लागू औषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा भक्तपुरमा चेतनामूलक र्याली


भक्तपुर । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा भक्तपुरको सुर्यविनायकमा आयोजित सचेतनामूलक र्याली तथा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

होप राइज फाउन्डेशनको आयोजनामा र रिकभरिङ नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा एचआईभी र लागू औषध दुर्व्यसनको जोखिम, त्यसको रोकथाम र उपचारबारे जनचेतना अभिवृद्धि गरियो।

कार्यक्रमको प्रारम्भमा स्थानीय टोल सुधार समिति, महिला समूह, शिक्षक, स्वास्थ्यकर्मी, नेपाल प्रहरी र युवाहरुको सहभागितामा र्याली निकालिएको थियो ।

र्यालीपछि आयोजित औपचारिक सत्रमा समूह छलफल, नाटक, प्रस्तुति र अन्तरक्रिया मार्फत समुदायस्तरमा समस्या पहिचान र समाधानबारे सन्देश प्रवाह गरिएको थियो।

लागू औषधको विश्व सन्दर्भ

संयुक्त राष्ट्रसंघको नशा तथा अपराधसम्बन्धी निकाय (UNODC) को २०२३ को प्रतिवेदन अनुसार, हाल विश्वभर २९ करोड २० लाख मानिस लागू औषध प्रयोगमा संलग्न छन्।
त्यसमध्ये ११ करोड १० लाख मानिसले गाँजा तथा सो समूहका पदार्थ प्रयोग गर्ने गरेको उल्लेख गरिएको छ। एशिया महादेशमै मात्र ६ करोडभन्दा बढी प्रयोगकर्ता छन्।

नेपालमा समस्या गहिरिँदो

गृह मन्त्रालयका अनुसार, नेपालमा करिब १ लाख ३० हजारभन्दा बढी लागू औषध प्रयोगकर्ता छन्, तीमध्ये झन्डै ७० प्रतिशत युवा (१६–३० वर्ष उमेर समूह) छन्।
कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार, महिला प्रयोगकर्ताको संख्या समेत पछिल्ला वर्षमा उल्लेखनीय रूपमा बढ्दो छ।

समुदायस्तरबाट समाधानको खोजी

कार्यक्रमका संयोजकले स्वास्थ्य लाइभसँग भने, “यस्ता अभियानले जोखिमपूर्ण व्यवहारबारे जनचेतना फैलाउँछ र समुदायभित्रै समाधान खोज्ने वातावरण बनाउँछ।”

सुर्यविनायक नगरपालिका, ह्याप्पी समूह, टोल सुधार समिति, शिक्षक समूह र नेपाल प्रहरीको सक्रियता कार्यक्रम सफल बनाउन निर्णायक देखिएको थियो।

निरन्तरता र प्रतिबद्धता

समापन सत्रमा सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमलाई विद्यालय, टोल, नगर र गाउँ तहसम्म निरन्तरता दिनुपर्नेमा जोड दिए। आयोजक संस्था होप राइज फाउन्डेशनले आगामी दिनमा अरू स्थानीय तहमा पनि लागू औषध रोकथाम र एचआईभी सचेतनामूलक कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ