स्वास्थ्य आपतकालीन तालिममा क्षेत्राधिकारबाहिरका कर्मचारीको भागबण्डा
कोरियाली तालिम मन्त्रालयका प्रशासनिक कर्मचारीले भरिँदा फिल्डका हेल्थ वर्कर फेरि ओझेलमा

काठमाडाैं । स्वास्थ्य संकट व्यवस्थापन प्रणाली सुदृढीकरणका लागि कोरियामा आयोजना हुने अन्तर्राष्ट्रिय तालिममा कार्यक्षेत्रसँग प्रत्यक्ष सरोकार नभएका मन्त्रालयस्तरीय कर्मचारीहरूको नाम प्राथमिकतामा परेको छ।
कोरियाली संस्थासँगकाे सहकार्यमा साउन ७ देखि २० गतेसम्म आयोजना हुने “Capacity Building on Strengthening Health Emergency Operation System in Nepal” तालिममा आपतकालीन कार्यमा प्रत्यक्ष खटिने स्थानीय तह र दुर्गम क्षेत्रका कर्मचारीभन्दा मन्त्रालयको प्रशासनिक संरचनामा कार्यरत कर्मचारी नै हाबी छन्।
कार्यक्रममा सहभागी बनाउन स्वास्थ्य मन्त्रालयले दुई दर्जन कर्मचारीको सिफारिस गरेको छ, जसमा उपसचिव, शाखा अधिकृत, कम्प्युटर अधिकृत, र मन्त्रीका निजी सचिवालयका कर्मचारीसम्म परेका छन्।
सहभागीहरूको नामावली
1. डा. प्रकाश बुढाथोकी, प्रवक्ता स्वास्थ्य मन्त्रालय
2. श्री हरि पंगेनी – उपसचिव, स्वास्थ्य मन्त्रालय
3. श्री गोपीचन्द्र भण्डारी – उपसचिव, स्वास्थ्य मन्त्रालय
4. डा. सुनिता लम्साल – मेसु, स्वास्थ्य मन्त्रालय
5. डा. भक्तबहादुर के.सी. – स्वास्थ्य मन्त्रालय
6. श्री विश्ववन्धु रेग्मी – शाखा अधिकृत, स्वास्थ्य मन्त्रालय
7. श्री रचना श्रेष्ठ – शाखा अधिकृत, स्वास्थ्य मन्त्रालय
8. श्री हेमकुमार अधिकारी – शाखा अधिकृत, स्वास्थ्य मन्त्रालय
9. श्री सुशिल नेपाल – कम्प्युटर अधिकृत, स्वास्थ्य मन्त्रालय
10. श्री दीपक कुमार के.सी. – काठमाडौँ महानगरपालिका
11. श्री चित्रा खनाल – लुम्बिनी प्रदेश
12. श्री सुनालक्ष्मी कर्माचार्य – स्वास्थ्य मन्त्रालय
13. श्री मनोज आचार्य – मन्त्रीको स्वकीय सहायक
14. श्री सन्तोप पौडेल – परिवार नियोजन अधिकृत, स्याङ्जा
जसलाई तालिमको विषयवस्तुको ज्ञान छैन, उसलाई सहभागी बनाउने ?
स्वास्थ्य आपतकालीन सञ्चालन प्रणाली जस्तो विशिष्ट क्षेत्रमा प्रशासनका कर्मचारीलाई सहभागी गराउनु प्रश्नको घेरामा परेको छ। न त ती कर्मचारीको कार्यक्षेत्र त्यससँग सम्बन्धित छ, न त उनीहरूसँग व्यवहारिक अनुभव छ। विशेषज्ञहरू भन्छन्, “तालिमको विषयवस्तु बुझ्ने, प्रभावकारिता सुनिश्चित गर्ने, र प्राप्त ज्ञान कार्यान्वयन गर्न सक्ने कर्मचारी पठाइनुपर्छ।”
यसबाहेक मन्त्रीका स्वकीय सचिवको नाम पनि सूचिमा परेपछि धेरैले आलोचना गरेका छन्, “के मन्त्रीको सचिव विदेश तालिम जानुपर्ने कुनै कार्यक्षेत्र हो?” यस्तो अवसरमा बरु वर्षौंदेखि दुर्गम क्षेत्रमा काम गरिरहेका कार्यालय सहयोगी वा फिल्ड स्वास्थ्यकर्मीलाई पठाइनु न्यायोचित हुने सुझाव दिएका छन्।
कोरियाली पक्षको भूमिकामाथि पनि प्रश्न उठ्यो
तालिम आयोजक कोरियाली संस्थाले समेत अब “सूची आयो, जसलाई पनि लाने” शैलीको सहभागिता स्वीकार्न नहुने धेरैको तर्क छ। “दातृ संस्थाले पठाइने सहभागीको विषयवस्तु सम्बन्धित अनुभव, दक्षता र कार्यक्षमता हेरेर मूल्यांकन नगरेसम्म यस्ता कार्यक्रमको प्रभाव सीमित हुन्छ,” स्वास्थ्य प्रशासनका एक अनुभवी अधिकारी भन्छन्। अब मन्त्रालय र आयोजनासम्बन्धी निकायले सार्थक छनोट प्रक्रिया अपनाउनुपर्छ, नभए स्वास्थ्य प्रणाली सुधारको लक्ष्य फेरि पनि भ्रमणमै सीमित हुनेछ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
तपाईको प्रतिक्रिया दिनुहोस