दुई पटक राज्यबाट विशेष लाभ लिएर पनि नअघाएका सचिव कर्ण, ‘कुलिङ पिरियड’ हटाउन व्यक्तिगत ‘लबिइङ’मा


काठमाडौं। राज्यबाट दुई-दुई पटक विशेष सुविधा लिएर पनि नेपाल सरकारका सचिव कृष्णहरि पुष्कर कर्ण अझै अघाएको पाइँदैन। आरक्षणबाट प्रशासन सेवाको उपसचिव र सहसचिव हुँदै सचिव भएका कर्ण अवकाशपछि संवैधानिक नियुक्ति सुरक्षित गर्न व्यक्तिगत रुपमा समेत ‘लबिइङ’मा लागेको पाइएको छ। ‘कुलिङ पिरियड’ हटाउन मुख्यसचिव एकनारायण अर्याललाई शक्ति केन्द्र धाउने बाटो देखाउँदै हिँडेका सचिव कर्ण अहिले व्यक्तिगत ‘लबिइङ’मा लाग्न थालेको खुलेको हो।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिकलगायतका अन्य नियुक्तिमा दुई वर्ष कुलिङ पिरियड राख्ने सहमति गरेपछि सचिव कर्णलाई बेचैन भएको छ। समिति बाहिरका सांसदहरूलाई फोन र ‘म्यासेज’ गरेर ‘कुलिङ पिरियड’ हटाउनका लागि सचिव कर्णले हारगुहार गरिरहेको पाइएको हो। ‘चाकडीमा पिएचडी’ गरेको उपमा पाउने गरेका सचिव कर्णले कुलिङ ‘पिरियड हटाउन’ सांसदहरूसँग त्यहिँ शैली अपनाइएको पाइन्छ।

५ वर्ष सचिव चलाएर एक वर्ष पछाडि (२०८३ असार २३) गते निजामती सेवाबाट अनिवार्य अवकाश पाउन लागेका सचिव कर्णलाई त्यसपछिको जागिरले सताएको पाइन्छ। अवकाशपछि अख्तियार जान्छु भनेर निकटवर्तीसँग ‘फुई’ लगाउँदै आएका सचिव कर्णलाई दुई वर्षे ‘कुलिङ पिरियड’ले निद हराम गरिदिएको छ। प्रतिनिधिसभाका सदस्यहरूलाई व्यक्तिगत रूपमा ‘कुलिङ पिरियड’ हटाउन चर्को ‘लबिइङ’मा लाग्नुले त्यो कुराको पुष्टि गर्छ।

२०५३ सालबाट सरकारी सेवामा प्रवेश गरेका कर्ण करिब ३० वर्ष सरकारी सेवामा रजगज गरेर आगामी असारमा बिदा हुँदैछन्। २०६६ साल कार्तिकमा मधेशी कोटाबाट प्रशासन सेवा, सामान्य प्रशासन समूहका उपसचिव बनेका सुगा-४ महोत्तरीका कर्ण छोटो समयमै मधेशी कोटाबाटै सहसचिव हुँदै सचिवमा बढुवा भएका थिए। मधेशी कोटाबाट उपसचिव भएको दुई वर्षमै (२०६८ फागुनमा) प्रशासन सेवा कै सहसचिव भए।

एकै समयमा खुला प्रतिस्पर्धाबाट उपसचिव भएका हिरालाल रेग्मी सहसचिव नै छन्। अर्जुनकुमार शर्मा र प्रेमप्रसाद सञ्जाल उपससचिवबाटै घर गएका छन्। कर्णसँगै आदिवासी/जनजाति कोटाबाट उपसचिव भएका रुद्रसिंह तामाङ उनीभन्दा ३ वर्ष पछाडि आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। मधेशी कोटाबाट उपसचिव भएको दुई वर्षमै सहसचिव हुँदै सचिव बन्न सफल भएका कर्ण अझै अघाएका छैनन्। अर्थ सचिवमा ‘ह्याट्रिक’ गर्ने असफल प्रयास गरेका कर्ण गृह र पर्यटन सचिव हुन मरिहत्ते गरेर लागेका थिए। त्यहाँ पार नलागेपछि श्रमतिर लागेका सचिव कर्ण स्वदेशमा भन्दा विदेशमा बढी रमाइरहेका छन्। विदेशबाट समेत ‘कुलिङ पिरियड’ हटाउन उनले ‘च्यानल’ प्रयोग गरिरहेको पाइन्छ। उनी सहसचिव हुँदा भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा इकोनोमिक मिनिस्टर समेत बन्न भ्याए।

राज्यबाट दुई-दुई पटक विशेष सुविधा लिएका कर्णले राज्यलाई विशेष योगदान पुऱ्याउनु पर्ने हो। राज्यले ‘आफूलाई दिनु दियो अब आफूले दिने हो’ भन्ने ‘लबिइङ’मा सचिव कर्ण लाग्नु पर्ने हो। तर, अझै उनी अवकाशपछि संवैधानिक नियुक्ति खान ‘कुलिङ पिरियड’को बार हटाउन लागिपरेका छन्। सचिव कर्णमा ‘राज्यबाट लिने मात्र होइन दिने पनि हो’ भन्ने सामान्य चेत समेत नरहेको ‘कुलिङ पिरियड’ हटाउन गरेको निर्लज्ज ‘लबिइङ’बाट देखिन्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #आरक्षण, #कुलिङ पिरियड, #कृष्णहरि पुष्कर कर्ण, #मधेशी कोटा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ