महालेखा नियन्त्रक बन्न चर्को दौडधुप

काठमाडौं। महालेखा नियन्त्रक खाली भएको दुई हप्ता हुन लाग्यो। जेठ २४ गतेबाट महालेखा नियन्त्रक रघुराम बिष्टले अनिवार्य अवकाश पाएसँगै अहिले महालेखा नियन्त्रक कार्यबाहकको भरमा चलेको छ। २ सातादेखि यमुना प्रधानले निमित्त भएर महालेखा नियन्त्रक कार्यालय हाँकिरहेकी छिन्।
अवकाश हुन लागेका विष्टलाई महालेखा नियन्त्रक बनाएर त्यहिँबाट घर पठाइएको हो। अहिले पनि ५८ वर्षे उमेर हदका कारण साढे २ महिनापछि घर जान लागेका डा. खगेन्द्रप्रसाद सुवेदीलाई महालेखा नियन्त्रक बनाएर पठाउने खतरा जीवितै छ। हालै सचिवमा बढुवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएका सुवेदी प्रदेश नगई महालेखा जाने प्रयासमा देखिन्छन्। तर, उनलाई संघमै राख्दा थिति बिग्रिन्छ।
महालेखा नियन्त्रकका लागि लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी र गण्डकीका प्रमुख सचिव शोभाकान्त पौडेलबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। यसअघि पनि वाणिज्य तथा आपूर्ति सचिव बनेर संघमा आउने प्रयास गरेका अधिकारी अहिले महालेखा नियन्त्रक बनेर आउने लबिइङमा छन्। पञ्चेश्वर परियोजनाको समेत स्वाद चाखिसकेका अधिकारी महालेखा नियन्त्रक बन्ने तीव्र लबिइङमा रहेको बुझिन्छ।
मुख्यसचिव एकनारायण अर्यालको विश्वास जितेका स्याङ्जाली शोभाकान्त पौडेल पनि महालेखा नियन्त्रक बनेर आउने लबिइङमा लागेका छन्। लेखाका उपसचिव पौडेलले महालेखाको स्वाद राम्ररी बुझेका छन्। गण्डकीका प्रमुख सचिव पौडेलले महालेखा नियन्त्रक बनेर आउन मुख्यसचिव अर्यालमार्फत दबाब बढाउन थालेको पाइन्छ।
मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल पनि एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई समातेर महालेखा नियन्त्रक बन्ने प्रयासमा छन्। बाबुराम अधिकारी र शोभाकान्त पौडेललाई रोक्ने सके भुजेल महालेखा नियन्त्रक बन्ने सम्भावना छ। अहिले संघमा आउने पालो सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव कमलप्रसाद पोखरेलको हो। तर, पोखरेलको लबिइङ कमजोर देखिएकाले उनीपछि प्रदेश सचिव भएका अधिकारी, भुजेल र पौडेलमध्ये एकजना महालेखा नियन्त्रक भएर आउने देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस