कसले उडायो श्रम मन्त्रालयको गाडी?

काठमाडौं। हिजोआज सिंहदरबारभित्रै अनौठो-अनौठो घटना घट्न थालेको छ। प्रस्ताविक संघीय निजामती सेवा विधेयकबाट कुलिङ पिरियड नै गायब बनाएको घटना सेलाउन नपाउँदै अर्को घटना दोहोरिएको हो। सिंहदरबारभित्र रहेको श्रम, रोजगार तथा सामाजिक मन्त्रालयबाट सरकारी गाडी नै लापत्ता भएको छ। कुलिङ पिरियड गायब बनाएको विषय संसदीय छानबिन समिति गठन गर्न दबाब बढिरहेका बेला श्रम मन्त्रालयको गाडी लापत्ता भएको हो।
श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले चारपाङ्ग्रे गाडी हराएको भन्दै खोजतलास गदिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। भिजिट भिसाको तनाबमा रहेको गृह मन्त्रालय लाई श्रम मन्त्रालयको गाडीले अर्को तनाब दिएको छ। गृह मन्त्रालयका अनुसार श्रम मन्त्रालयको स्वामित्वमा रहेको प्रदेश ३-०१-००२ झ ५३६७ नम्बरको सरकारी महिन्द्रा स्कोर्पियो सिंहदरबारबाटै हराएको हो। उक्त गाडीले अहिले गृह मन्त्रालयमा समेत तनाब थपिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्णले उक्त गाडी खोजिदिन गृह मन्त्रालयलाई आग्रह गरेका छन्। साथै प्रचलित कानून बमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी, अनुसन्धान गरी कारबाही अगाडि बढाउन पनि श्रम मन्त्रालयले गृहसँग आग्रह गरेको पाइन्छ। श्रमको गाडी हराए जस्तै भिजिट वा अन्य भिसामा गएका श्रमिक हराइरहेको कुरा पनि बेला-बेलाबेलामा उठ्ने गर्छ। श्रमको गाडी हराए जस्तै विदेशिएका नेपाली श्रमिक हराएको विषयमा पनि खोजतलास हुन जरूरी छ।
तपाईको प्रतिक्रिया दिनुहोस