेकाले ज्ञानबहादुर मगर क्षेत्रीय संगठन महाशाखामै बसिरहेका छन्। रायको ठाउँमा मगर जानुपर्ने भएपनि उनी फर्किनसककाले मगर यतै अल्मलिएका हुन्। आरजु राणा देउवाको पालामा परराष्ट्र मन्त्रालय सहसचिवको ‘माछाबजार’ बन्न पुगेको हो।

क्याटेगोरी : समाचार
ट्याग : ## सुरेश अधिकारी, #ईला मैनाली, #दिपक विक, #परराष्ट्र माछाबजार, #पारस पण्डित, #रोजिना ताम्राकार, #लक्ष्मण खनाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ