‘कन्डम पनि खरिद गर्न नसक्ने मन्त्री’: स्वास्थ्यमा नतिजामुखी काम गर्न नसक्दा पौडेल हटाउने तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेल सरकारबाट हट्ने सम्भावनाको पहिलो सूचीमा परेका छन्। उच्च सरकारी स्रोतका अनुसार स्वास्थ्य क्षेत्रमा उनले अपेक्षाकृत परिणाम देखाउन नसकेको, नीतिगत निर्णयहरू कार्यान्वयनमा असफल भएको र सार्वजनिक स्वास्थ्य सेवामा देखिएको कमजोरीकै कारण उनलाई हटाउने प्रस्ताव अगाडि आएको छ ।
पार्टी र स्वास्थ्य मन्त्रालयभित्रै मन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि बढिरहेको स्रोतहरूको भनाइ छ। यही पृष्ठभूमिमा मन्त्री पौडेल पक्षधर निकट सल्लाहकार तथा कार्यकर्ताहरूले उनलाई ‘स्वास्थ्यको कारण देखाएर’ सम्मानजनक रूपमा राजीनामा दिने विकल्प अपनाउन सुझाव दिएको बुझिएको छ।
हाल मन्त्री पौडेल आफैँ पनि स्वास्थ्य समस्याबाट ग्रस्त छन्। स्रोतका अनुसार उनको आन्द्रामा गम्भीर समस्या देखिएको छ र उनी औषधि सेवन गर्दै आराममा रहेका छन्। यस्तो अवस्थामा आफूलाई चिकित्सकीय कारणले राजीनामा दिने अवसरका रूपमा प्रस्तुत गर्ने विकल्प उनीसँग छ। यसले उनलाई हटाइएको भनेर नआओस् भन्नेछ र सार्वजनिक छविमा आघात पनि कम हुनेछ।
पाँच लाखको बीमा योजना : भाषणमै सीमित, व्यवहारमा असफल
पौडेलले मन्त्री नियुक्त भएलगत्तै जनस्वास्थ्यमा ठूलो प्रभाव पार्ने योजनाको रूपमा स्वास्थ्य बीमाको रकम पाँच लाख रुपैयाँ पुर्याउने घोषणा गरेका थिए। तर, सो योजना व्यवहारमा असम्भव सावित भयो। हाल नागरिकलाई दिइएको एक लाख रुपैयाँको बीमा सुविधा सञ्चालन गर्नकै लागि सरकारले झण्डै १५ अर्ब रुपैयाँ अस्पतालहरूलाई भुक्तानी गर्न बाँकी रहेको अवस्था छ। यस्तो अवस्थामा पाँच लाखको बीमा सीमा पुर्याउँदा खरबौँ रुपैयाँको अतिरिक्त भार राज्यले व्यहोर्न सक्ने अवस्था छैन।
यसबारे स्वास्थ्य लाइभ मिडियाले योजनाको व्यवहार्यता, आर्थिक भार र त्यसबाट उत्पन्न हुने संभावित वित्तीय संकटबारे सुरुदेखि नै तथ्यपूर्ण रूपमा आवाज उठाउँदै आएको थियो। तर नीति निर्माणभन्दा प्रचारमुखी अभियानमा रमाउने, बिचौलियाको सघन प्रभावमा रहेका र आफ्नै दलका कार्यकर्ताको सञ्जालमा बाँधिएका मन्त्री पौडेलले ती गम्भीर चेतावनीहरूलाई सुन्ने र आत्मसात् गर्ने प्रयास कहिल्यै गरेनन्।
योजनालाई विस्तृत अध्ययन, तथ्यांक विश्लेषण र व्यवस्थापन क्षमताको मूल्यांकनको सट्टा भावनात्मक भाषण र लोकप्रियता बटुल्ने माध्यमका रूपमा प्रयोग गरिएको देखियो। नतिजा, नीति तथा कार्यक्रम र बजेटमा समेत बीमा योजना समावेश हुन सकेन।
कन्डम पनि खरिद हुन नसक्नु: गम्भीर कमजोरीको संकेत
मन्त्री पौडेलको कार्यकालमा स्वास्थ्य मन्त्रालयको खरिद प्रक्रिया पनि निकै कमजोर देखिएको छ। विगत वर्षहरूमा औसत तीन अर्ब रुपैयाँ बराबरको औषधि तथा सामग्री खरिद गरिनुपर्नेमा चालु आर्थिक वर्षमा डेढ अर्ब बराबरको खरिद पनि सम्पन्न हुन सकेको छैन। सबैभन्दा चिन्ताजनक पक्ष के छ भने, आधारभूत जनस्वास्थ्य सामाग्री कन्डमजस्ता परिवार नियोजनका साधन समेत आवश्यक मात्रामा खरिद हुन सकेका छैनन्।
स्वास्थ्य मन्त्रालयभित्रैका कर्मचारीहरू भन्छन्, ‘कन्डम पनि किन्न नसक्ने स्वास्थ्य मन्त्री’ भन्ने परिचय मन्त्री पौडेलको दुर्भाग्यपूर्ण कार्यकालको वास्तविकता हो। जनस्वास्थ्यको आधारभूत आवश्यकता व्यवस्थापन गर्न नसक्ने नेतृत्वबाट सुधारको अपेक्षा गर्नु आफैँमा विडम्बनापूर्ण हुने कर्मचारीहरू बताउँछन्।
पार्टी कार्यकर्ता सञ्जालमै बाँधिए, मन्त्रीको हैसियतमा देखिएनन्
मन्त्री पौडेलको अर्को गम्भीर कमजोरी भनेको उनी राजनीतिक हैसियतको परिपक्वतामा पुग्न नसक्नु हो। पार्टी संगठनको छाता ‘नेविसंघ’मा लामो समय बिताएका पौडेल मन्त्री बनेपछि पनि त्यही विद्यार्थी राजनीतिमा सीमित शैली र सञ्जालबाट माथि उठ्न सकेनन्। सरकारको मन्त्रीको रूपमा नीतिगत नेतृत्व, प्रणालीगत सुधार र सार्वजनिक उत्तरदायित्व वहन गर्नुपर्ने भूमिकालाई उनले अझै आत्मसात् गरेकाे देखिएन।
जनतामुखी नीतिलाई प्रभावकारी कार्यान्वयनमा लैजाने, सार्वजनिक सेवामा पारदर्शिता बढाउने र स्वास्थ्य प्रणालीलाई संस्थागत सुधारतर्फ डोर्याउने अपेक्षामा उनी चुक्दै गए। उनी अझै पनि दलका कार्यकर्ताको सञ्जालमै सीमित रहँदै, सरकारको मन्त्री नभई कार्यकर्ताका प्रतिनिधिजस्तै प्रस्तुत भइरहे। यसै कारण न त मन्त्रीका रूपमा परिपक्वता देखिए, न त स्वास्थ्यमा दीर्घकालीन सुधारको संकेत ।
राज्यमन्त्रीको कार्यकालसँग तुलना
पछिल्ला वर्षमा छोटो समयका लागि राज्यमन्त्रीको भूमिकामा रहेका उमेश श्रेष्ठले स्वास्थ्य मन्त्रालयमा केही सकारात्मक पहिचान बनाएका थिए। मन्त्रालयको आन्तरिक व्यवस्थापन सुधारदेखि स्वास्थ्य संस्थानहरूमा शुद्धता ल्याउने प्रयासमा देखिएको सक्रियता श्रेष्ठको कार्यकालको विशेषता थियो। राज्यमन्त्रीकै रूपमा पनि प्रभावकारी व्यवस्थापन सम्भव रहेछ भन्ने प्रमाण उनले दिएका थिए। यो सन्दर्भले मन्त्री पौडेलको नेतृत्व क्षमता र नतिजाको अभाव झनै उजागर गरिदिएको छ ।
स्वास्थ्य मन्त्रालय देशको अत्यन्त संवेदनशील तथा उच्च प्राथमिकताको क्षेत्रमा पर्छ। तर, पछिल्ला केही महिनामा देखिएको कार्यसम्पादन, योजना निर्माण र सेवा प्रवाहको अवस्थाले मन्त्री पौडेलको नेतृत्वमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ। स्वास्थ्य क्षेत्रमा सुधार गर्छु भनेर मन्त्री बनेका पौडेलले न त जनस्वास्थ्य सुधारमा खास योगदान दिन सके, न त आन्तरिक प्रणालीलाई पारदर्शी बनाउनेतर्फ कुनै ठोस पहल गरे। यिनै कारणहरूले गर्दा उनलाई मन्त्री पदबाट हटाउने विषयमा चर्को बहस चलिरहेको छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
तपाईको प्रतिक्रिया दिनुहोस