यी हुन् महादेव खोला हडप्ने भगवती थापादेखि दावा तामाङसम्म १३ जना व्यक्तिहरू

काठमाडौं। नेपालटारमा १३ घरपरिवारले महादेव खोला हडपेको पाइएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालयले महादेव खोला हडप्नेको पहिचान गरेको हो।
काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ११ स्थित महादेव खोला आसपासको जग्गा हडप्नेको तीनपुस्ते विवरण सार्वजनिक गरेर प्राधिकरणले ‘एक्सन’ लिन सुरू गरेको छ । प्राधिकरणले साविकको मनमैजु महादेव खोला उकासको जग्गा हडपेको भन्दै ३ पुस्ते विवरण नै सार्वजनिक गरेको हो।
प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त ई. सुबास बस्नेत सार्वजनिक गरेको महादेव खोला अतिक्रम गर्नेको सूचीमा भगवती थापा, प्रदीप थापा, प्रह्लाद कुमार थापा, रामकृष्ण बस्नेत, सुभद्र खनाल, केदारबहादुर थापा, लक्ष्मण थापा मगर, अनुप थापा मगर, अनित थापा मगर, सेती तामाङ, दावा तामाङ, नेमा तामाङ नाम उल्लेख छ। उनीहरूको बाबु, बाजे/ससुराको नाम पनि ३ पुस्तेमा समेटिएको छ। उक्त क्षेत्रमा करिब १ रोपनी खोलाको जग्गा अतिक्रमणमा परेको पाइन्छ।
थापा क्षेत्री र थापा मगरसहित खनाल र तामाङ परिवारले महावेदेव खोलाको जग्गा अतिक्रमण गरेको प्राधिकरणको ३ पुस्ते विवरणबाट देखिन्छ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको निर्देशनमा प्राधिकरणले महादेव खोलामा भएको अतिक्रमण हटाउने प्रक्रिया समेत सुरु गरेको हो। जिल्ला आयुक्त बस्नेतको नेतृत्वमा अतिक्रमित जग्गाको रेखाङ्कन समेत भइसकेको छ।
अतिक्रमणमा परेको खोलाको जग्गामा डोजर लगाएर उक्त जग्गा हडप्ने व्यक्तिलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउन सिफारिस गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ।प्राधिकरणले कपनको लोयल्टी एकेडेमीलगायत आसपासका क्षेत्रमा हडपिएको करिब २५ रोपनी जग्गा पनि पहिचान गरिसकेको छ। त्यसलाई पनि संरक्षण गर्ने अभियानमा प्राधिकरण जुटेको हो।
क्याटेगोरी : विविधट्याग : #काठमाडौं उपत्यका विकास प्राधिकरण, #जग्गा अतिक्रमण, #महादेव खोला
तपाईको प्रतिक्रिया दिनुहोस