विपद्विरुद्ध पूर्व तयारी गर्न नगरपालिका सङ्घका अध्यक्ष ढुङ्गानाको आह्वान

धादिङ। नेपाल नगरपालिका सङ्घका अध्यक्ष तथा धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले विपत विरुद्ध पूर्व तयारी गर्न सबैलाई आह्वान गरेका छन् । बाढी र पहिरोको सम्भावित जोखिम यस वर्ष अझ बढी भएको विभिन्न अध्ययन र विज्ञहरूले बताएकाले थप सतर्क रहन आवश्यक रहेको उनको भनाइ छ।
अध्यक्ष तथा मेयर ढुङ्गानाले आज सार्वजनिक सन्देश जारी गर्दै सबैलाई सुरक्षाका उपायहरू अवलम्बन गर्न अनुरोध गरेका छन्।उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिमबाट जनताको ज्यान र सम्पत्तिको सुरक्षा स्थानीय सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै अहिले नगरपालिका छोडेर अन्यन्त्र नजान पनि सबै जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन्।
मेयर ढुङ्गानाले खोला, नदी किनार तथा पहिरोको जोखिमयुक्त स्थान नजिक नबस्न र त्यस्ता स्थानमा बास बसिरहेका परिवारहरूलाई सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै, मौसम विभाग र स्थानीय निकायबाट आउने सूचना तथा चेतावनीहरूलाई समयमै बुझेर आवश्यक सावधानी अपनाउन पनि उनको आग्रह छ।
अत्यावश्यक अवस्थामा प्रयोग गर्न सकिने औषधि, टर्चलाइट, पानी, महत्वपूर्ण कागजातहरू लगायत सामग्रीसहितको आपतकालीन झोला तयार राख्न उनले सबैलाई सुझाएका छन्। विपद् वा आपतकालीन अवस्था उत्पन्न भएमा नजिकको जनप्रतिनिधि, वडा कार्यालय वा प्रहरीसँग तुरुन्त सम्पर्क गर्न समेत अध्यक्ष ढुङ्गानाले आग्रह गरेका छन्।
विपद् व्यवस्थापनको तयारीमा नीलकण्ठ नगरपालिका सक्रिय रहेको जानकारी दिँदै मेयर ढुङ्गानाले सबैलाई एक–अर्कासँग सहकार्य गर्न र विपद् न्यूनीकरणमा जुट्न अनुरोध गरेका छन्। “सजग बनौं, सुरक्षित रहौं” भन्ने नारासहित नगरपालिकाले नागरिकलाई सतर्क, जिम्मेवार र सक्रिय हुन आह्वान गरेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस