‘कुलिङ पिरियड’ गडबडीमा कांग्रेसको नेतृत्वमा ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन हुने


काठमाडौं। ‘कुलिङ पिरियड’ गडबडीमा ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन हुने भएको छ। नेपाली कांग्रेसका सांसदको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। उक्त समितिले १५ दिनभित्र रिपोर्ट दिने पनि उनले सुनाए।

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ राख्ने विषयमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट भएको गडबडीको छानबिन गर्ने सहमति भएको छ। नेपाली कांग्रेसबाट २ सांसद, एमालेबाट २ सांसद, माओवादी केन्द्रबाट १ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना र राप्रपाबाट १ जना रहने गरी ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन हुने बर्तौलाले जानकारी दिए। उक्त समितिले प्रतिवेदन लेखनका क्रममा भएका कमिकमजोरी र उक्त कमजोरीमसं लग्न व्यक्तिको पहिचान गर्ने उनले बताए। सोमबारको संसद् बैठकमा विशेष संसदीय छानबिन समितिमा रहने सांसदहरूको नाम घोषणा हुने बर्तौलाको भनाइ छ।

छानबिन समिति गठन भएपछि राजीनामा दिने राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले घोषणा गरिसकेका छन्। उक्त समितिका सचिव सुरजकुमार दुराले पनि समिति छाडेको घोषणा गरिसकेका छन्। संसदीय इतिहासमै लाजमर्दो घटनाको विषयमा दर्ज भएको ‘कलिङ पिरियड’ गडबडीलाई अब विशेष संसदीय छानबिन समितिले सत्य-तथ्य बाहिर ल्याउने विश्वास गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ