सिडिओ सरूवा गर्दा ‘अन्याय’मा परेका गौतम र शर्मा

काठमाडौं। गृह मन्त्रालयले मंगलबार गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरूवा केही सहसचिवहरू अन्यायमा परेका छन्। गृह मन्त्रालयले जनार्दन गौतम र केदारनाथ शर्मालाई सिडिओमा अन्यायपूर्वक सरूवा गरेको छ। उनीहरूको ‘ग’ वर्गको जिल्लाको सिडिओबाट ‘ग’ वर्ग कै जिल्लाको सिडिओमा सरूवा भएको हो।
प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ मा ‘ग’ वर्गको जिल्लाको प्रमुख जिल्ला अधिकारी भएको अधिकृतलाई ‘ख’ वा ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी खटाइनेछ र निजको ईच्छाविपरीत पुनः ‘ग’ वर्गको जिल्लामा खटाइने छैन भन्ने प्रावधान रहेको छ। तर, गृहसचिव गोकर्णमणि दुवाडी र गृहमन्त्री रमेश लेखकले मापदण्डविपरीत गौतम, शर्मा र गुरूङलाई अन्यायपूर्ण तरिकाले ‘ग’ वर्गको जिल्लाबाट ‘ग’ वर्ग कै जिल्लामा सिडिओ बनाएर पठाएका छन्।
गृह मन्त्रालयले ‘ग’ वर्ग जिल्ला गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ‘ग’ वर्ग कै जिल्ला डडेल्धुरामै सिडिओ बनाएर पठाएको छ। जुम्लाको सिडिओ बनाएर पठाएका केदारनाथ शर्मा पनि ‘ग’ वर्गको जिल्लाको सिडिओबाट ‘ग’ वर्गको जिल्लामै पुगेका छन्। शर्मा ‘ग’ वर्गको जिल्ला पर्वतको सिडिओबाट गृह मन्त्रालयको जगेडा ३ महिना बसेर जुम्लाको सिडिओमा पठाइएका हुन्।
सरूवा मापदण्डविपरीत धनुषाको प्रमुख जिल्ला अधिकारी बनेका रामुराज कडरिया अहिले भने ठिक तरिकाले गोरखाको सिडिओ बनेर गएका छन्। गृह मन्त्रालय छिर्नेबित्तिकै ‘ख’ वा ‘ग’ वर्गको जिल्लाको सिडिओमा पठाउने व्यवस्था छ। तर, मुख्यसचिव एकनारायण अर्याल निकट कडरिया सहसचिवमा बढुवा भएर गृह मन्त्रालय प्रवेश गर्नेबित्तिकै ‘क’ वर्गमा पर्ने धनुषाको सिडिओ बनेर गएका थिए। धनुषाबाट गृह मन्त्रालय तानिएका कडरियालाई अहिले ‘ख’ वर्गको गोरखाक सिडिओमा पठाइएको छ। उनलाई गौतम र शर्माको ठाउँमा सिडिओ बनाएर पठाउँदा एकजनाले न्याय पाउने सम्भावना थियो। तर, गृह मन्त्रालयले ध्यान पुऱ्याउन सकेकाे देखिँदैन।
‘ख’ वर्गको जिल्ला बाग्लुङको सिडिओबाट गृह मन्त्रालय तानिएका नेत्रप्रसाद सुवेदी ‘ग’ वर्गमा पर्ने सल्याङको सिडओ भएर गएका छन्। ‘ख’ वर्गको जिल्लाबाट ‘ग’ वर्गको जिल्लामा सिडिओ बनाएर पठाउनुलाई भने सामान्य रूपमै लिन सकिन्छ।
त्यस्तै ‘ख’ वर्गको जिल्ला सिरहाबाट गृह मन्त्रालय हुँदै ‘ग’ वर्गको जिल्ला रोल्पाको सिडिओमा पठाइएका बासुदेव दाहाल र ‘ख’ वर्ग कै जिल्ला गोरखाबाट ‘ग’ वर्गको जिल्ला बैतडीमा सिडिओ बनेर गएका पुण्य बिक्रम पौडेलको हकमा पनि उचित निर्णय नै भएको पाइन्छ।
त्यसैगरी ‘ग’ वर्गको जिल्ला लमजुङबाट गृह मन्त्रालयको जगेडामा ‘ख’ वर्गको जिल्ला डोटीमा सिडिओ भाएका बुद्धबहादुर गुरूङको हकमा पनि मापदण्डविपरीत भन्न मिल्दैन। तर, डडेल्धुरा पुऱ्याइएका गौतम र जुम्ला खटाइएका शर्माको हकमा भने सरूवा मापदण्ड मिचेको देखिन्छ।
क्याटेगोरी : विविधट्याग : #केदारनाथ शर्मा, #जनार्दन गौतम
तपाईको प्रतिक्रिया दिनुहोस