प्रधानमन्त्री ओलीको कोटाबाट न्यायाधीश बनाउने ठाउँमा जाने भए महेश नेपाल


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कोटाबाट न्यायाधीश बनाउने ठाउँ (न्याय परिषद्)मा वरिष्ठ अधिवक्ता महेश नेपाल जाने भएका छन्। न्याय परिषद्का सदस्य रामप्रसाद भण्डारीले यहीँ असार १० गतेबाट अवकाश पाउने भएपछि प्रधानमन्त्रीको कोटाबाट भोजपुरले नेपालले अवसर पाएका छन्।

प्रधानमन्त्री ओली कै अघिल्लो कार्यकालमा न्याय परिषद्को सदस्य बनेका भण्डारी घर जाने भएपछि नेपाललाई अघि सारिएको हो। प्रधानमन्त्री ओलीले न्याय परिषद्को सदस्यमा महेश नेपालको नाम सिफारिस गरेका  छन्। न्याय परिषद सदस्यमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान अनुसार नेपालको नाम सिफारिस गरिएको हो। उनी नेपाल बार काउन्सिलको पार्षद् समेत भइसकेका व्यक्ति हुन्।

संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि नेपाल न्याय परिषद्को सदस्य बन्नेछन्। भण्डारी अवकाशमा गएपछि मात्र सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक नियुक्तिको छिनोफानो गर्नेछ। भण्डारी पनि संसदीय सुनुवाई बिनै न्याय परिषद्को सदस्यमा नियुक्त भएका थिए।

प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्याय परिषद्मा सर्वोच्चको वरिष्ठतम् न्यायाधीश, कानुनमन्त्री, बारको प्रतिनिधि र प्रधानमन्त्रीको प्रतिनिधि सदस्य हुन्छन्। नेपाल बार एसोसिएसनको प्रतिनिधिका रूपमा ४ वर्षका लागि वरिष्ठ अधिवक्ता दामोदर खड्का न्याय परिषद्को सदस्यमा नियुक्त भइसकेका छन्। संसदीय सुनुवाईबाट अनुमोदन भएपछि प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद्मा पुग्नेछन्। न्याय परिषद् न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासनसम्बन्धी कारबाही, बर्खास्ती र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिस गर्ने वा परामर्श दिने निकाय हो।

क्याटेगोरी : समाचार
ट्याग : #न्याय परिषद् सदस्य, #महेश नेपाल, #रामप्रसाद भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ