स्थानीय स्रोत र जनशक्ति सुदृढीकरणबिना दिगो स्वास्थ्य सम्भव छैन : पूर्व स्वास्थ्यमन्त्री पोखरेल

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले नेपालको स्वास्थ्य क्षेत्रको दिगो विकासका लागि स्थानीय स्रोतसाधन र जनशक्तिको सुदृढीकरण आवश्यक रहेको बताएका छन्।
संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपाली समुदायसँग भर्चुअल अन्तरक्रियाका क्रममा पोखरेलले दिगो स्वास्थ्य प्रणाली निर्माणका लागि प्रविधिको उपयोग, आध्यात्मिक स्वास्थ्यको प्रवर्द्धन, योग तथा संस्कृत भाषा जस्ता परम्परागत ज्ञानको एकीकरण अपरिहार्य भएको बताए।
उक्त कार्यक्रम जर्जिया राज्यस्थित डा. सञ्जीव सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा पोखरेलले नेपालभित्रको जनशक्ति मात्र नभई विदेशमा रहेका नेपाली डायस्पोराको ज्ञान, अनुभव र योगदानलाई समेत स्वास्थ्य क्षेत्रमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले पाठ्यक्रममा संस्कृत भाषालाई समावेश गर्दै योग र अध्यात्मिक अभ्यासलाई जीवनशैलीसँग जोडेर समग्र स्वास्थ्य प्रणालीलाई बलियो बनाउने अवधारणालाई प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा भर्जिनियाका मेदिनी अधिकारी, गोविन्द श्रेष्ठ, डा. किरण सापकोटा, उत्तरी क्यारोलिनाका माधव मैनाली तथा डा. चिरञ्जीवी भट्टराईले आफ्नो अनुभव र सुझाव साझा गर्दै पोखरेलको दृष्टिकोणप्रति सकारात्मक प्रतिक्रिया जनाए।
कार्यक्रमका सञ्चालक डा. सञ्जीव सापकोटाले पोखरेलजस्ता अनुभवी तथा विचारशील व्यक्तित्वसँग संवाद गर्न पाउनु गौरवको विषय भएको बताए। उनले यस्ता अन्तरक्रियामार्फत नयाँ पुस्ताले मार्गदर्शन प्राप्त गर्ने अवसर पाउने भएकाले यसलाई निरन्तरता दिनुपर्ने सुझावसमेत दिए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस