स्वार्थ बाझिने व्यक्ति पाठकलाई भूमिमन्त्री अधिकारीले गुठी संस्थानको सञ्चालक सदस्य बनाएको खुलासा

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले स्वार्थ बाझिने व्यक्ति दिपकराज पाठकलाई नेपाल गुठी संस्थानको सञ्चालक समितिको सदस्य नियुक्त गरेको खुलासा भएको छ। गुठी संस्थानका झगडिया नुवाकोटे पाठकलाई मन्त्री अधिकारीले सञ्चालक समितिको सदस्य बनाएको तथ्य फेला परेको हो।
गुठी संस्थान ऐन, २०३३ को दफा ११ मा संस्थानसँगको ठेक्कामा सरिक रहेको वा संस्थानसँगको कुनै कारोबारमा निजी आर्थिक स्वार्थ निहीत रहेको व्यक्ति गुठी संस्थानको सञ्चालक सदस्य बन्न अयोग्य हुने व्यवस्था रहेको छ। तर, गुठी संस्थानसँग मुद्दा लडेर गुठीको जग्गा खान खोजेका ‘झगडिया’ दिपकराज पाठकलाई भूमिमन्त्री अधिकारीले गुठी संस्थानको सञ्चालक समितिको सदस्यमा मनोनित गरेको पाइएको हो।
गुठियारको नामबाट किन्नै नमिल्ने गुठीको जग्गा किनेपछि गुठी संस्थानले २०५९ सालमा पाठकको नामको दर्ता खारेज गरेर पूर्जा दिन अस्वीकार गऱ्यो। उक्त निर्णयविरुद्ध उनी साबिक पुनरावेदन अदालत पाटन गए। पुनरावेदन अदालत पाटनले गुठी संस्थानको निर्णय सदर गरिदियो। गुठी संस्थानका उनै झगडिया पाठकलाई भूमिमन्त्री अधिकारीले सञ्चालक समितिको सदस्य मनोनित गरेको फेला परेको हो।
गुठी संस्थानको सञ्चालक समिति सदस्य नेपाल सरकारले मनोनित गर्न सक्छ। नेपाल सरकारले देशका धार्मिक, सामाजिक क्षेत्रबाट मनोनित गरेका गुठी सम्बन्धी अनुभव प्राप्त व्यक्ति गुठी संस्थानको सञ्चालक समिति सदस्य हुने गुठी संस्थान ऐन, २०३३ को दफा ९ (१), (च) मा व्यवस्था छ।
एक त पाठक नेपाल सरकार मन्त्रिपरिषद्बाट गुठी संस्थानको सदस्य भएका होइनन्। उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मन्त्रिस्तरीय निर्णयबाट गुठी संस्थान सञ्चाक समितिको सदस्य मनोनित गरेका हुन्। उनको नियुक्ति प्रक्रियाको वैधतामाथि नै प्रश्न खडा भएको छ। अर्को उनी गुठी सम्बन्धी अनुभव प्राप्त व्यक्ति पनि होइनन्। सेभ द चिल्ड्रेन, ईसिमोड जस्ता संस्थामा काम गरेका पाठकको अनुभव गुठीको जग्गामा घर बनाउनुबाहेक कुनै देखिँदैन।
भूमिमन्त्री अधिकारीले पाठकलाई गुठी संस्थानको सदस्य बनाउने उद्देश्यले २०८१ बैशाख ७ गते गुठी सम्बन्धी कानुन निर्माण गर्ने विज्ञमा मनोनित गरेर त्यसैलाई टेकेर उनले गुठी संस्थानको सञ्चालक समिति सदस्यमा नियुक्तिका लागि आवेदन दिएको देखिन्छ। सबै सेटिङ मिलाएर पाठकलाई भूमि व्यवस्थामन्त्री अधिकारीले गुठी संस्थानको सञ्चालक समिति सदस्य मनोनित गरेको पाइन्छ।
२०५९ सालमै गुठी संस्थानले पाठकको नाममा पूर्जा नदिएको र त्यसलाई तत्कालीन पुनरावेदन अदालतले सदर गरेको अवस्थामा गुठी सम्बन्धी कानुन निर्माण गर्ने विज्ञमा मनोनित गर्नु डेढ महिना अघि मात्र पाठक गुठी संस्थानमा पूर्जा उपलब्ध गराइदिन निवेदन दिएको समेत फेला परेको छ। अदालतले समेत दिन नसकेको पूर्जा माग्दै निवेदन दिने पाठकलाई भूमिमन्त्री अधिकारीले गुठी सम्बन्धी कानुन निर्माण गर्ने विज्ञमा मनोनित गरेको पाइन्छ। त्यसैको आडमा पाठक गुठी संस्थानको सञ्चालक समितिको सदस्य बनेको पाइएको हो।
डेढ महिना अघि गुठीको जग्गा दाखिल खारेज गरेर आफ्नो नाममा पूर्जा बनाउन निवेदन दिने कानुन नै नपढेका पाठकलाई गुठी सम्बन्धी कानुन निर्माण गर्ने विज्ञ बनाउने मन्त्री अधिकारीले ६ महिनापछि फेरि गुठी संस्थानको सञ्चालक समितिको सदस्य बनाएको पाइन्छ। कानुन बनाएर गुठीको जग्गा खान ढिला भएपछि संस्था नै पाठकलाई जिम्मा लाउन मन्त्री अधिकारीले भूमिका खेलेको देखिन्छ। यसले मन्त्री अधिकारीमाथि समेत गम्भीर प्रश्न खडा भएको छ।
स्वास्थ्य लाइभसँगको कुराकानीमा भने पाठकले आफ्नो नाममा उक्त गुठीको जग्गाको पूर्जा बनिनसकेको दाबी गरे। गुठीको जग्गामा धेरै समस्या भएकाले समाधान गर्ने उदेश्यले आफू गुठी संस्थानको सञ्चालक भएर गएको उनको जिकिर छ।
गुठी संस्थानको सञ्चालक समिति सदस्य रहेका पाठकले गोलढुंगा (हाल तारकेश्वर नगरपालिका वडा नम्बर ४)मा बगैचाको जग्गा हडपेर घर समेत बनाएको पाइन्छ। गुहेश्वरी मन्दिरमा फूल चढाउने बगैंचा (गुठीको जग्गा) अतिक्रमण गरेर घर बनाएका उनै पाठकलाई भूमिमन्त्री अधिकारीले गुठी संस्थानको सञ्चालक समितिको सदस्यमा मनोनित गरेको फेला परेको हो। माओवादीमा लागेर गोलढुंगा २ (क) को कित्ता नम्बर ६७८ मा रहेका ८ आना गुठीको जग्गा कब्जा गरेका पाठक एमालेमा लागेर गुठी संस्थानको सञ्चालक बन्न सफल भएका छन्। स्वास्थ्य लाइभको जिज्ञासामा पाठकले आफूले उक्त घर बेचिससकेको बताएका छन्। यो विषयमा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आवश्यक छानबिन गर्न जरूरी देखिन्छ।
ट्याग : #दिपकराज पाठक गुठी संस्थान, #बलराम अधिकारी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री
तपाईको प्रतिक्रिया दिनुहोस