ओराकलमा एकछत्र राज गरेको डब्ल्यूडीएन भ्रष्टाचारमा बल्ल डामियो

काठमाडौं। आईटी माफिया सुनिल र विकल पौडेलसँग मिलेर ओराकलमा एकछत्र राज गरेको वर्ल्ड डिस्ट्रिब्यूसन नेटवर्क(डब्ल्यूडीएन) बल्ल भ्रष्टाचारमा डामिएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रको सफ्टवेयर खरिदमा डब्ल्यूडीएनमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले ‘डब्ल्यूडीएन’सँग ‘हाई कम्पुट इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा १५ करोड ८८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ। अख्तियारले उक्त ठेक्कामा भ्रष्टाचार गरेको भन्दै केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। त्यस्तै डब्ल्यूडीएनका प्रबन्ध निर्देशक अरुण श्रेष्ठ पनि उक्त भ्रष्टाचार मुद्दाको प्रतिवादी बनेका छन्।
राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई हानी पुर्याउने बदनियतले निर्धारित सर्त तथा मापदण्ड विपरीत गुणस्तरहीन प्रोसेसन रहेको स्टोरेज आपूर्ति गरिएको अख्तियारको ठहर छ। झुट्टा कागजात पेस गरी अस्वभाविक मूल्य कायम भएको प्रोसेसरबापत १५ करोड ८८ लाख ५० हजार रुपैयाँ भुक्तानी लिए/दिएको देखिएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको अभियोगपत्र दर्ता गराएको हो।
२०७६ माघ १५ मा केन्द्र र डब्ल्यूडीएनबीच भ्याटसहित ३० करोड ६५ लाख ५५ हजार ७६३ रुपैयाँमा ‘हाई कम्पुट इन्फ्रास्ट्रक्चर’ खरिद गर्ने सम्झौता भएको थियो। आर्थिक वर्ष ०७६/७७ मा केन्द्रले गुरुयोजना तयार नगरी मिलेमतोमा ‘हाई कम्पुट इन्फ्रास्ट्रक्चर’ खरिदका लागि स्पेसिफिकेसन तथा भ्याटसहित ३० करोड ९९ लाख ९९ हजार नाै सय ९९ रुपैयाँको लागत अनुमान तयार गरेको थियो। त्यसमा मिलेमतो गरी डब्ल्यूडीएनलाई ठेक्का सुम्पिएको अख्तियारको दाबी छ।
अख्तियारले डब्ल्यूडीएनलाई भ्रष्टाचार मुद्दा लगाउनु पर्ने केन्द्रको ओराककल खरिदमा हो। विकल र सुनिलसँग मिलेर केन्द्रले खरिद गरेको ओराकलमा डब्ल्यूडीएनले एकाधिकार कायम गरेर ब्रह्मलुट मच्चाएको थियो। तर, अख्तियार कै अनुसन्धान अधिकृतसँगको मिलेमतोमा उक्त फाइल तामेलीमा राखिएको छ। विकल सुनिलसँग मिलेर ‘डब्ल्यूडीएनले ओराकलमा गरेको ब्रह्यलुटमा अनि अख्तियारले ‘एक्सन’ लिन जरूरी छ।
तपाईको प्रतिक्रिया दिनुहोस