कति छ स्वर्गद्वारी आश्रमको जग्गा?, भूमाफियाद्वारा दाङमा २ सय बिगाहाभन्दा बढी अतिक्रमण


घोराही। बाल तपस्वी श्री स्वर्गद्वारी महाप्रभुद्वारा आर्जित र सृजित सम्पत्तिमाथि भूमाफियाको गिद्दे नजर लागेको पाइएको छ। स्वर्गद्वारीमा अखण्ड महायज्ञ सञ्चालका लागि हंसानन्द परमहंस (स्वर्गद्वारी महाप्रभु)ले दाङ जिल्लाका विभिन्न ठाउँमा जग्गा-जमीन जोडेका थिए। आफ्नै खल्तीको पैसा खनखन्ती गनेर किनिएको स्वर्गद्वारी महाप्रभुले किनेको जग्गामा अहिले भूमाफियाहरूको ‘बुरी नजर’ लागेको पाइन्छ।

भूमाफियाहरूले अखण्ड महायज्ञलाई नै असफल पार्ने गरी श्री स्वर्गद्वारी महाप्रभुले किनेको जग्गाहरू हडपेर समाप्त पार्न खोजेको टिप्पणी हुन थालेको छ। स्वर्गद्वारी आश्रमलाई अहित चिताएको भन्दै कांग्रेस नेता खुमबहादुर खड्काले जीवनको उत्तरार्धमा स्वर्गद्वारीका पिठाधीशलाई नै भेटेर पश्चताप गरेको घटना अहिले पनि लमहीतिर चर्चामा हुने गरेको छ। स्वर्गद्वारीको सम्पत्ति मास्न-बेच्ने कार्यमा संलग्न राजनीतिक दलका नेता र तीनका आसेपासेको ‘बुरी’ हालत देखिने अवस्था नआउँला भन्न सकिन्न। भूमाफियालाई संरक्षण गर्ने र स्वर्गद्वारी गुठीको जग्गा समाप्त पार्न खोज्ने नेताहरूले दाङबाट पटकपटक चुनाव हार्ने गरेको समेत चर्चा हुने गरेको छ। प्रसिद्ध र ऐतिहासिक पवित्र तीर्थस्थल (धार्मिकस्थल) स्वर्गद्वारी आश्रमको जग्ग्गा खान राजनीतिक दलका स्थानीय नेताहरू नै लालयित देखिन्छन्। स्वर्गद्वारीको आस्थामाथि प्रहार गरेर अन्तर्राष्ट्रिय रूपमै यसको पहिचान नामेट गर्न उनीहरू तल्लिन छन्।

लमहीको बनगाउँमा रहेको स्वर्गद्वारी आश्रम

स्वर्गद्वारी आश्रमको जग्गा दाङमा मात्र करिब १ हजार ५४ बिगाहा रहेको छ। जसमध्ये घोराहीको झिगौंरामा १८० बिगाहा ९ कठ्ठा १२ धुर जग्गा रहेको छ। त्यसमध्ये २६ बिगाहा १८ कठ्ठा ५ धुर जग्गा भूमाफियाहरूले कब्जा गरेको पाइन्छ। त्यस्तै घोराही कै रामपुरमा १८० बिगाहा ९ कठ्ठा ४ धुर जग्गा स्वर्गद्वारी आश्रमको नाममा छ। रामपुरमा पनि भूमाफियाले २४ बिगाहा १९ कठ्ठा १२ धुर जग्गा हडपेका छन्।

रामपुर आश्रम

लमही बजारको अर्नहवामा रहेको ४४ बिगाहा १६ कठ्ठा १३ धुर जग्गामा झन्डै पुरै जग्गा भूमाफियाको अतिक्रमणमा परेको छ। अर्नहवामा १ बिगाहा ८ आना १३ धुर जग्गामा मोही देखिएपनि ४१ बिगाहा १२ कठ्ठा १६ धुर जग्गा भूमाफियाले अतिक्रमण गरेका हुन्। लमहीको मुख्य बजारमा ऐतिहासिक र पवित्र स्वर्गद्वारी आश्रमको नाममा रहेको जग्गा भूमाफियाले अतिक्रमण गर्दा स्थानीय प्रशासन मौन रहेको छ। राजनीतिक दलका नेताहरूले उल्टै भूमाफियालाई संरक्षण गरेकाे पाइन्छ।

उचानिब्बुमा ९६ बिगाहा ७ कठ्ठा १० धुर जग्गा स्वर्गद्वारी गुठीको नाममा रहेको छ। त्यसमध्ये झन्डै २६ बिगाहा जग्गा भूमाफियाले खाएका छन्। लमहीको चैलाहीमा स्वर्गद्वारी आश्रमको नाममा रहेको ८८ बिगाहा १२ कठ्ठा १ धुरमध्ये १० बिगाहाभन्दा बढी जग्गा भूमाफियाले अतिक्रमण गरेका छन्।

त्यस्तै स्वर्गद्वारी आश्रमको नाममा बनगाउँमा रहेको १३९ बिगाहा ६ कठ्ठा ६ धुर जग्गामध्ये भन्डै १० बिगाहा जग्गा भूमाफियाले अतिक्रमण गरेकाे पाइन्छ। मजगाउँमा रहेको स्वर्गद्वारी आश्रमको १३५ बिगाहा ५ कठ्ठा १३ धुर जग्गा मध्ये ४१ बिगाहा १२ कठ्ठा १३ धुर जग्गा भूमाफियाले हडपेका छन्।

घोराहीको झिंगौरामा रहेको स्वर्गद्वारी आश्रम

स्वर्गद्वारी महाप्रभुको निर्देशनमा किनेको ढोडेनीमा रहेको १७ बिगाहा १२ कठ्ठा १४ धुर जग्गामध्ये २ बिगाहा २ कठ्ठा २ धुर जग्गा भूमाफियाले हडपेका हुन्। स्वर्गद्वारी आश्रमको नाममा नैनवरमा रहेको ९७ बिगाहा १७ कठ्ठा २ धुर जग्गामा करिब १६ बिगाहा ३ कठ्ठा जग्गा भूमाफियाले खाएका छन्। दाङ कै टरीगाउँमा स्वर्गद्वारी आश्रमको नाममा रहेको करिब ७२ बिगाहा १२ कठ्ठा २ धुर जग्गामा करिब ५ बिगाहा भूमाफियाको कब्जामा परेको छ।

झिंगौरा आश्रम

स्वर्गद्वारी गुठीको नाममा दाङको झिंगौरा, अर्नहवा र मजगाउँमा गरेर करिब २८ बिगाहा जग्गा भाडामा लगाएको पाइन्छ। चैलाही र बनगाउँमा गरेर साढे ३१ बिगाहाभन्दा बढी जग्गा कृषि ठेक्कामा दिएको देखिन्छ।

स्वर्गद्वारी आश्रमको नाममा दाङमा रहेको जग्गामा अतिक्रमण गर्ने भूमाफियाहरू अधिकांश माओवादी जनयुद्धकालमा छिरेको स्थानीयहरू बताउँछन्। माओवादीको भेषमा छिरेर स्वर्गद्वारीको जग्गा खानेहरू राज्य संरक्षित भूमाफियाहरू बनेका छन्। जनयुद्धकालमा माओवादीले पटकपटक प्युठानको स्वर्गद्वारी आश्रम हान्न खोजेपनि असफल भएको स्थानीयहरू सुनाउँछन्। प्युठानको स्वर्गद्वारी हान्न नसकेपनि स्वर्गद्वार आश्रमको नाममा दाङमा रहेको जग्गा कब्जा हान्न भने उनीहरू सफल भएको पाइन्छ।

स्वर्गद्वारी गुठीको प्युठानमा मात्र १० हजार रोपनी जग्गा

स्वर्गद्वारी महाप्रभुले तपस्या गरेको र डेढ सय वर्षदेखि अखण्ड महायज्ञ चलिरहेको प्युठानको स्वर्गद्वारीमा मात्र झन्डै ९ हजार रोपनी जग्गा रहेको पाइन्छ। स्वर्गद्वारीमा ८ हजार ७ सय १९ रोपनी ६ आना ३ पैसा ३ दाममध्ये अधिकांश बन क्षेत्र हो।

त्यस्तै प्युठानको कोचिवाङमा १ सय ५५ रोपनी ८ आना १ दाम, भिंगृमा ३१६ रोपनी १४ आना ३ पैसा ३ दाम र गोठीवाङमा ७२ रोपनी ९ आना २ दाम जग्गा स्वर्गद्वारी आश्रमको नाममा रहेको छ। प्युठानमा स्वर्गद्वारी आश्रमको नाममा रहेको ३७९ रोपनी ७ आना १ पैसा २ दाम जग्गा बाझो हो भने २९० रोपनी १ पैसा १ आना ३ दाम जग्गा खेतीयोग्य रहेको पाइन्छ। प्युठानको केही जग्गामा मोही जनिए पनि दाङमा जस्तो अहिलेसम्म भूमाफियाले अतिक्रमण गर्न सकेका छैनन्।

स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रोल्पाको रूम्टीमा समेत स्वर्गद्वारी आश्रमको नाममा जग्गा रहेको छ। डेढ सय वर्षभन्दा पहिला (बिसं १९१६)मा तत्कालीन सल्यान हाल रोल्पाको रूम्टीमा जन्मिएका स्वर्गद्वारी महाप्रभुको जन्मस्थलमा समेत स्वर्गद्वारी आश्रमले २४ रोपनी ११ आना जग्गा खरिद गरेको हो। स्वर्गद्वारी महाप्रभु जन्मिएको ठाउँमा महाप्रभुको सम्झनामा उत्तराधिकारीहरूले नगद हालैर उक्त जग्गा किनेका हुन्। बाँकी जग्गा भने स्वर्गद्वारी महाप्रभु कै बाहुबलीबाट खरिद गरेको पाइन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #अखण्ड महायज्ञ, #अर्नहवा, #उच्चा निब्बु, #कोचिवाङ, #गोठीवाङ, #घोराही उपमहानगरपालिका, #चैलाही, #झिंगौरा, #टरीगाउँ, #ढोडेनी, #नैनवार, #बनगाउँ, #भिंगृ, #मझगाउँ, #रामपुर, #रूम्टी रोल्पा, #लमही नगरपालिका, #स्वर्गद्वारी आश्रम, #स्वर्गद्वारी गुठी, #स्वर्गद्वारी महाप्रभु

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ