नेपाली मूलका चिकित्सकको नेतृत्वमा अमेरिकामा नयाँ कार्यसमिति, स्वास्थ्य क्षेत्रमा थप सहकार्यको अपेक्षा


अमेरिका । नेपाली मूलका डाक्टरहरूको सक्रियता र समाजसेवाको भावना समेटिएको अमेरिका नेपाल मेडिकल फाउन्डेसन (ANMF) को नेतृत्वमा पुनः डा. विष्णु सापकोटा चयन भएका छन्। वासिङटन डिसीमा सम्पन्न २९ औं वार्षिक साधारण सभाले २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि सापकोटालाई अध्यक्षको जिम्मेवारी दिएको हो।

कार्यसमितिमा डा. नारायण न्यौपाने उपाध्यक्ष, डा. नविन कैनी सचिव, डा. कल्पना श्रेष्ठ कोषाध्यक्ष र डा. सुसिल सुवेदी सह–कोषाध्यक्ष चयन भएका छन्।

यस पटकको कार्यसमितिमा अमेरिका र क्यानडामा रहेका नेपाली चिकित्सकहरूको अनुभव र विविध विशेषज्ञता समेटिएको छ। सदस्यहरूमा डा. विकास भट्टराई, डा. विनोद ढुंगाना, डा. विवेक वाग्ले, डा. विनोद खड्का, डा. डिल्ली भुर्तेल, डा. गणेश चौधरी, डा. जीवन लामिछाने, श्रद्धा मानन्धर, उपेन्द्र काफ्ले, डा. राजु सेन्चुरी, डा. लक्ष्मण तिवारी, डा. विरेन्द्र शाह, डा. सन्तोष सापकोटा, डा. सरोज कँडेल, डा. श्याम पौडेल, डा. निता थापा, डा. समिर गौतम, डा. अनन्ता सुवेदी, डा. भुपेष खड्का र डा. मार्भिन ब्रुस्टिन छन्।

नेपालकाे स्वास्थ्य क्षेत्रमा स्थायी योगदान

सन् १९९७ मा स्थापना भएको अमेरिका नेपाल मेडिकल फाउन्डेसनले नेपाली स्वास्थ्य सेवाको विकासमा विशेष योगदान पुर्‍याउँदै आएको छ। अमेरिकामा रहेका नेपाली चिकित्सक र नेपालप्रति समर्पित समाजसेवीहरूद्वारा सुरु गरिएको यो संस्थाले शिक्षा, तालिम, पूर्वाधार निर्माण, अनुसन्धान प्रवर्द्धन र चिकित्सा सेवा विस्तारका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

संस्थाले नेपालमा रहेको सह-सम्बद्ध संस्था ‘एएनएमएफ नेपाल’ मार्फत पनि विभिन्न साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेषतः चिकित्सकहरूको दक्षता अभिवृद्धि, स्वास्थ्य सेवा पहुँच विस्तार तथा मेडिकल उपकरणहरूको सहयोगमार्फत संस्थाले नेपाल सरकारसँग सहकार्य गर्दै आएको छ।

अध्यक्ष डा. सापकोटाले नयाँ कार्यसमितिकाे तर्फबाट धन्यवाद ज्ञापन गर्दै भने, “नेपालको स्वास्थ्य सेवा प्रणाली सुदृढ बनाउन अमेरिकामा रहेका नेपाली चिकित्सकको भूमिका अझ प्रभावकारी बनाउने हाम्रो प्रयास हुनेछ।”

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ