अतिक्रमणको चपेटामा दाङको स्वर्गद्वारी आश्रम


लमही। दाङस्थित स्वर्गद्वारी आश्रम अतिक्रमणको चपेटामा परेको छ। दाङको लमही नगरपालिकास्थित चैलाही, मझगाउँ, बनगाउँका सयौं बिगाहा जग्गा भूमाफियाहरूले कब्जा गरेका छन्।
पूर्व-पश्चिम राजमार्गको लमही नगरपालिकाको मुख्य बजारमा मात्र भूमाफियाहरूले ४० बिगाहा जग्गा कब्जा गरेका छन्। उक्त जग्गा कब्जा गरेर बस्नेमा नेपाल प्रहरीका अधिकारीदेखि व्यापारीसम्म रहेका छन्।

लमही बजारको बगई पुलबाट अर्नहवा पुलसम्म विभिन्न भूमाफियाले स्वर्गद्वारी आश्रमको जग्गा कब्जा गरेको देखिन्छ।स्वर्गद्वारी गुठीको जग्गा खानेमा नेपाल प्रहरीका हवल्दार सुरेश श्रेष्ठदेखि गणपति हार्डवेयरका मालिकसम्म रहेको पाइन्छ। प्युठानको स्वर्गद्वारी मन्दिर सञ्चालनका लागि स्वर्गद्वारी महाप्रभुले दाङ जिल्लाको विभिन्न ठाउँमा हजारौं बिगाहा जमिन खरिद गरेका थिए। उक्त जग्गा स्वर्गद्वारी आश्रमका नाममा रहेको छ। कतिपय जग्गा मोही समेत लागेको छ। मोहीबाहेक पनि भूमाफियाहरूले स्वर्गद्वारीको जग्गा कब्जा गरेका छन्। गणपति हार्डवेयरको मालिकलाई देखाएर अन्य भूमाफियाले भटाभट स्वर्गद्वारी गुठीको जग्गा कब्जा गरेको स्थानीयहरू बताउँछन्।

स्वर्गद्वारी जस्तो पवित्र संस्थाको जग्गा भूमाफियाले कब्जा गर्दा पनि स्थानीय प्रशासन मौन छ। राजनीति दलहरू उल्टै भूमाफियाको संरक्षणमा लागेको पाइन्छ। स्वर्गद्वारी गुठीको वास्तविक मोही संख्या २९७ रहेको छ। तर, त्यसको दोब्बर संख्यामा नक्कली मोही खडा गरेर स्वर्गद्वारी गुठीको जग्गा कब्जा गरिएको आश्रमको गुनासो छ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ