भारतको मेडिकल भिसामा बंगलादेशी नागरिकको वर्चस्व, नेपालका लागि अवसरको ढोका खुल्न सक्छ

काठमाडौं । भारत, जुन दशकौंदेखि दक्षिण एसियाली मेडिकल पर्यटनको केन्द्र रहँदै आएको छ, अब त्यो वर्चस्वमा केही अस्थिरता देखिन थालेको छ। पछिल्लो तथ्यांकअनुसार भारतले सन् २०२४ मा मेडिकल भिसा प्रदान गर्ने संख्यामा उल्लेखनीय गिरावट देखिएको छ। विशेषगरी बंगलादेशी नागरिकहरूको संख्यामा आएको कमीले भारतको चिकित्सा पर्यटन बजारमा खाल्डो पारेको छ। यही खाल्डो नेपालका लागि अवसर बन्न सक्ने स्पष्ट संकेत देखिएको छ।
भारतमा बंगलादेशको एकछत्र वर्चस्व कमजोर बन्दै
भारतको विदेश मन्त्रालयको तथ्यांकअनुसार सन् २०१९ मा भारतले ३ लाख ७५ हजारभन्दा बढी मेडिकल भिसा जारी गर्दा, त्यसको ५९ प्रतिशत हिस्सा बंगलादेशी नागरिकको थियो। त्यो हिस्सा सन् २०२३ मा बढेर ७५ प्रतिशतसम्म पुगेको थियो।
तर सन् २०२४ मा बंगलादेशी बिरामीको हिस्सा घटेर ७० प्रतिशतमा झरेको छ। बंगलादेशमा देखिएको राजनीतिक अशान्ति, आन्तरिक अवरोध र भारतसँगको सम्बन्धमा आएको चिसोपन यसका मुख्य कारण मानिन्छन्।
भारतको दबाब घट्दै जाँदा सार्कमा शक्ति सन्तुलनको सम्भावना
सार्क क्षेत्रका अन्य मुलुक, विशेषगरी नेपाल, माल्दिभ्स, भूटान र अफगानिस्तान, लामो समयदेखि भारतमै उपचार गर्न निर्भर रहँदै आएका छन्। तर अब भारतको बजार खुला हुँदै जाँदा मेडिकल पर्यटनमा शक्ति सन्तुलन फेरिने लक्षण देखिएका छन्।
विशेषज्ञहरूका अनुसार, “भारतको मेडिकल बजारमा देखिएको रिक्तता अब नेपालले सम्हाल्न सक्छ, यदि राज्यले दूरदृष्टिपूर्ण नीति निर्माण गर्न सक्यो भने।”
नेपालका लागि अवसर र चुनौती सँगसँगै
नेपालमा पछिल्ला वर्षहरूमा केही ठूला निजी अस्पतालहरूले अन्तर्राष्ट्रियस्तरको सेवा विकास गरिरहेका छन्। यद्यपि, नीति र कानुनले विदेशका बिरामीलाई सजिलो वातावरण दिन सकेको छैन।
नेपालमा अहिलेसम्म कुनै स्पष्ट ‘मेडिकल टुरिज्म’ नीति छैन। विदेशी बिरामी ल्याउने सन्दर्भमा अस्पतालले एजेन्ट राख्न पाउँदैनन्, विदेशमा सेवा प्रचार गर्न कानुनी अन्योल छ, र स्वास्थ्य बीमा संयन्त्रसमेत अन्तर्राष्ट्रिय स्तरमा अव्यवस्थित छ।
भौगोलिक लाभ नेपाले लिन सक्छ
नेपालले भारत र बंगलादेश दुवैका सीमाहरू खुला छन् । भौगोलिक नजिकाइ, साझा संस्कृति, सस्तो उपचार र प्राकृतिक वातावरण विदेशी बिरामीलाई आकर्षित गर्न सक्ने आधार हुन्। अझ ठूलो कुरो, बंगलादेशी नागरिकलाई नेपालले सजिलो भिसा दिने नीति ल्यायो भने, भारत नजाने वर्ग नेपालतर्फ मोडिन सक्छ।
त्यसैले, भारतको मेडिकल बजारमा देखिएको खुकुलोपन अब नेपालले चुकाउने मौका होइन। नीति परिमार्जन, कानुनी स्पष्टता र गुणस्तरीय सेवा सुनिश्चित गर्दै नेपालले चिकित्सा पर्यटनमार्फत ठूलो आर्थिक लाभ लिन सक्छ, सक्नुपर्छ । यो स्वास्थ्यमात्र नभई कूटनीतिक र आर्थिक अवसर पनि हो, जसलाई उपयोग गर्न नेतृत्वको दृष्टिकोण निर्णायक हुने छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
तपाईको प्रतिक्रिया दिनुहोस