१३ देखि २० वर्षका युवायुवती लागूऔषध दुर्व्यसनमा फस्दै, मानसिक समस्या गहिरिँदै


काठमाडौँ । नेपालमा लागूऔषध दुर्व्यसन गम्भीर सामाजिक, मानसिक र स्वास्थ्य संकटका रूपमा देखा पर्दैछ। विशेषगरी १३ देखि २० वर्ष उमेर समूहका युवायुवतीहरू दुर्व्यसनको चपेटामा पर्दै गएका छन्। उनीहरूमा मानसिक समस्या गहिरिँदै गएको देखिन्छ भने पुनर्स्थापना सेवाहरू बजेट अभावमा छट्पटीएका छन्। जिल्लास्तरीय सरोकारवाला छलफलमा सरकारी अधिकारी, प्रहरी तथा सुधार अभियानमा लागेकाहरूले लागूऔषधको समस्या युवापुस्तामा भयावह रूपमा फैलिएको चेतावनी दिएका छन्।

पूर्व लागूऔषध प्रयोगकर्ता प्राचीन सुनारका अनुसार पछिल्लो समय १३ वर्षदेखि २० वर्ष उमेर समूहका किशोर–किशोरी लागूऔषध दुर्व्यसनमा तानिएका छन्। उनले भनिन्, “उनीहरूमा गम्भीर मानसिक समस्या देखिन्छ। खासगरी महिला प्रयोगकर्ताको अवस्था अझै कमजोर छ। पुरुषका लागि केही सुधार केन्द्र भए पनि महिलाका लागि सुरक्षित, पहुँचयोग्य र स्थायी केन्द्रको अभाव छ।”

उनका अनुसार पछिल्लो ६–७ महिनादेखि सुधारसम्बन्धी सेवाहरू अगाडि बढ्न सकेका छैनन्। “दातृ निकायहरूको सहयोग क्रमशः कटौती हुँदै गएको छ,” उनले थपिन्, “त्यसैको असरले अहिले सुधार र पुनर्स्थापना सेवाहरू ठप्प छन् भन्ने अवस्था आएको हो।”

नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्या २०२० को “National Survey on Drug Use in Nepal” अनुसार १ लाख ३० हजार ४ सय २४ थियो। वार्षिक ५ प्रतिशत वृद्धिदरलाई आधार मान्दा हाल यो संख्या १ लाख ५६ हजार नाघिसकेको अनुमान छ। त्यसमध्ये ९३ प्रतिशतभन्दा धेरै पुरुष छन् भने करिब ७ प्रतिशत महिला प्रयोगकर्ता छन्। प्रयोगकर्तामध्ये ३० वर्षभन्दा कम उमेर समूहमै करिब ७६ प्रतिशत पर्छन्। त्यसैगरी २० देखि २९ वर्ष उमेर समूहको सहभागिता सबैभन्दा बढी, ६९.५ प्रतिशत छ। १५ देखि १९ वर्षका किशोरहरू ७ प्रतिशत छन् भने इन्जेक्सनमार्फत लागूऔषध प्रयोग गर्ने व्यक्तिहरूमध्ये झण्डै आधा अर्थात् ४७ प्रतिशत २० वर्षभन्दा कम उमेरका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले लागूऔषधको प्रयोग विश्वव्यापी समस्या भए पनि नेपालमा यसको प्रभाव गम्भीर बन्दै गएको बताए। उनका अनुसार नेपालका कैदीबन्दीहरूमध्ये २० प्रतिशतभन्दा बढी कुनै न कुनै लागूऔषधसँग सम्बन्धित छन्। उनले भने, “काठमाडौँ, रूपन्देही, कास्की, कैलाली र पर्सा लागूऔषध ओसारपसारका मुख्य ट्रान्जिट बन्दै गएका छन्। अझ काठमाडौँका युवायुवती लागूऔषध दुर्व्यसनको ठूलो शिकार भइरहेका छन्। उनीहरूलाई कसरी सुधार गर्ने भन्ने चुनौती थपिएको छ।”

यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले पछिल्लो समय लागूऔषध ओसारपसारको केन्द्र सिरहा जिल्ला देखिएको बताए। उनका अनुसार झापा र मोरङ पनि लागूपदार्थ कारोबारमा अगाडि छन्। “ब्राउन सुगर खासगरी नेपालगञ्जबाट कारोबार भइरहेको छ,” उनले बताए। औषधि व्यवस्था विभागको कमजोरीले गर्दा भारतबाट मेडिकल ड्रग सहजै भित्रिने र नेपालबाट गाँजा, अफिमजस्ता लागूऔषध बाहिरिने प्रवृत्ति बढेको उनले बताए।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीले भने, “नेपाल प्रहरीले ११०० भन्दा बढी सेवा दिन्छ, तर लागूऔषध, आत्महत्या, साइबर अपराध र सडक दुर्घटना जस्ता विषय अहिले प्रमुख चुनौतीको रूपमा देखिएका छन्।” उनले गैरकानुनी हतियार कारोबार, मानव बेचबिखन, यौन व्यवसाय र लागूऔषध ओसारपसारलाई छिटो पैसा कमाउने माध्यमका रूपमा प्रयोग गरिन थालेको भन्दै यसले सामाजिक संरचना नै तहस नहस पार्न सक्ने चेतावनी दिए।


कार्यक्रममा सहभागी वक्ताहरूले लागूऔषध नियन्त्रणका लागि सुधार केन्द्रहरूको संख्या वृद्धि, महिला तथा किशोरमैत्री सेवा विस्तार, दातृ निकायसँगको समन्वय र पुनःसक्रियता, सरकारी निकायहरूको सहकार्य र समुदायस्तरमा चेतनामूलक अभियानलाई जोड दिनुपर्ने आवश्यकता औंल्याए।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ