आरजुको शासनकालमा परराष्ट्रमा सहसचिवको मेला, दरबन्दी नहुँदा व्यवस्थापनमा झमेला

काठमाडौं। आरजु राणा देउवाको शासनकालमा परराष्ट्र मन्त्रालयमा सहसचिवको मेला लागेको छ। आरजु कै जोडबलमा परराष्ट्रमा अनावश्यक दरबन्दी थपिएपछि परराष्ट्र मन्त्रालयमा सहसचिवको मेला लागेको हो। दरबन्दी थप्ने मात्र होइन दरबन्दीभन्दा बढी विज्ञापन खुलाउँदा थपिएका सहसचिव व्यवस्थापन पनि समस्या देखिएको छ।
परराष्ट्रमन्त्री आरजुको नेतृत्वमा परराष्ट्र मन्त्रालयमा १५ वटा महाशाखा बनाउँदा सहसचिवको मेला लाग्ने अवस्था आएको हो। साबिकको १० वटा महाशाखा नै अनावश्यक भइरहेको अवस्थामा ५ वटा थपेर १५ वटा महाशाखा बनाउँदा परराष्ट्रमा सहसचिवको मेला लागको छ। दरबन्दीभन्दा ३ वटा बढी विज्ञापन गरिएपछि अहिले ३ जना सहसचिव मन्त्रालयको जगेडामा थन्किएका छन्। परराष्ट्रमा दरबन्दीको ‘बाढी’ नल्याउँदा सत्ता नै उलटफेर हुने धम्की आएपछि दरबन्दी थप्न बाध्य भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरू बताउँछन्।
परराष्ट्र मन्त्रालयको प्रवक्ताको जिम्मेवारी वरिष्ठ सहसचिव कृष्णप्रसाद ढकालले पाएका छन्। ढकाललाई प्रवक्ता मात्र दिएर प्रवक्ताले हेर्ने कामका लागि छुट्टै महाशाखा बनाएर दुई वटा महाशाखा खडा गरिएको हो। युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल र उत्तर पूर्व एसिया महाशाखा प्रमुख भृगु ढुंगाना रहेका छन्।
बेल्जियमको राजदूतबाट फर्किएका गेहेन्द्र राजभण्डारी दक्षिण एसिया महाशाखा, पाकिस्तानबाट फर्किएका तापस अधिकारी दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखा र जर्मनीबाट फर्किएका रामकाजी खड्का मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख छन्। ४ वर्षे कार्यकाल पूरा गरेर राजदूतबाट फर्किएर आउने राजभण्डारी, अधिकारी र खड्काको दरबन्दीमा समेत विज्ञापन गर्दा ईला मैनाली, रोजिना ताम्राकार र दिपक विक जगेडामा थन्किएका छन्। उनीहरू दरबन्दी बिनै सेटिङमा बढी विज्ञापन गरेर थपिएका सहसचिव हुन्।
कुमारराज खरेल शिष्टाचार महाशाखा प्रमुख, सुरेन्द्रकुमार यादव सामान्य प्रशासन महाशाखा प्रमुख, दिलिपकुमार पौडेल उत्तर तथा दक्षिण अमेरिका महाशाखा प्रमुख र विष्णुप्रसाद गौतम अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय कानून महाशाखा प्रमुख रहेका छन्। सहसचिव खरेल डिसीबाट र यादव बेइजिङबाट फर्किएर मन्त्रालयको महाशाखामा कमाण्ड सम्हाल्न आइपुगेका हुन्।
ज्ञानबहादुर मगर क्षेत्रीय संगठन महाशाखा प्रमुख छन्। पुष्पराज भट्टराई श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा प्रमुख, लोकबहादुर पौडेल क्षेत्री सार्वजनिक कूटनीति महाशाखा प्रमुख र किरण शाक्यलाई नीति, योजना तथा अनुसन्धान महाशाखा प्रमुख जिम्मेवारी दिइएको छ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा स्थापना गर्ने भनिएको महावाणिज्यदूतावासमा लक्ष्मण खनाल र अमेरिका कै टेक्सास राज्यमा स्थापना गर्ने भनिएको महावाणिज्यदूतावासमा सुरेश अधिकारी महावाणिज्यदूतमा नियुक्त गरिएको छ। तर, उनीहरू पनि उता जान नसकेर परराष्ट्र मन्त्रालयमै डेरा जमाएर बसेका छन्।
त्यस्तै सुब्बाबाट बढुवा भएर सहसचिव भएका पारस पण्डितलाई साउदी अरबको जेद्दास्थित महावाणिज्यदूत बनाएर पठाएपनि उनी मन्त्रालयमै हल्लिरहेका छन्। यी सहसचिवहरू पनि मन्त्रालयमै थुप्रिदा परराष्ट्र मन्त्रालय ‘माछाबजार’ बनेको हो। परराष्ट्र मन्त्रालय अहिले जस्तो भद्रगोल अवस्थामा कहिले पनि नरहेको परराष्ट्र कै अधिकारीहरू बताउँछन्। यसले परराष्ट्रमन्त्री आरजु राणा देउवाको नेतृत्व र व्यवस्थापिकीय क्षमतामाथि समेत प्रश्न उठेको छ।
क्याटेगोरी : समाचारट्याग : ## सुरेश अधिकारी, #ईला मैनाली, #किरण शाक्य, #कुमारराज खरेल, #कृष्णप्रसाद ढकाल, #गणेशप्रसाद ढकाल, #गेहेन्द्र राजभण्डारी, #ज्ञानबहादुर मगर, #तापस अधिकारी, #दिपक विक, #दिलिपकुमार पौडेल, #पारस पण्डित, #पुष्पराज भट्टराई, #भृगु ढुंगाना, #रामकाजी खड्का, #रोजिना ताम्राकार, #लक्ष्मण खनाल, #लोकबहादुर पौडेल क्षेत्री, #विष्णुप्रसाद गौतम, #सुरेन्द्रकुमार यादव
तपाईको प्रतिक्रिया दिनुहोस