कर्मचारीसँगको विवादले अर्घाखाँचीका सिडिओ गृह तानिए, सञ्चारकर्मीमाथि दुर्व्यवहार गर्ने मकवानपुरको सिडिओ फुक्काफाल


काठमाडौं। कर्मचारीसँग विवाद हुँदा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वेदप्रसाद खरेल २ महिनामै गृह मन्त्रालय तानिएका छन्। पदीय दायित्व निर्वाह गर्न नसकेपछि उनी दुई महिनामै गृह मन्त्रालय तानिएका हुन्।

कर्मचारी र सेवाग्राहीमाथि दुर्व्यवहार गरेको आरोपमा अर्घाखाँचीका सिडिओ खरेललाई गृह मन्त्रालय तानिएको हो। तर, सञ्चारकर्मी र जनप्रतिनिधिलाई दुर्व्यवहार गर्ने मकवानपुरकी सिडिओ स्किम श्रेष्ठ फुक्काफाल देखिन्छन्। सिडिओ स्किमले सञ्चारकर्मीलाई कार्यकक्षमा प्रवेश गर्न रोक लगाएपछि उनी विवादमा तानिएकी छिन्। सिडिओलाई राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले ज्ञापनपत्र बुझाउने निर्धारित कार्यक्रमको समाचार संकलन गर्नका लागि पुगेका सञ्चारकर्मीहरूलाई स्किमले फोटो खिच्न र भिडियो छायांकनमा रोक लगाएको आरोप लागेको छ। सिडिओ स्किमले प्रेस जगतलाई संकुचन हुने व्यवहार गरेको भन्दै उक्त घटनाको आत्मालोचना गरी आगामी दिनमा यस्ता प्रेस विरोधी गतिविधि नगर्न पनि महासंघले ध्यानाकर्षण गराएको पाइन्छ। तर, उनीमाथि गृह मन्त्रालयले कुनै ‘एक्सन’ लिएको छैन।

सरकारी, ऐलानी तथा पर्ती जग्गा संरक्षण गर्न खोज्दा आफूहरु असुरक्षित भएको मकवानपुरका जनप्रतिनिधिहरूले गुनासो गर्न थालेका छन्। उक्त अभियानमा लागेका हेटौंडा-१ का वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमण गर्नेलाई अहिलेसम्म कारबाही भएको छैन। यसमा सिडिओ स्किम असफल देखिएको भन्दै आलोचन सुरू भएको छ। अर्घाखाँचीको सिडिओ सामान्य विवादमा पर्दा तुरुन्तै गृह मन्त्रालय तानिए। मकवानपुरकी सिडिओ गम्भीर विवादमा पर्दा पनि फुक्काफाल छिन्।

त्यसो त स्किमलाई गृह मन्त्रालयले सिडिओ सरूवा सम्बन्धी कार्यविधिविपरीत गृहजिल्ला मकवानपुरको सिडिओ बनाएर पठाएको हो। प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ विपरीत आफ्नै गृह जिल्लाको सिडिओ बनाएर पठाएको हो। उक्त कार्यविधिमा अधिकृतको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन, सरूवा वा काजमा खटाइने छैन भन्ने उल्लेख छ। हटिया-९ मकवानपुरमा जन्मिएकी स्किमलाई गृह मन्त्रालयले मकवानपुर कै सिडिओ बनाएर पठाएको हो। यो अनुचित र कानुनविपरीतको कार्य हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुशासनमा प्रतिबद्ध थियो भने गृहसचिव गोकर्णमणि दुवाडीलाई नै अनुचित कार्यमा ‘एक्सन’ लिइसकेको हुन्थ्यो। शासकीय सुधार र सुशासन हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवले गृहसचिवलाई स्पष्टीकरण सोधी सक्थे। विधि शासनमा चुकेको सरकारले कार्यविधिविपरीत स्किमलाई मकवानपुरको सिडिओ बनाएको हो। प्रधानमन्त्री कार्यालय र राष्ट्रिय सतर्कता केन्द्र हेरेको हेऱ्यै भएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #वेद प्रसाद खरेल, #सिडिओ मकवानपुर, #स्किम श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ