प्रतिरोधी रोगसँगको लडाइँ: राप्तीको अभियान, महिलाको अगुवाइ


दाङ । एण्टिमाइक्रोबियल रेसिस्टेन्स (AMR) अर्थात् औषधिहरूको प्रभाव नचल्ने प्रतिरोधी रोगजन्य जीवहरूको बढ्दो संकटसँग जुध्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङको घोराहीमा एक विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको विशेष आकर्षण भनेको महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय उपस्थिति र सक्रिय सहभागिता रहनु हो, जसले अब समुदायस्तरमा सचेतना फैलाउने अभियानलाई गति दिनेछ।

कार्यक्रमका प्रमुख अतिथि तथा उपकुलपति डा. बिकास लामीछानेले औषधिको दुरुपयोगले भविष्यमा सामान्य रोगहरूमासमेत औषधि काम नगर्ने भयावह अवस्था सिर्जना हुन सक्ने चेतावनी दिए। “एएमआर केवल अस्पताल र चिकित्सकहरूको विषय होइन,” उनले भने, “यो वातावरण, पशुपालन, कृषि, औषधि नीति र हाम्रो दैनिक व्यवहारसँग गहिरो रूपमा जोडिएको अन्तर–क्षेत्रीय संकट हो।”

स्वागत मन्तव्य दिँदै अस्पतालका निमित्त निर्देशक प्रा. डा. जनार्दन पन्थिले महिला स्वयंसेविकाहरूलाई ‘घर–घरको स्वास्थ्यदूत’को रूपमा चित्रण गरे। “स्वास्थ्यको सुरुआत घरबाट हुन्छ, र महिलाहरू त्यसको केन्द्रमा छन्,” उनले भने, “सचेत व्यवहार सिकाउने र सन्देश पुर्‍याउने कार्यमा उनीहरूको भूमिका अत्यन्तै प्रभावकारी छ।”

प्रशिक्षण सत्रमा फार्माकोलोजी विभागका उप–प्राध्यापक डा. उत्सब चापागाईं र माइक्रोबायोलोजी विभागका लेक्चरर डा. अभिषेक कर्माचार्यले AMR को वैज्ञानिक पक्ष, औषधिको असर घट्ने कारण, र जिम्मेवार औषधि प्रयोगका उपायबारे सरल र व्यवहारिक जानकारी प्रस्तुत गरे।

कार्यक्रमको अध्यक्षता गरेका फार्माकोलोजी विभागका प्रा. डा. बिनय श्रेष्ठले महिला स्वयंसेविकामार्फत समुदायमा प्रत्यक्ष रुपमा सन्देश पुर्‍याउन सकिने उल्लेख गर्दै यस्तो सचेतना अभियानले दीर्घकालीन सकारात्मक असर पार्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रतिष्ठानका प्राध्यापक, चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, फर्मासिष्ट, नर्सिङ विद्यार्थी, महिला स्वयंसेविका तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रम सञ्चालन फर्मासिष्ट दिलकिरण परियारले गरेका थिए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ