आजबाट कानुन सचिव उदयराज सापकोटा सेवानिवृत्त हुँदै, बन्लान् त सर्वोच्चको मुख्य रजिष्ट्रार?

काठमाडौं। आज (मंगलबारबाट) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले अनिवार्य अवकाश पाउँदैछन्। ५ वर्ष सचिव चलाएर सापकोटा कानुन सचिवबाट बिदा हुन लागेका हुन्।
२०७७ जेठ २८ गते नेपाल न्याय सेवा, कानुन समूहको सचिवमा बढुवा भएका बानेश्वरका सापकोटा प्रभावशाली कर्मचारी हुन्। कानुन मन्त्रालयको सचिवमा ‘ह्याट्रिक’ हानेका सापकोटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवको भूमिकामा समेत काम गरिसकेका छन्। सत्य निरूपण तथा मेलमिलाप आयोग र कानुन मन्त्रालयको सचिव हुँदा सापकोटाले द्वन्द्वकालीन विवाद निरूपणमा महत्त्वपूर्ण योगदान दिएका थिए। टिआरसी गठन गर्न उनको विशेष भूमिका रहेको कानुन मन्त्रालयका अधिकारीहरू बताउँछन्।
सर्वोच्च अदालतको न्यायाधीश बन्ने ख्वाक राख्ने सचिव सापकोटालाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार बनाउने चर्चा पनि सेलाएको छैन। न्याय सेवा आयोगले सापकोटाले आजै मुख्य रजिष्ट्रार बनायो भने न्यायालयको प्रशासन पनि चलाउन पाउनेछन्।
काबिल सचिव सापकोटा मुख्य रजिष्ट्रार बने भने उनी कानुन समूहबाट पहिलो मुख्य रजिष्ट्रार बन्नेछन्। सरकारी वकिल समूहबाट राजन भट्टराई मुख्य रजिष्ट्रार बनिसकाले अब कानुन समूहबाट मात्र मुख्य रजिष्ट्रार बन्न बाँकी छ। त्यसका लागि सापकोटालाई उपयुक्त पात्रका रूपमा हेरिएको छ। मुख्य रजिष्ट्रार देवेन्द्र ढकालमाथि न्यायिक टिप्पणी भएकाले उनको ठाउँमा सापकोटालाई लाने सम्भावना रहेको स्रोतले बतायो। सचिव सापकोटा मुख्य रजिष्ट्रार बनेनन् भने आजैबाट घर जानेछन्। उनका लागि संवैधानिक नियुक्ति, न्यायाधीश वा अन्य नियुक्तिको बाटो भने खुला रहनेछ।
क्याटेगोरी : समाचारट्याग : ##उदयराज सापकोटा
तपाईको प्रतिक्रिया दिनुहोस