जापान जाने प्रशिक्षार्थी कामदारमाथि सिन्डिकेटको अत्याचार बन्द गर्न सांसद गौतमको माग

काठमाडौं। प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले जापानको भिसा पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई नेपालमै फेरि अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिने घटनामाथि संसदमा गम्भीर आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको बैठकमा सभामुखको ध्यानाकर्षण गराउँदै सांसद गौतमले जान नामक संस्थामार्फत विगत १५ वर्षदेखि चलिरहेको सिन्डिकेटको तथ्य मिडियामार्फत उजागर भएको बताइन्। उनले भनिन्, “सरकारको पटक–पटक ध्यानाकर्षण गरिए पनि सुनुवाइ र सुधार भएको छैन। अहिले अधिकारवादीहरुले मुद्दा सर्वोच्च अदालतमा दायर गरेका छन् र कारण देखाउ आदेश जारी भइसकेको छ।”
जापान जान भाषा परीक्षा पास गरी सीओई पाइसकेका युवाहरु अहिले नेपालमै रोकिएर अनावश्यक दोस्रो परीक्षा दिन बाध्य भएको उनले बताइन्। “भविष्य बनाउने आशामा लाखौँ रुपैयाँ खर्च गरेका ती युवाहरू आज हतास, निराश र आक्रोशित छन्,” गौतमको भनाइ थियो, “उनीहरूको आत्मबल कमजोर पारिएको छ, भविष्यमाथि प्रश्न उठाइएको छ।”
सांसद गौतमले सरकारसँग अनधिकृत सिन्डिकेट तुरुन्त खारेज गर्न, यसमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न र वैदेशिक रोजगार प्रक्रिया पारदर्शी, प्रभावकारी र युवामैत्री बनाउने व्यवस्था गर्न माग गरिन्। “हजारौँ युवाको रोजगारीको सपनामा सरकार टुलुटुलु हेरेर बर्बाद गर्न मिल्दैन,” उनले चेतावनी दिइन।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस