गृह मन्त्रालयमा रमेश लेखकको मनपरीतन्त्र: कानुन मिचेर जथाभावी सिडिओ खटाइयो

काठमाडौं। गत कार्तिकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव गृह मन्त्रालय तानिए।सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि उनका कार्यकर्ताहरूले त्यसको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाहसंस्कार गरेका थिए। त्यसका रोक्न असक्षम भएको भन्दै सिडिओ यादवलाई कारबाहीस्वरूप गृह मन्त्रालय तानिएको थियो। गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीले सिडिओ यादवमाथि तत्काल ‘एक्सन’ लिएर गृह मन्त्रालय तानेका हुन्। यादवलाई चितवनबाट तानेर सहसचिव भएपछि पहिलोपटक गृह छिरेका प्रकाश पौडेललाई चितवनको सिडिओ बनाएर पठाइयो। चितवनबाट तानेका यादवलाई दुई महिनापछि त्योभन्दा आकर्षक जिल्ला मोरङको सिडिओ बनाएर पठाएको छ।
गृहमन्त्री लेखक र सचिव दुवाडीले यादवलाई मोरङको सिडिओ बनाएर दुई वटा बदमासी गरेका छन्। एक त चितवनबाट कारबाही गरेर तानेको सिडिओलाई तत्काल नै आकर्षक जिल्ला मोरङको सिडिओमा पठाएका छन्। अर्को ‘क’ वर्गको जिल्ला चितवनबाट ‘क’ वर्ग कै जिल्ला मोरङको सिडिओ बनाएर कानुनको धज्जी उडाएका छन्। गृह मन्त्रालयले नै बनाएको प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधिमा ‘क’ वर्गको जिल्लामा सिडिओ भएको अधिकृतलाई ‘क’ वर्ग कै जिल्लामा सिडिओ नपठाउने भनिएको छ। तर, गृहमन्त्री लेखक र सचिव दुवाडीले यादवलाई ‘क’ वर्गको चितवनबाट तानेर ‘क’ वर्ग कै मोरङमा सिडिओ बनाएर पठाइदिएका छन्।
२ महिनाभन्दा बढी कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर राख्न नपाउनेमा ५ महिनादेखि मोरङको सिडिओबाट फिर्ता बोलाइएका सहसचिव प्रेमप्रसाद भट्टराईलाई गृह मन्त्रालयको जगेडामा राखिएको छ। यादवलाई मोरङको सिडओ पठाउँदा मात्र होइन मोरङबाट फिर्ता बोलाइएका भट्टराईलाई पनि जिम्मेवारी नदिएर गृहमन्त्री लेखक र सचिव दुवाडीले कानुनलाई चुनौती दिएका छन्। सुशासनको धज्जी उडाएका छन्। सहसचिवहरू नेत्रप्रसाद सुवेदी, केदारनाथ शर्मा र बासुदेव दाहाल ३ महिनादेखि तथा सहसचिव सुनिता नेपाल र बुद्धबहादुर गुरुङ बरण्डामा हल्लिरहेका छन्। गृह मन्त्रालयले कानुनविपरीत उनीहरूलाई जिम्मेवारीविहीन अवस्थामा राखेको पाइन्छ।
गृहमन्त्री लेखक र सचिव दुवाडीले बासुदेव घिमिरेलाई रूपन्देहीको सिडिओ खटाउँदा पनि कार्यविधि मिचेका छन्। ‘क’ वर्गको जिल्ला कास्कीको सिडिओबाट गृह मन्त्रालय फिर्ता आएर जगेडामा बसेका घिमिरेलाई ‘क’ वर्ग कै जिल्ला कास्कीभन्दा आकर्षक रूपन्देहीको सिडिओ बनाएर पठाइएको छ। बालकृष्ण खाँण गृहमन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख रहेर ‘भिजिट भिसा’मा पोखरा पुगेका घिमिरेलाई खाँण कै गृहजिल्ला रूपन्देहीको सिडिओ बनाएर पठाइएको हो। कानुन पढेका गृहमन्त्री लेखकले कार्यविधिविपरीत कास्कीको सिडिओ भइसकेका घिमिरेलाई रूपन्देहीको सिडिओ बनाएर पठाएका हुन्। अध्यागमनबाट कास्कीको सिडिओ हुँदै रुपन्देही पुगेका घिमिरेमाथि ‘तस्करीको लाइन’ चलाएको आरोप लाग्न थालेको छ।
रुपन्देहीका सिडिओ गणेश अर्याल ‘क’ वर्ग कै जिल्ला पर्साको सिडिओ बनेर गएका छन्। रुपन्देहीमा हुँदा उत्कृष्ट जिल्ला बनाएका अर्याललाई रुपन्देहीबाट पर्सा (‘क’ बाट ‘क’)को सिडिओ बनाएर पठाउन भने कार्यविधिले रोक्दैन। तर, घिमिरेलाई रुपन्देही पठाउन कार्यविधिले छेक्छ।
धर्मन्द्रकुमार मिश्रलाई पनि गृहमन्त्री लेखक र सचिव दुवाडीले कार्यविधि मिचेर सुनसरीको सिडिओ बनाएका छन्। लेखक र दुवाडीले ‘क’ वर्गको जिल्लामा पर्ने कैलालीको सिडिओ रहेका मिश्रलाई ‘क’ वर्गको जिल्ला सुनसरीमा सीधै सिडिओ बनाएर पठाइदिएका छन्। यसले लेखकको शासनकालमा गृह मन्त्रालयमा सुशासन र कानुनले ‘हावा’ खाइरहेको प्रस्टै देखिन्छ।
‘क’ वर्ग जिल्लाको सुर्खेतको सिडिओबाट मन्त्रालय तनिएका शंकरहरि आचार्यलाई ‘क’ वर्ग कै जिल्ला धनुषाको सिडिओ पठाएर गृह मन्त्रालयले अर्को ताण्डव प्रस्तुत गरेको छ। ‘ख’ र ‘ग’ वर्गका जिल्लाको सिडिओबाट फिर्ता आएका सहसचिवलाई मन्त्रालयको जगेडामै छाडेर सुर्खेतको सिडिओ हुँदै गृह मन्त्रालय आएका घिमिरेलाई धनुषाको सिडिओ बनाएर पठाइएको हो।
सुर्खेतमा पनि कार्यविधिविपरीत जगदिश्वर उपाध्याय सिडिओ बनाएर पठाइएको छ। एक वर्ष गृह मन्त्रालय अन्तर्गत काम गरिसकेको अधिकृतलाई मात्र ‘क’ वर्गको जिल्लामा सिडिओ बनाउने कार्यविधिको प्रावधानविपरीत सहसचिवमा बढुवा भएर गृह छिर्नेबित्तिकै उपाध्यायलाई सुर्खेतको सिडिओ बनाइएको हो। गृह जस्तो संवेदनशील मन्त्रालयले राजस्वको क्याडरलाई सहसचिव भएर गृह छिर्नसाथ सुर्खेतको सिडिओको जिम्मेवारी दिएको पाइन्छ। यसले गृहमन्त्री लेखक र गृहसचिव दुवाडी कति असंवेदनशील छन् भन्ने देखाउँछ।
गृहमन्त्री लेखकले उपसचिव हुँदा आफ्नै निजी सचिव रहेका धर्मराज जोशीलाई सहसचिव हुनेबित्तिकै बाँकेको सिडिओ बनाएर पठाइदिएका छन्। एक वर्ष गृह मन्त्रालय अन्तर्गत काम गरिसकेको अधिकृतलाई मात्र बाँकेको सिडिओ बनाएर पठाउन सकिन्छ। तर, गृहमन्त्री लेखकले आफ्नै पिएलाई सहसचिव हुनेबित्तिकै ‘क’ वर्गको जिल्ला बाँकेको सिडिओ बनाएर कानुन र सुशासनको धज्जी उडाएका छन्।
निर्वाचन आयोगबाट गृह मन्त्रालय छिरेका पर्वते सहसचिव रमेश ढकाललाई पनि ‘क’ वर्ग कै जिल्ला ललितपुरको सिडिओ बनाएर गृहमन्त्री लेखक र सचिव दुवाडीले कार्यविधिलाई ‘घाममा सुकाइदिएका’ छन्। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल पनि सामान्यबाट छिरेर ‘क’ वर्ग कै सिडिओ भएर गएका हुन्। ‘क’ वर्गको पर्साको सिडिओ भइसकेका ढकाल गृह छाडेर गएर फेरि गृह छिर्नेबित्तिकै ‘क’ वर्गको जिल्लाको सिडिओ भएर गएका हुन्।
कार्यविधिमा अधिकृतको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा नखटाइने स्पष्ट व्यवस्था छ। तर, स्किम श्रेष्ठलाई गृहजिल्ला मकवानपुरको सिडिओ बनाएर पठाइएको छ। गृहजिल्ला महोत्तरीको सिडिओ बनेर गएका लालबाबु कवारी र दैलेख गएका नवराज जैसी फिर्ता बोलाइएपनि स्किममलाई चलाइएको छैन। यसले गृहमा गृहमन्त्री लेखक र सचिव दुवाडीको मनपरीतन्त्र चलिरहेको देखिन्छ। कार्यविधिविपरीत जथाभावी सिडिओ पठाएर गृहमन्त्री लेखक र सचिव दुवाडीले गृह प्रशासनलाई एकदमै कमजोर बनाएका छन्। जथाभावी कर्मचारी खटाउँदा गृहमन्त्री लेखक र सचिव दुवाडी अहिले नराम्रोसँग चेपुवामा पर्न थालेका हुन्।
क्याटेगोरी : समाचारट्याग : #इन्द्रदेव यादव सिडिओ, #उमेशकुमार ढकाल, #जगदिश्वर उपाध्याय, #धर्मराज जोशी, #धर्मेन्द्रकुमार मिश्र, #बासुदेव घिमिरे, #रमेश ढकाल, #लालबाबु कवारी, #शंकरहरि आचार्य, #सहसचिव स्किम श्रेष्ठ
तपाईको प्रतिक्रिया दिनुहोस