ओली सरकारले बरियता मिचेर सचिव बनाएका भेटुवाल सेवानिवृत्त हुनेबित्तिकै रास्वपाको सल्लाहकार
	
                                            काठमाडौं। केपी शर्मा ओली नेतृत्वको सरकारले बरियता मिचेर सचिवमा बढुवा गरेका मधुप्रसाद भेटुवाल सेवानिवृत्त हुनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सल्लाहकार बनेका छन्। ओली सरकारले दिनानाथ मिश्रलाई दुई-दई पटक अन्याय गर्दै भेटुवाललाई प्राविधि सचिव बढुवा गर्ने निर्णय गरेको थियो। सचिवबाट अवकाश पाएको दुई महिना पनि नबित्दै उनी रास्वपाको सल्लाहकार बनेका हुन्।
रास्वपाले पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा नेपाल सरकारका पूर्वसचिव देवेन्द्र कार्की, सुशीलचन्द्र तिवारी र मधुप्रसाद भेटुवाललाई मनोनीत गरेको हो। उनीहरूमध्ये भेटुवाल बरियता मिचेर पाँच महिने सचिव भएर हालै घर गएका हुन्।
वरिष्ठताका आधारमा सचिव बढुवा गरिएको भए भेटुवाल सचिव नै हुन नपाई सेवानिवृत्त (घर जाने) थिए। मिश्रलाई दोस्रोपटक पनि अन्याय गरेर सचिव बनाइएका भेटुवाल पार्टीको सल्लाहकार बन्न पुगेका छन्। २०८१ पुस १० गते नेपाल सरकारको सचिवमा बढुवा भएका भेटुवाल २०८२ जेठ ५ गते सरकारी सेवबाट अवकाश भएका थिए। सेवानिवृत्त भएको दुई महिना पनि बित्न नपाउँदै उनी राजनीतितिर लागेका छन्।
सेवानिवृत्त भएका अथवा राजीनामा दिएका सहसचिव, सचिव र मुख्यसचिवलाई संवैधानिक, राजनीतिक र कूटनीतिक नियुक्तिमा ‘कुलिङ पिरियड’ लगाउनु पर्ने चर्को बहस भइरहेको छ। ‘कुलिङ पिरियड’ छेडखानीमा संसदीय विशेष छानबिन समिति पनि बनाइएको छ। तर, सेवानिवृत्त भएका सचिवहरूलाई तात्तातै राजनीतिक दलमा आबद्ध हुन भने कुलिङ पिरियड लगाएको पाइँदैन। भेटुवाल प्रकरणले राजनीतिक दलमा आबद्ध हुन पनि कुलिङ पिरियड लागू गर्नुपर्ने आवश्यकता देखिन्छ।
ट्याग : #देवेन्द्र कार्की, #मधुप्रसाद भेटुवाल, #रास्वपा ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकार, #सुशीलचन्द्र तिवारी

				
				
				
				
				
				
				
				
            
            
            
            
            
            
तपाईको प्रतिक्रिया दिनुहोस