दिपक पाठकसहित गुठी संस्थानमा मनोनित भएका ३ सदस्यलाई काम गर्न अदालतको रोक

काठमाडौं। गुठी संस्थानमा मनोतित भएका दिपकराज पाठकसहित ३ जनालाई काम गर्न सर्वोच्च अदालतले तत्कालका लागि रोक लगाएको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले गुठी संस्थानका सदस्यत्रय दिपकराज पाठक, केशरत्न बज्राचार्य र टेकराज पौडेललाई काम गर्न तत्कालीनका लागि रोक लगाएको हो। उनीहरूको योग्यतामाथि प्रश्न उठाउँदैदिपकबहादुर पाण्डेले हालेको रिटमा सर्वोच्च अदालतमा हालेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको हो। अन्तरिम आदेशका लागि सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पाठक, बज्राचार्य र पौडललाई मन्त्रीस्तरीय निर्णयबाट अधिकारीले गुठी संस्थानको सदस्यमा मनोनित गरेका थिए। उनीहरूको योग्यता र नियुक्तिको प्रक्रियालाई लिएर सर्वोच्च अदालतमा रिट परेको हो। सर्वोच्चले रिटको सुनुवाई गर्दै तत्कालका लागि काम गर्न रोक लगाएको हो।
गुठी संस्थानको सञ्चालक समिति सदस्य नेपाल सरकारले मनोनित गर्ने भनिएको छ । नेपाल सरकारले देशका धार्मिक, सामाजिक क्षेत्रबाट मनोनित गरेका गुठी सम्बन्धी अनुभव प्राप्त व्यक्ति गुठी संस्थानको सञ्चालक समिति सदस्य हुने गुठी संस्थान ऐन, २०३३ को दफा ९ (१), (च) मा व्यवस्था छ। तर, भूमिमन्त्री अधिकारीले नेपाल सरकार मन्त्रिपरिषद्बाट मनोनित गर्नु पर्ने गुठी संस्थानको सदस्यमा आफैंले मन्त्रीस्तरीय निर्णयबाट मनोतित गरेका हुन्। यसले उक्त नियुक्तिको वैधतामाथि प्रश्न उठेको हो। मन्त्रिपरिषद्बाट अधिकार नै प्रत्यायोजन नभई मन्त्री अधिकारीले पाठक, बज्राचार्य र पौडेललाई गुठी संस्थानको सदस्यमा मनोनित गरेकाे पाइन्छ।
गुठी संस्थान ऐन, २०३३ को दफा ११ मा संस्थानसँगको ठेक्कामा सरिक रहेको वा संस्थानसँगको कुनै कारोबारमा निजी आर्थिक स्वार्थ निहीत रहेको व्यक्ति गुठी संस्थानको सञ्चालक सदस्य बन्न अयोग्य हुने व्यवस्था रहेको छ। तर, गुठी संस्थानसँग मुद्दा लडेर गुठीको जग्गा खान खोजेका ‘झगडिया’ दिपकराज पाठकलाई भूमिमन्त्री अधिकारीले गुठी संस्थानको सञ्चालक समितिको सदस्यमा मनोनित गरेको देखिन्छ।
गुठी सम्बन्धी अनुभव प्राप्त व्यक्तिलाई गुठी संस्थानको विज्ञ सदस्यमा मनोनित गर्ने व्यवस्थाविपरीत गुठीको जग्गामा स्वार्थ जोडिएका पाठक, एमालेका जिल्लास्तरीय नेता एवं पार्किङको ठेक्का लिने बज्राचार्य र पूर्वशिक्षक पौडेललाई मन्त्री अधिकारीले गुठी संस्थानको सदस्यमा मनोनित गरेका हुन्। गुठी जस्तो पवित्र संस्थामा नियुक्त भएका उनीहरूको योग्यतामाथि न्यायिक परीक्षण सुरू भएको छ।
क्याटेगोरी : विविध
ट्याग : #केशरत्न बज्राचार्य, #गुठी संस्थान सदस्य, #टेकराज पौडेल, #दिपकराज पाठक गुठी संस्थान
तपाईको प्रतिक्रिया दिनुहोस