१० वर्ष अमेरिका बस्ने शिक्षकदेखि गुठीको जग्गा हडप्नेसम्मलाई भूमिमन्त्री अधिकारीले गुठी संस्थान जिम्मा लगाएको खुलासा

काठमाडौं। भूमि व्यवस्थ, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले १० वर्ष अमेरिका बस्ने शिक्षकदेखि गुठीको जग्गा हडप्नेसम्मलाई भूमिमन्त्रीले गुठी संस्थान जिम्मा लगाएको खुल्न आएको छ। अमेरिका १० वर्ष बसेको दाबी गर्ने पूर्वशिक्षक एवं पूर्वपत्रकार टेकराज पौडेलदेखि गुठीको जग्गा हडप्ने दिपकराज पाठकसम्मलाई भूमिमन्त्री अधिकारीले मन्त्रीस्तरीय निर्णयबाट गुठी संस्थानको सदस्यमा मनोनित गरेकाे पाइन्छ।
गुल्मीबाट मालिकाबाट कपिलबस्तुको बुद्धभूमि नगरपालिकामा झरेका मन्त्री अधिकारीका हितैषीमित्र टेकराज पौडेललाई गुठी संस्थानको सदस्यमा मनोनित भएको पाइन्छ। उनले गुठी संस्थानको सदस्यमा नियुक्तका लागि बुझाएको व्यक्तिगत विवरणमा १० वर्ष अमेरिका बसेको उल्लेख गरेका छन्। उनले २० वर्ष शिक्षण पेशा र २२ वर्ष पत्रकारिता गरेको दाबी गरेका छन्।
गुठी संस्थानको सञ्चालक समिति सदस्य नेपाल सरकारले मनोनित गर्ने भनिएको छ । नेपाल सरकारले देशका धार्मिक, सामाजिक क्षेत्रबाट मनोनित गरेका गुठी सम्बन्धी अनुभव प्राप्त व्यक्ति गुठी संस्थानको सञ्चालक समिति सदस्य हुने गुठी संस्थान ऐन, २०३३ को दफा ९ (१), (च) मा व्यवस्था छ। तर, भूमिमन्त्री अधिकारीले नेपाल सरकार मन्त्रिपरिषद्बाट मनोनित गर्नु पर्ने गुठी संस्थानको सदस्यमा आफैंले मन्त्रीस्तरीय निर्णयबाट मनोतित गरेका हुन्। त्यो पनि गुठी सम्बन्धी अनुभव प्राप्तभन्दा पनि शिक्षक र पत्रकार भएर काम गरेका पौडेललाई भूमिमन्त्री अधिकारीले गुठी संस्थान सदस्यमा मनोनित गरेको पाइन्छ। उनको गुठीसम्बन्धी अनुभव भनेको गुठी संस्थान हेर्ने भूमिमन्त्रीको हितैषीमित्र हुनु हो।
त्यस्तै गुठी संस्थानका झगडिया नुवाकोटका दिपकराज पाठकलाई पनि भूमिमन्त्री अधिकारीले गुठी संस्थानको सदस्यमा मनोनित गरेका छन्। मन्त्रीस्तरीय निर्णयबाट गुठी संस्थानको सदस्यमा मनोनित भएका पाठकले गुठी कै जग्गामा घर बनाएर बेचेका छन्।
गुठी संस्थान ऐन, २०३३ को दफा ११ मा संस्थानसँगको ठेक्कामा सरिक रहेको वा संस्थानसँगको कुनै कारोबारमा निजी आर्थिक स्वार्थ निहीत रहेको व्यक्ति गुठी संस्थानको सञ्चालक सदस्य बन्न अयोग्य हुने व्यवस्था रहेको छ। तर, गुठी संस्थानसँग मुद्दा लडेर गुठीको जग्गा खान खोजेका ‘झगडिया’ दिपकराज पाठकलाई भूमिमन्त्री अधिकारीले गुठी संस्थानको सञ्चालक समितिको सदस्यमा मनोनित गरेको पाइन्छ।
असन अन्नपूर्ण गुठीको गुठी तैनाथी कायम हुने साबिक गोंगबु वडा नं. ४ (ग) कित्ता नम्बर १२३९ को ७ आना २ दाम जग्गा पाठकको नाममा दर्ता कायम रहेको देखिएकाले गुठी संस्थानको प्रशासकबाट २०५९ असार २७ गते गुठी संस्थान ऐन २०३३ को दफा ३९(१) प्रयोग गरी उनको नामको दर्ता बदर गरी साबिक बमोजिम उक्त जग्गा गुठी तैनाथीमै दर्ता कायम गर्ने गरी निर्णय भएको थियो। गुठी संस्थानको उक्त निर्णय उपर पाठक तत्कालीन पुनरावेदन अदालत गए। पुनरावेदन अदालतले २०६० जेठ २३ गते गुठी संस्थानको प्रशासकबाट भएको निर्णय सदर गरेको देखिन्छ। तर, उक्त तथ्यलाई लुकाएर पाठकले फेरि दाखिल खारेज गरेर आफ्नो नाममा पूर्जा दिन गुठी संस्थानमा निवेदन दिएको पाइन्छ। उक्त घटना हेर्दा पाठकले पदीय गरिमा र नैतिक आचरण कायम गर्न सक्ने सामर्थ्य राख्न सक्ने अवस्था देखिँदैन। उनै पाठकलाई भूमिमन्त्री अधिकारीले गुठी संस्थानको सदस्यमा मनोनित गरेको देखिन्छ।
एमालेका जिल्लास्तरीय नेता कीर्तिपुरका केशरत्न बज्राचार्य पनि मन्त्रीस्तरीय निर्णयबाट गुठी संस्थान सदस्य बन्न सफल भए। प्रधानमन्त्री केपी शर्मा ओलीका निजीका निजी सचिव राजेश बज्राचार्यका नातेदार केशरत्नलाई भूमिमन्त्री अधिकारीले गुठी संस्थानको जिम्मा लगाएका हुन्।
गुठी संस्थानमा मनोतित भएका दिपकराज पाठकसहित ३ जनालाई काम गर्न सर्वोच्च अदालतले तत्कालका लागि रोक लगाएको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले गुठी संस्थानका सदस्यत्रय दिपकराज पाठक, केशरत्न बज्राचार्य र टेकराज पौडेललाई काम गर्न तत्कालीनका लागि रोक लगाएको हो। उनीहरूको योग्यतामाथि प्रश्न उठाउँदै दिपकबहादुर पाण्डेले हालेको रिटमा सर्वोच्च अदालतमा हालेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको हो। अन्तरिम आदेशका लागि सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पाठक, बज्राचार्य र पौडललाई मन्त्रीस्तरीय निर्णयबाट अधिकारीले गुठी संस्थानको सदस्यमा मनोनित गरेका थिए। उनीहरूको योग्यता र नियुक्तिको प्रक्रियालाई लिएर सर्वोच्च अदालतमा रिट परेको हो। सर्वोच्चले रिटको सुनुवाई गर्दै तत्कालका लागि काम गर्न रोक लगाएको हो।
१० वर्ष अमेरिका बस्ने शिक्षकदेखि गुठीको जग्गा हडप्नेसम्मलाई भूमिमन्त्रीले गुठी संस्थान जिम्मा लगाएको विषय न्यायिक परीक्षणमा पुगेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #केशरत्न बज्राचार्य, #गुठी संस्थान सदस्य, #टेकराज पौडेल, #दिपकराज पाठक गुठी संस्थान
तपाईको प्रतिक्रिया दिनुहोस