राष्ट्रिय ट्रमा सेन्टरले लाज ढाक्न नसकेर कबाडी ढाकेछ!


काठमाडौँ । राजधानीको मध्य भागमा रहेको राष्ट्रिय ट्रमा सेन्टरको अव्यवस्थित स्थितिबारे समाचार सार्वजनिक भएपछि ट्रमा सेन्टर प्रशासनले हतारहतार लाज ढाक्ने प्रयास गरेको छ। तर यो प्रयास झनै हास्यास्पद बनेको देखिन्छ। प्रशासनले कबाड ढाक्न त्रिपाल तानिएको छ मानौं त्रिपालले चरमराएको व्यवस्थापन लुक्नेछ।

ट्रमा सेन्टरको ‘डम्पिङ साइट’ शीर्षकमा स्वास्थ्यालाइभले जेठ २७ गते प्रकाशित गरेको रिपोर्टले ट्रमा सेन्टरको पछाडिपट्टि वर्षौंदेखि जम्मा हुँदै गएको प्रयोगविहीन उपकरण, कुर्सी, बेड, सिलिण्डर लगायतका सामाग्री खुला आकाशमुनि थुपारिएको तथ्य बाहिर ल्याएको थियो। ती सामाग्री न सार्वजनिक निलामीमार्फत व्यवस्थापन गरिएको, न त पुनःप्रयोग गरिएको छ। बरु राज्यको सम्पत्तिलाई सरसफाइ र सार्वजनिक स्वास्थ्यको मापदण्डविपरीत खुला रूपमा थुपारेर राखिएको थियो।

समाचार सार्वजनिक भएपछि ट्रमा सेन्टरले छोप्ने प्रयास गरेको वस्तु भने यही कबाडी हो। जुन अहिले निलो त्रिपालले ढाकिएको छ। अस्पतालकै एक कर्मचारीका अनुसार, “खबर आयो, अनि माथिल्लो तहबाट झम्टी पर्‍यो। त्यसपछि हतारमा त्रिपाल मगाएर ढाक्न भनियो।” तर यसरी त्रिपाल ओढाएर समस्या ढाकिएको छ त?

यस्तो छोपछोपाई शैलीको ‘अन्तर्यामी व्यवस्थापन’ले अस्पतालको लाज झन् उजागर मात्र गरेको छैन, सरकारी स्वास्थ्य संस्थामा देखिएको गैरजिम्मेवारी प्रवृत्तिलाई पुनः एकपटक सार्वजनिक गरेको छ। विशेषगरी राष्ट्रिय स्तरको ट्रमा सेन्टर, जसले आपतकालीन बिरामी सेवा दिनुपर्ने हो, उसैको आँगनमै वर्षौंदेखि अलपत्र थन्किएको सम्पत्ति र त्यसप्रति देखिएको बेवास्ताले सम्पूर्ण स्वास्थ्य प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ।

त्रिपालको प्रश्न: ट्रान्सपरेन्सी कि ढाकछोप?

सरकारी अस्पतालहरूमा हुने सम्पत्तिको लेखाजोखा, मर्मत, पुनःप्रयोग वा निलामी गर्ने कानुनी प्रक्रिया कहाँ हरायो? यदि कुनै कारणवश ती सामाग्री अनुपयोगी थिए भने किन व्यवस्थापन गरिएन? र अहिले समाचार बाहिर आएपछि मात्र किन ‘ढाक्ने’ कार्य भयो?

समाचार प्रकाशनपछि त्रिपाल त तानियो, तर कबाडी व्यवस्थापनको दीर्घकालीन समाधान कता छ? यो प्रश्न सम्बन्धित मन्त्रालय र ट्रमा सेन्टर प्रशासनलाई हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ