दाङमा सांसद विकास कोषको बजेट दुरूपयोग गरेर स्कुलका नाममा बनाइएको ‘भैंसी गोठ’


समाचार टिप्पणी

रामपुर। सांसद विकास कोष अर्धात् निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट कसरी दुरूपयोग हुन्छ भनेर हेर्न दाङको रामपुर आए हुन्छ। घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको ‘नमूना’ परियोजना देख्न सकिन्छ। उक्त निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा राज्यकोषमाथि मनपरी तन्त्र चलेको पाइन्छ। त्यसको ज्वलन्त उदाहरण हो स्कुलको नाममा स्वर्गद्वारी आश्रमको जग्गामा ठड्याइएको ‘भैंसी गोठ। सांसदको नाममा दिइने पैसा कसरी दुरुपयोग हुन्छ र गर्छन् भनेर बुझ्न घोराहीको रामपुर पुगेर भैंसी गोठ हेरे पुग्छ।

संविधान निर्माणका लागि भनेर दङ्गाली जनताले जिताएर पठाएकी जनप्रतिनिधि सुशीला चौधरीलगायतको साँठगाँठमा विद्यालय भवन निर्माण गर्ने नाममा ‘भैंसी गोठ’ बनाएको पाइएको छ। २० लाख रुपैयाँ हालेर बनाइएको उक्त भवनमा विद्यार्थी हैन भैंसी बस्ने गरेको पाइन्छ। स्वास्थ्य लाइभले स्थानीयहरूसँग कुरा गर्दा उक्त बजेट सुशीला चौधरीले हालेको जानकारी दिए।

दोस्रो संविधानसभाको निर्वाचनमा दाङ क्षेत्र न. २ मा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएकी सुशीला चौधरीले दाङमा २० लाख रुपैयाँ स्वाहा पारेको देखिन्छ। सांसद विकास कोष भनेर चिनेने कार्यक्रमबाट स्वर्गद्वारी गुठीको जग्गामा भवन निर्माण गरेर भैंसी बाध्ने र भैंसीले खाने पराल राख्ने ठाउँ बनाइएको छ।

घोराही उपनगरपालिका वडा नम्बर २ रामपुर (साविक रामपुर गाविस)मा पर्ने गंगा माध्यामिक विद्यालयलाई देखाएर स्वर्गद्वारी आश्रमको आधा बिगाहा जग्गा कब्जा गरेर राज्यकोषको चरम दुरुपयोग गरेको भेटिएको हो। स्वर्गद्वारी आश्रमसँग सहमति र स्वीकृति नै नलिई स्वर्गद्वारीको जग्गामा १ तले भवन खडा गरिएको छ। १० कोठे उक्त भवन अहिले भैंसी गोठमा परिणत भएको भेटिएको हो।

राज्यको ढुकुटीबाट २० रूपैयाँ खर्चेर बनाइएको उक्त भवन न त शैक्षिक प्रयोजनका लागि प्रयोगमा आएको छ। न त आउने अवस्थामा छ। न त स्वर्गद्वारी आश्रमले विद्यालयको नाममा जग्गा नै दिएको छ। यस्तो अवस्थामा सांसद विकास कोषको नाममा राज्यकोषको २० लाख रुपैयाँ रकम हानीनोक्सानी पुऱ्याउने काम भएको पाइन्छ। २०७२/७३ मा २० लाख रुपैयाँ हालेर बनाइएको उक्त संरचना अहिले ‘भैंसी गोठ’ बनेको हो।

यसअघिको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. २ (१)को प्रदेशसभा सदस्यमा शंकर पोखरेलसँग हारेका कमलकिशोर घिमिरेले उपभोक्ता समितिमा ‘डमी’ अध्यक्ष राखेर स्वर्गद्वारीको जग्गामा राज्यकोषको रकम दुरुपयोग गर्न लगाएको स्थानीयहरू सुनाउँछन्। राज्यकोषको बजेट उपभोक्ता समिति बनाएर बालुवामा पानी हाले सरह गरेको पाइन्छ।

स्कुलको नाममा नरहेको जग्गामा स्कुल बनाउन बजेट हाल्नु नै भ्रष्टाचारजन्य कार्य हो। स्वर्गद्वारी आश्रमको जग्गा खान कै लागि यो प्रपञ्च रचिएको स्थानीयहरू दाबी गर्छन्। योभन्दा ठूलो राज्यकोषको रकम दुरूपयोग हानीनोक्सानी पुऱ्याउने काम अर्को हुन सक्दैन। स्वर्गद्वारीको जग्गा हडपेर लाभ लिन खोज्नेहरू नै राज्यकोषको रकम दुरुपयोग गर्न सफल भएका छन्। उक्त ‘भैंसी गोठ’ प्रकरणमा प्रत्यक्ष वा परोक्ष संलग्न रहेरका व्यक्तिहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीधै भ्रष्टाचार मुद्दा लगाइदिए हुने देखिन्छ। उक्त भैंसी गोठ प्रोजेक्ट ‘भ्रष्टाचार’को पनि नमूना हो।

क्याटेगोरी : समाचार
ट्याग : #कमलकिशोर घिमिरेले, #गंगा माध्यमिक विद्यालय, #भैंसी गोठ, #रामपुर दाङ, #सुशिला चौधरी, #स्कुलका नाममा भैंसी गोठ, #स्वर्गद्वारी आश्रम

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ