खरा कम्युनिटी नर्सलाई गर्भमै तुहाउने खेल?
अस्पताल नर्सिङमा कार्यरत श्रीमती भएका श्रीमानहरू कम्युनिटी नर्सको 'क' पनि उच्चारण गर्न चाहँदैनन्

काठमाडौं । स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड मानिने कम्युनिटी नर्सिङ सेवामा पछिल्ला वर्षहरूमा संरचनागत उपेक्षाको शिकार हुँदै आएको छ। हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नयाँ अर्गानोग्रामको तयारीमा रहेको बेला—कम्युनिटी नर्सहरूलाई फेरि पनि ‘गर्भमै तुहाउने’ शैलीमा संस्थागत रूपमा पछि पारिने चिन्ता बढेको छ ।
कम्युनिटी नर्सिङ सेवामा दशौँ तहसम्म मात्र दरबन्दी खुला गरिएको छ। त्यसपछिका तहहरूमा दरबन्दी नखुल्दा वर्षौँदेखि आठौँ तहमा कार्यरत नर्सहरू पदोन्नतिको पर्खाइमा छन्। यसैबीच अस्पताल नर्सिङतर्फ भने ११ तहसम्म दरबन्दी खुला गरिएको छ, र आन्तरिक प्रतिस्पर्धाबाट पनि उनिहरुलाई अगाडि बढ्ने अवसर दिइएको छ। यस्तो असमानताले पब्लिक हेल्थ सेवामा कार्यरत ठुलाे संख्यामा रहेका कर्मचारीको मनमा गहिराे खिल गाडिएको छ ।
एक पब्लिक हेल्थ विशेषज्ञ भन्छन्, “अस्पताल नर्सिङमा कार्यरत श्रीमती भएका श्रीमानहरूले कम्युनिटी नर्सको ‘क’ पनि उच्चारण गर्न चाहँदैनन्। यस्तो सोचले संस्थागत अन्याय मात्र होइन, सेवा वितरणमा पनि असन्तुलन सिर्जना गरिरहेको छ।”
नौ र दशौँ तहमा दुई जना, सयौंको बाटो बन्द
हाल नौ र दशौँ तहमा कार्यरत कम्युनिटी नर्समा कविता अर्याल र शर्मिला पौडेलमात्र छन्। ती दुईजना अवकाश नहुञ्जेल अरूलाई अगाडि बढ्न बाटो खुल्दैन। आठौँ तहमा वर्षौँदेखि खटिएका नर्सहरू दरबन्दी नपाएर थाती छन्। प्रशाशन तर्फ फड्को हान्नेकी भन्ने काैतुहलताका बिच सेवा प्रवाह गरिरहेका छन् ।
“हामी जनताको घरदैलोमा पुगेर काम गर्छौँ, तर पदोन्नतिका ढोका वर्षौँदेखि बन्द छन्,” एक नर्सको भनाइ छ, “अब बन्ने अर्गानोग्रामले हामीप्रति न्यायपूर्ण दृष्टिकोण राख्छ कि भन्ने आशा गरेका छौँ।”
प्रतिस्पर्धामा खरा साबित, तर न्याय पाइएन
नुजन शर्मा, कुमारी भट्टराई र अमृता पहाडीले अस्पताल नर्सिङतर्फको खुला प्रतिस्पर्धामा नवाैं तहमा नाम निकाले। उनीहरू सबै कम्युनिटी नर्सिङ पृष्ठभूमिका हुन्। तर अन्तर्वार्ताबाट चयन नगरी प्रक्रियालाई रोकिएको छ। अहिले विषय अदालतमा विचाराधीन छ।
यस घटनाले कम्युनिटी नर्सहरू सशक्त, योग्य र प्रतिस्पर्धी छन् भन्ने देखाउँछ। तर व्यवस्थागत ढाँचाले उनीहरूको सीपको कदर गर्न अझै बाँकी छ।
यता अस्पताल नर्सिङबाट कम्युनिटी नर्सिङतर्फ सर्ने व्यवस्था भए पनि, उल्टो प्रक्रिया रोकिएको छ। यसले समावेशी करियर मार्गमा असन्तुलन मात्र होइन, पब्लिक हेल्थ जनशक्तिलाई दोहोरो कमजोर बनाएको संकेत दिन्छ।
नयाँ अर्गानोग्रामले न्यायको ढोका खोल्नुपर्छ
हाल मन्त्रालयमा अर्गानोग्रामको मस्यौदा अन्तिम रूप लिँदैछ। यस प्रक्रियामा चिकित्सक नेतृत्व दरबन्दी थप्न सकारात्मक नभए पनि, प्रशासनिक नेतृत्व सम्हालेका उच्चस्तरीय ब्युरोक्र्याटहरू भने कम्युनिटी नर्सिङको मूल्यांकन गर्दै ११ तहसम्म दरबन्दी खुला गर्ने सम्भावनालाई लिएर संवेदनशील देखिएका छन्।
यसले विगतको गल्ती नदोहोऱ्याउने अवसर ल्याएको छ। करियर विकासको ढोका बन्द गरेर पब्लिक हेल्थ सेवा सुदृढ हुँदैन। नयाँ अर्गानोग्रामले कम्तीमा केही दरबन्दी ११ तहसम्म सुनिश्चित गरेर ठुलाे सङ्ख्याका कर्मचारीलाई अगाडि बढ्ने बाटो देखाउनुपर्छ।
अवसर चाहिन्छ, बहिष्कार होइन
अस्पताल नर्सिङ र कम्युनिटी नर्सिङ दुवै एकअर्काका पूरक हुन्। तर, एक पंक्तिलाई थिचेर मात्र अर्को समृद्ध हुँदैन। नयाँ अर्गानोग्राम न्यायको ढोका हो—यो ढोका बन्द होइन, खुला हुनुपर्छ।
ट्याग : ##कम्युनिटी नर्स, ##नर्स
तपाईको प्रतिक्रिया दिनुहोस