राष्ट्रपतिका भतिज अन्तर्वार्तामा उपस्थित नहुँदा सहकारी प्राधिकरणले अध्यक्ष पाउन सकेन

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलका भतिज अनिलराज पौडेल अन्तर्वार्ता प्रक्रियामा सहभागी नहुँदा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अध्यक्ष र विज्ञ सदस्य पाउन सकेको छैन। अन्तर्वार्तामा नआई पौडेल चुपचाप बस्दा प्राधिकरणले नेतृत्व पाउन नसकेको पाइएको छ।
सहकारी प्राधिकरणको अध्यक्ष पदका लागि अर्जुनप्रसाद पोखरेल, अनिलराज पौडेल, नारायण पौडेल, डा. खगेन्द्र शर्मा, डा. हरिकुमार नेपाल र परितोष पौड्याल व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण पार गरेर अन्तर्वार्ताका चरणमा पुगेका छन्। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको सिफारिस समितिले अन्तर्वार्ताका लागि बोलाएपनि राष्ट्रपति पौडेलका भतिज अनिल नआएको पाइएको छ। अन्तर्वार्ता पनि नआउने मात्र होइन उनले अन्तर्वार्ता चरणमा सहभागी नहुने भनेर लिखित निवेदन पनि नदिँदा सिफारिस समितिले प्राधिकरणको अध्यक्षका लागि नाम सिफारिस गर्न नसकेको हो।
अनिल अन्तर्वार्तामा उपस्थित नभएपछि सिफारिस समितिले सार्वजनिक सूचना नै जारी गरेको छ। समितिले ७ दिनको म्याद दिएर उनलाई उपस्थित हुन आग्रह गरेको छ। यो विषयमा स्वास्थ्य लाइभले पटकपटक बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।
राष्ट्रपति पौडेलका भतिजलाई अनिललाई ठाडो निवेदनका आधारमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले समाज कल्याण परिषद्को उपाध्यक्ष नियुक्त गर्न खोजेका थिए। उक्त विषय सार्वजनिक भएपछि उनी ‘ब्याक’ भए।
अहिले फेरि अनिल राष्ट्रिय सहकारी नियमन प्राधिकरणको नेतृत्व हत्याउने दौडमा लागेका छन्। तर, दौडको अन्तिममा मैदानमा किचकिच गरेर बसेको देखिन्छ। सहकारी विकास बोर्डको वरिष्ठ अधिकृत (निर्देशक) तहको जागिरबाट स्वेच्छिक अवकाश लिएका राष्ट्रपति पौडेलका भतिज अनिलका कारण प्राधिकरणको नेतृत्व छनौटको ‘हलो अड्किए’को छ। यहीँ १८ गते सर्वोच्च अदालत संवैधानिक इजलासले संवैधानिक नियुक्तिको निर्णय सुनाउने मिति तोकेकाले त्यसपछि नियुक्ति खान उनले यस्तो अर्घेल्याइ गरिरहेको चर्चा सुनिन्छ। अनिल कै कारण सब प्रक्रिया अवरोध हुन पुगेको हो।
समाज कल्याण परिषद्को उपाध्यक्ष बन्न नसकेका अनिल सहकारी नियमन प्राधिकरणको नेतृत्व गर्न मरिहत्ते गरेर लागेका थिए। अन्तिममा अन्तर्वार्ताको चरणमा प्रवेश गरेपछि उनी मैदान छाडेर हिँडेको पाइन्छ।
ट्याग : #अनिल राज पौडेल, #राष्ट्रिय सहकारी नियमन प्राधिकरण
तपाईको प्रतिक्रिया दिनुहोस