स्वर्गद्वारी जाने बाटो नर्क बनाइरहेका सिमेन्ट उद्योगका ट्रिपरहरू

सिमेन्ट उद्योगद्वारा जनस्वास्थ्यमाथि गम्भीर खेलबाड


प्युठान। लुम्बिनी प्रदेशको दाङसँग जोडिएको प्युठान जिल्लामा प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारी रहेको छ। उक्त स्वर्गको द्वार अर्थात् स्वर्गद्वारी जाने बाटो भने सिमेन्ट उद्योगका ट्रिपरहरूले खत्तम (नर्क) बनाइरहेका छन्। बाल तपस्वी श्री १००८ स्वर्गद्वारी महाप्रभुले तपस्या गरेको स्वर्गद्वारी मन्दिर (शक्तिपीठ) दर्शन गर्न जाने बाटो नै सिमेन्ट उद्योगका ट्रिपरहरूले नर्क बनाइदिएका हुन्।

दाङको घोराही हर्नक, कमेरेचौर, बंगलाचुली, मुर्कटी, देवीस्थान (अरुण खेला), भिंग्री हुँदै स्वर्गद्वारी जाने बाटो नर्क बनाउने काम घोराही (सगरमाथा) सिमेन्ट उद्योगका ट्रिपरहरूले गरेका छन्।सगरमाथा सिमेन्टको कच्चा पदार्थ बोक्ने ट्रिपरहरूले घोराही, हर्नक हुँदै कमेरेचौर पुग्ने करिब २० किलोमिटर बाटो धवस्त बनाएका हुन्। बाटो नै हिँड्न समस्या हुने गरी ट्रिपरहरूले बिगारेका छन्।

सरकार र स्थानीय प्रशासनले सिमेन्टको कच्चा पदार्थ चुनढुंगा बोक्ने ट्रिपरहरूलाई वैकल्पिक बाटो पठाउन नसक्दा पवित्र तीर्थस्थल स्वर्गद्वारी जाने बाटो नर्क बनेको हो। सिमेन्टको कच्चा पदार्थ बोकेका सयौं ट्रिपर दिनप्रतिदिन उक्त बाटोबाट ओहोर-दोहोर गर्दा पक्की बाटो नै कच्ची भइसकेको छ। सरकारले उक्त बाटोमा पटकपटक बजेट हालेर कालोपत्रे गर्दा पनि सिमेन्ट उद्योगका ट्रिपरहरू ओहोर-दोहोर गर्दा स्वर्ग कच्ची बनेर नर्क जाने बाटो बनेको हो।

दाङको घोराही, हर्नक, कमेरेचौर, बंगलाचुली, मुर्कटी हुँदै देवीस्थान (अरुण खेला)मा भेटिने बाटो भालुवाङको राप्ती किनारै-किनार आएको बाटोभन्दा दाङबाट स्वर्गद्वारी जाने छोटो र छिटो बाटो हो। तर, सिमेन्ट उद्योगका ट्रिपर र ट्रक आतंका कारण उक्त बाटो हिड्न निकै कठिनाइ भएको पाइन्छ।

रोल्पाको रून्टीबाट विक्रम सम्वत् १०५१ मा स्वर्गद्वारी आएर १९५२ देखि वैदिक अखण्ड महायज्ञको थालनी गरेका स्वर्गद्वारी महाप्रभुको दर्शन गर्न लाखौंको संख्यामा भक्तजनहरू जाने गर्छन्। तर, उक्त स्वर्गद्वारी जाने बाटो भने सिमेन्ट उद्योगका ट्रिपरहरूले नर्क बनाइ दिएका छन्।

दाङबाट स्वर्गद्वारी जाने हलेरीको बाटोको हालत पनि उस्तै छ। दाङको घोराही, होलेरी, सुर्पाल हुँदै धरमपानी स्वगद्वारी पुग्ने ५६ किलोमिटर दूरीको बाटो सोना सिमेन्टको कच्चा पर्दाथ बोक्ने ट्रिपरहरूले ध्वस्त बनाएका छन्। ट्रिपर हिँडाउने वैकल्पिक बाटो दिँदा पनि होलेरी हुँदै स्वर्गद्वारी जाने बाटो नर्क बनाउने गरी त्यहिँ बाटोबाट सोना सिमेन्टको कच्चा पदार्थ बोक्ने ट्रिपर हरू हुँइकिरहेको पाइन्छ।

दाङबाट स्वर्गद्वारी जान घोराही, मसिना, स्युजा, भोजपोखरा अरुण खोला हुँदै धरमपानी सबैभन्दा छोटो हो। तर, उक्त बाटो त्यति स्तरीय देखिँदैन। भालुवाङबाट राप्ती नदीको तिरैतिर अरूण खोला, भिंग्री हुँदै स्वर्गद्वारी जाने बाटो स्वर्ग जस्तै छ। तर उक्त बाटो दाङ पूर्वबाट स्वर्गद्वारी जानेका लागि मात्र उपयुक्त देखिन्छ।

घोराहीबाट हर्नक, कमेरेचौर, बंगलाचुली हुँदै स्वर्गद्वारी जाने र होलेरी हुँदै स्वर्गद्वारी जाने दुईवटै बाटो सिमेन्ट उद्योगका ट्रिपरहरूले नर्क बनाएका छन्। ती सिमेन्ट उद्योगले स्वर्गद्वारी जाने बाटो मात्र नर्क बनाएका छैन दाङ उपत्यकामा बसोबास गर्ने मानिसहरूको स्वास्थ्य नै नर्क बन्ने अवस्थामा पुऱ्याएका छन्। राजनीति दलका नेताहरूको आडमा सिमेन्ट उद्योगको दादागिरीका कारण स्वर्गद्वारी जाने बाटो र दाङ उपत्यकामा बसोबास गर्नेको स्वास्थ्य नर्क बन्दै गइरहेको छ। सिमेन्ट उद्योगले बायु प्रदूषण गर्दा भविष्यमा दाङ र देउखुरी उपत्यकामा स्वास्थ्य समस्याको बिकराल रूप निम्तने खतरा देखिन्छ। दाङमा सञ्चालित सिमेन्ट उद्योगले मोटर बाटो र मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको छ। स्वर्गद्वारी आश्रमको जग्गा कब्जा गर्न कार्यकर्तालाई उकास्ने दङ्गाली नेताहरूले सिमेन्ट उद्योगले गरेको प्रदूषणका कारण उनीहरूको जनस्वास्थ्यमा पारेको असरको विषयमा भने ध्यान दिएको देखिँदैन। भोटका लागि राजनीति गर्ने नेताहरूले त्यतातिर पनि ध्यान दिने हो कि!

 

क्याटेगोरी : समाचार
ट्याग : #कमेरेचौर, #घोराही (सगरमाथा) सिमेन्ट, #दाङको घोराही हर्नक, #देवीस्थान (अरुण खेला), #बंगलाचुली, #भिंग्री हुँदै स्वर्गद्वारी जाने बाटो, #भोजपोखरा, #मुर्कटी, #श्री १००८ स्वर्गद्वारी महाप्रभु, #सोना सिमेन्ट, #स्वर्गद्वारी महाप्रभु

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ