एक महिना पनि प्रदेश नबसी संघ फर्किए गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेल


काठमाडौं। एक महिना पनि प्रदेश नबसी गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेल संघमा फर्किएका छन्। प्रदेशमा भएका सबैभन्दा कनिष्ठ प्रमुख सचिव स्याङ्जाली पौडेल महालेखा नियन्त्रक भएर फर्किने भएका छन्।

जेठको तेस्रो साता गण्डकी प्रदेशको प्रमुख सचिव भएर गएका पौडेल असारको दोस्रो साता नै संघमा फर्किने भएका हुन्। मुख्यसचिव एकनारायण अर्यालका विश्वासपात्र पौडेलले महालेखा नियन्त्रकका बाजी मारेका छन्। लेखाका उपसचिव र लामो समय अर्थ मन्त्रालय बसेका, आन्तरिक राजस्व र भन्सार विभागको समेत महानिर्देशक भएर काम गरिसकेका पौडेलले वरिष्ठ प्रमुख सचिवहरूलाई हेरेको हेऱ्यै पारेर संघमा फर्किएका हुन्। प्रदेश नगइ महालेखा नियन्त्रक बन्न प्रयास गरेका पौडेल गण्डकी प्रदेशको बजेट बनाए महालेखा नियन्त्रक बन्न सफल भएका छन्। महालेखा नियन्त्रकको कार्यालय ट्रान्जिट बनाएर अवकाशमा जाने परम्परालाई तोड्दै उनी संघमा फर्किएका हुन्।

गण्डकीबाटै आएका महालेखा नियन्त्रक रघुराम विष्टले अवकाश पाएपछि ३ हप्तादेखि यमुना प्रधानले निमित्त महालेखा नियन्त्रकको भूमिकामा काम गरिरहेकी थिइन्। उनको निमित्त शोभाकान्तले खोस्ने भएका छन्।

हालै सचिवमा बढुवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा पदस्थापन भएका सचिव खगेन्द्रप्रसाद सुवेदी गण्डकी जाने भएका छन्। उनको २ महिना मात्र जागिर बाँकी छ।

निर्वाचन आयोगका सचिव भरतमणि सुवेदी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग पुगेका छन्। वित्त आयोगका सचिव महादेव पन्थ निर्वाचन आयोगमा सरूवा भएका छन्। उपनिर्वाचन गर्ने तयारी भइररहँदा निर्वाचन आयोगका सचिवको सरूवा भएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #डा. खगेन्द्र प्रसाद सुवेदी, #भरतमणि सुवेदी, #महादेव पन्थ, #शोभाकान्त पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ