विपी प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा ढिलाइ, ध्यानाकर्षण पत्रमार्फत शीघ्र टुंग्याउन आग्रह

धरान । दुई महिनादेखि उपकुलपतिविहीन बनेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) मा शीघ्र नियुक्तिको माग गर्दै प्रतिष्ठानकै अध्ययन प्रतिष्ठान, सुनसरीले बुधबार कुलपतिलाई औपचारिक ध्यानाकर्षण पत्र पठाएको छ।
विपी अध्ययन प्रतिष्ठान, सुनसरीका अध्यक्ष विकास आर्चायको हस्ताक्षरसहित पठाइएको उक्त पत्रमा, उपकुलपति (VC) विहिन अवस्थाले प्रतिष्ठानको शैक्षिक, प्रशासनिक र सेवा प्रवाह जस्ता अति संवेदनशील पक्षमा गम्भीर असर पारेको उल्लेख छ। प्रतिष्ठानको नेतृत्वविहीनताले दैनिक कामकाजदेखि दीर्घकालीन योजना र अनुसन्धान कार्यहरू समेत प्रभावित भएको भन्दै उनीहरूले तत्काल प्रक्रिया टुंग्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
“विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको एक प्रमुख स्वास्थ्य शैक्षिक संस्था हो, र यसको प्रभावकारी सञ्चालनका लागि उपकुलपति पद अत्यन्तै महत्वपूर्ण छ। नेतृत्वविहीनताले संस्थाको साखमाथि प्रश्न उठेको छ,” पत्रमा भनिएको छ।
विपी प्रतिष्ठानमा विद्यार्थी, स्वास्थ्यकर्मी र सेवाग्राहीहरूमाझ पर्न थालेको असन्तुष्टि र अन्योल अन्त्य गर्न पदीय नियुक्तिमा भएको ढिलाइ हटाउनुपर्ने माग गरिएको छ।
सरकारले भने जेठ १४ गते रिक्त रहेका चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाएको थियो। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सर्च कमिटी मार्फत उपयुक्त व्यक्तिहरूको छनोट प्रक्रिया चलिरहेको छ। यद्यपि, विपीमा नेतृत्व रिक्त भएको दुई महिना बितिसक्दा पनि टुंगो नलागेकोप्रति अध्ययन प्रतिष्ठानको गम्भीर चासो देखिएको छ।
‘विपी अस्तव्यस्त बन्दै गएको संकेत’
ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ कि हालको नेतृत्व शून्यताले संस्थाको सर्वाङ्गीण गतिविधि, अनुसंधान, मानव संसाधन व्यवस्थापन, साथै नीतिगत निर्णयहरू समेत थलिएको अवस्था छ। यदि नियुक्ति प्रक्रिया अझै लम्बियो भने, यसले स्वास्थ्य शिक्षा र सेवा दुबैको गुणस्तरमा दीर्घकालीन असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस