गुठी संस्थानमा मनोनित भएका ३ सदस्यको योग्यतामाथि प्रश्न

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गुठी संस्थानमा मनोनित गरेका ३ जना सदस्यको योग्यतामाथि प्रश्न उठेको छ। मन्त्रीस्तरीय निर्णयबाट अधिकारीले दिपकराज पाठक, केशरत्न बज्रचार्य र टेकराज पौडेललाई गुठी संस्थानको सदस्यमा मनोनित गरेका थिए। उनीहरूको योग्यतामाथि कानुनविद्हरूले प्रश्न उठाएका छन्।
गुठी संस्थानको सञ्चालक समिति सदस्य नेपाल सरकारले मनोनित गर्ने भनिएको छ । नेपाल सरकारले देशका धार्मिक, सामाजिक क्षेत्रबाट मनोनित गरेका गुठी सम्बन्धी अनुभव प्राप्त व्यक्ति गुठी संस्थानको सञ्चालक समिति सदस्य हुने गुठी संस्थान ऐन, २०३३ को दफा ९ (१), (च) मा व्यवस्था छ। तर, भूमिमन्त्री अधिकारीले नेपाल सरकार मन्त्रिपरिषद्बाट मनोनित गर्नु पर्ने गुठी संस्थानको सदस्यमा आफैंले मन्त्रीस्तरीय निर्णयबाट मनोतित गरेका हुन्। यसले उक्त नियुक्तिको वैधतामाथि प्रश्न उठेको हो। मन्त्रिपरिषद्बाट अधिकार नै प्रत्यायोजन नभई मन्त्री अधिकारीले पाठक, बज्रचार्य र पौडेललाई गुठी संस्थानको सदस्यमा मनोनित गरेकाे पाइन्छ।
गुठी संस्थान ऐन, २०३३ को दफा ११ मा संस्थानसँगको ठेक्कामा सरिक रहेको वा संस्थानसँगको कुनै कारोबारमा निजी आर्थिक स्वार्थ निहीत रहेको व्यक्ति गुठी संस्थानको सञ्चालक सदस्य बन्न अयोग्य हुने व्यवस्था रहेको छ। तर, गुठी संस्थानसँग मुद्दा लडेर गुठीको जग्गा खान खोजेका ‘झगडिया’ दिपकराज पाठकलाई भूमिमन्त्री अधिकारीले गुठी संस्थानको सञ्चालक समितिको सदस्यमा मनोनित गरेको देखिन्छ।
गुठी सम्बन्धी अनुभव प्राप्त व्यक्तिलाई गुठी संस्थानको विज्ञ सदस्यमा मनोनित गर्ने व्यवस्थाविपरीत गुठीको जग्गामा स्वार्थ जोडिएका पाठक, एमालेका जिल्लास्तरीय नेता एवं पार्किङको ठेक्का लिने बज्राचार्य र पूर्वशिक्षक पौडेललाई मन्त्री अधिकारीले गुठी संस्थानको सदस्यमा मनोनित गरेका हुन्। गुठी जस्तो पवित्र संस्थामा नियुक्त भएका उनीहरूको योग्यतामाथि न्यायिक परीक्षण हुन जरूरी छ।
क्याटेगोरी : समाचार
ट्याग : #केशरत्न बज्राचार्य, #टेकराज पौडेल, #दिपकराज पाठक गुठी संस्थान
तपाईको प्रतिक्रिया दिनुहोस