सरकारी लोगो कुकुरको भेषमा: प्रवक्ताको ‘अनुसन्धानमूलक प्रयोग’ कि लाेगाेको अपमान?

काठमाडौं । सरकारी प्रतीक चिन्हको मर्यादा कायम राख्नुपर्ने जिम्मेवारी बहन गर्ने व्यक्तिहरूकै हातबाट यसको ‘सृजनात्मक दुरुपयोग’ भइरहेको दृश्य सार्वजनिक भएपछि, स्वास्थ्य मन्त्रालयका प्रवक्ता चर्चाको केन्द्रमा छन्।
सार्वजनिक भएको पारिवारिक तस्बिरमा प्रवक्ता एउटा कुकुरलाई स्वास्थ्यसम्बन्धी सन्देश र सरकारी लोगो अंकित भेष लगाइदिएर फोटो खिचाइरहेका छन्। सामाजिक सञ्जालमा राखिएको उक्त तस्बिरले कतै हाँस्य त कतै चिन्ता उत्पन्न गराएको छ।
स्वास्थ्य सन्देश दिन चाहे जस्तो देखिए पनि यसरी जनावरलाई सरकारी प्रतीकसहित सजाउनु के कानुनी र नैतिक रूपमा उपयुक्त हो? भन्ने प्रश्न उठेको छ।
यो दृश्यले धेरैलाई सम्झाइदिएको छ, जब WHO का नेपाल प्रमुख राजेश पाण्डवले डब्लुएचओको लोगो अंकित भेष लगाएर सरकारी कर्मचारी र आफ्ना कार्यकर्तालाई भिरपाखा परेड खेलाइरहेका थिए, उनीभित्रको सन्देश दिने शैली व्यङ्ग्यले भरिएको थियो।
अब त्यही बाटो स्वास्थ्य मन्त्रालयका प्रवक्ताले अपनाएकाे देखिन्छ । कुकुरलाई सरकारी लोगो भएको पोशाक लगाइदिएर अनुसन्धानमूलक सन्देश दिन खोजेको शैलीमा प्रवक्ताको कुकुर खडा भएको बुझिन्छ। हुन सक्छ, यो स्वास्थ्य मन्त्रालयको ‘वन हेल्थ’ अवधारणातर्फको अग्रसरता हो, जहाँ मानिस, पशु र वातावरण सबै एउटै मंचमा उतारिन्छ।
नेपालमा सरकारी चिन्ह र लोगो प्रयोग गर्ने स्पष्ट निर्देशिका छ। यी चिन्हहरूलाई केवल औपचारिक, सरकारी प्रयोजन, वा स्वीकृत कार्यक्रमहरूमा प्रयोग गर्न पाइन्छ।
तर जब यो व्यक्तिगत रमाइलो, फुर्सदको क्षण, वा घरेलु दृश्यमा प्रयोग हुन्छ, त्यतिबेला यो राज्यको गरिमा र गम्भीरतालाई कमजोर बनाउने खालको कार्य हुन जान्छ।
स्वास्थ्य मन्त्रालयकै एक अधिकारी भन्छन् “कुनै संस्थाको प्रतीक चिन्ह त्यो संस्थाको प्रतिष्ठाको प्रतिनिधि हो। त्यो चिन्हलाई मजाकको रूपमा देखाउने अभ्यास अलिकति सचेत, जिम्मेवार र मर्यादित हुनुपर्छ।”
यदि यो कुकुर मन्त्रालयको कुनै विशेष जनस्वास्थ्य अनुसन्धानमा संलग्न छ भने, जनतालाई प्रस्ट जानकारी दिनु अनिवार्य हुन्छ। यदि होइन भने, एकछिनको रमाइलोले सरकारी चिन्हको महत्त्व र गरिमालाई चिसो बनाउँछ।
सरकारी चिन्ह केवल भेषको डिजाईन होइन, त्यो सम्पूर्ण राज्यसंस्थाको सम्मान हो। यसप्रकारको ‘सृजनात्मक प्रयोग’ मन त हलुका बनाउन सक्ला, तर नीति निर्माण, जिम्मेवारी र नैतिकताको दृष्टिकोणले गम्भीर बहस चाहिन्छ। हुन त कुनबेला के हुन्छ कसलाई थाहा — भोलि कुकुरको ‘वन हेल्थ प्रतिनिधि’ बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुर्याइँदैछ कि!
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस