को बन्ला प्रशासकीय अदालतको अध्यक्ष?


काठमाडौं। प्रशासकीय अदालतको रिक्त अध्यक्ष पदमा दौडधुप सुरू भएको छ। डिल्लीराज घिमिरे ५ वर्षे कार्यकाल सकेर घर गएसँगै प्रशासकीय अदालतमा नयाँ अध्यक्षको खोजी सुरू भएको हो।

प्रशासकीय अदालतको अध्यक्षमा सम्भावित व्यक्ति उदयराज सापकोटा हुन्। तर, उनी प्रशासकीय अदालतभन्दा नेपाल कानुन आयोगतिर केन्द्रित देखिन्छन्। स्रोतका अनुसार उदयले चाहे उनी नै प्रशासकीय अदालतको अध्यक्ष बन्छन्। उनले नचाहेकाले विकल्पको खोजी सुरू भएको हो।

अहिले प्रशासकीय अदालतको अध्यक्षको दौडमा विशिष्ट श्रेणीबाट अवकाशको मुखमा रहेका डा. टेकबहादुर घिमिरे र आलोकचन्द्र श्रेष्ठ रहेका छन्। महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता डा. घिमिरे साउन ५ गतेदेखि ५ वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन्। उनलाई ‘सेटल’ गराउनु पर्ने मत कानुन क्षेत्रमा बलियो देखिन्छ। त्यसैले डा. घिमिरेलाई प्रशासकीय अदालतको भावी अध्यक्षका रूपमा हेर्न थालिएको छ।

घिमिरेसँगै प्रशासकीय अदालतको अध्यक्ष बन्ने दौडमा रहेका अर्का व्यक्ति आलोकचन्द्र श्रेष्ठ हुन्। ५८ वर्षे उमेर हदका कारण साउन ८ गतेबाट अनिवार्य अवकाशमा जान लागेका श्रेष्ठ प्रशासकीय अदालतमा जान दौडधुपमा रहेका छन्। असारभित्रै संघीय निजामती सेवा ऐन लागू भए आलोकको १ वर्ष जागिर लम्बिन्छ। तर, त्यस्तो अवस्थामा नआए उनी साउनको पहिलो साता नै सरकारी सेवाबाट बिदा हुनेछन्। आलोकले अवकाशपछिको गन्तव्य प्रशासकीय अदालतलाई बनाउन खोजेका छन्। उनको लक्ष्य त्यति सहज भने देखिँदैन।

कर्मचारीको मुद्दा हेर्ने प्रशासकीय अदालतको अध्यक्ष बन्दा काठमाडौं बाहिर जानु नपर्ने र सिंहदरबारभित्रै ५ वर्ष जागिर खान पाउने भएकाले आकर्षक बढ्दो छ। न्याय, कानुनतिरका विशिष्टहरू प्रशासकीय अदालतको अध्यक्षमा जान जोडबल गर्दै आएका छन्। यीमध्ये प्रशासकीय अध्यक्ष को बन्छ हेर्न बाँकी छ। बीचमा अर्को पात्र पुत्त छिर्ने सम्भावना उत्तिकै देखिन्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #आलोकचन्द्र श्रेष्ठ, #डा. टेकबहादुर घिमिरे, #प्रशासकीय अदालत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ