दुर्गा प्रसाईको उपचार: भक्तपुरमा उपचार गराउन मानेनन्, भरतपुर क्यान्सर अस्पताललाई विशिष्टीकृत अस्पताल घाेषणा गर्दिन गृहकाे स्वास्थ्यमा लबिङ

काठमाडौं । तीनकुने घटनापछि पक्राउ परेका दुर्गा प्रसाईको उपचारका लागि अदालतले ‘विशिष्टीकृत क्यान्सर अस्पताल’मा राख्न आदेश दिएपछि गृह मन्त्रालय सक्रिय भएको छ। भक्तपुर क्यान्सर अस्पतालमा आवश्यक प्रविधि नभएको भन्दै दुर्गा प्रसाईले उपचार अस्वीकार गरेपछि गृह मन्त्रालयले भरतपुर क्यान्सर अस्पताललाई नै विशिष्टीकृत अस्पतालको रूपमा मान्यता दिन स्वास्थ्य मन्त्रालयसँग आग्रह गर्ने तयारी गरेको हो।
काठमाडौं जिल्ला अदालतले असार १ गतेको आदेशमार्फत प्रसाईको उपचार उपयुक्त विशिष्टीकृत क्यान्सर अस्पतालमा गरिनुपर्ने उल्लेख गरेको थियो। घाँटीको क्यान्सरबाट पीडित रहेका प्रसाईलाई सरकारी अस्पतालमा उपचार गराउने गृह मन्त्रालयको प्राथमिकता छ। तर भक्तपुर क्यान्सर अस्पतालमा थ्री टेस्ला एमआरआई जस्ता उपकरण नभएको र आवश्यक सेवा नपुगेको भन्दै प्रसाईले अस्वीकार गरेका थिए।
उनले काठमाडौं मेडिकल कलेजमा उपचार गराउने इच्छा देखाएका छन्। तर गृह मन्त्रालय भने सरकारी अस्पतालमै उपचार गराउने पक्षमा देखिन्छ। यसै सन्दर्भमा मन्त्रालयले भरतपुर क्यान्सर अस्पताललाई उपयुक्त ‘विशिष्टीकृत’ अस्पतालका रूपमा उल्लेख गर्न स्वास्थ्य मन्त्रालयलाई परिपत्र गरेको छ । अब स्वास्थ्यले गृहकाे कुरा जबर्जस्ती मान्छ वा प्रसाईले चाहेको अस्पतालमा लैजाने बाटाे खाेल्छ हेर्न बाँकी छ ।
तिनकुने घटनाको पृष्ठभूमि
दुर्गा प्रसाईले २०८१ चैत १५ मा काठमाडौंको तिनकुनेमा व्यवस्था र नेताहरूको आलोचना गर्दै जनसभा आयोजना गरेका थिए। सो क्रममा भएको झडपपछि सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको र अशान्ति फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा उनी हिरासतमा रहँदा स्वास्थ्य अवस्था बिग्रिएको थियो।
विवाद किन भयो?
अदालतको आदेश अनुसार विशिष्टीकृत क्यान्सर अस्पतालमा उपचार गराउनुपर्ने भए पनि कुन अस्पताल विशिष्टीकृत हो भन्नेमा स्पष्टता नआएको कारण विषय जटिल भएको हो। भरतपुर क्यान्सर अस्पताललाई नै त्यो रुपमा मान्यता दिन गृह मन्त्रालयको प्रयास यसै सन्दर्भमा जोडिएको छ।
स्वास्थ्य नीति विश्लेषकहरूका अनुसार अस्पतालको पूर्वाधार, जनशक्ति र प्रविधिको आधारमा मात्र विशिष्टीकृत घोषणा गर्नु उपयुक्त हुन्छ। “उपचारको विषयमा स्पष्ट मापदण्ड कायम नगरी कार्यान्वयन गर्दा स्वास्थ्य प्रणालीप्रति जनविश्वास कमजोर बन्न सक्छ,” एक स्वास्थ्य विज्ञले भने।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
तपाईको प्रतिक्रिया दिनुहोस