स्वर्गद्वारी जान बास बस्ने स्थान हेरेर किनिएका जग्गाहरू

काठमाडौं। स्वर्गद्वारी मन्दिर (वैदिक अखण्ड महायज्ञ स्थल) पुग्नका लागि स्वर्गद्वारी आश्रमले विभिन्न ठाउँमा जग्गा किनेको देखिन्छ। स्वर्गद्वारी आश्रमका नाममा रहेका ती जग्गाहरू एउटा आश्रममा बसेर भरियाहरू अर्को स्थानमा बास बस्न मिल्ने गरी किनेको पाइन्छ। ती आश्रमहरू स्वर्गद्वारी जाने तीर्थयात्रीले पनि प्रयोग गर्दै आएका थिए। अहिले भने ती आश्रममा भरिया पनि बस्दैन तीर्थयात्री पनि भेटिदैनन्।
दाङको घोराहीको झिगौंरा र रामपुर (पलासे)मा स्वर्गद्वारी आश्रम रहेको छ। लमहीको चैलाही, बनगाउँ, मजगाउँ, अर्नहवामा उत्पादन भएका चिजहरू स्वर्गद्वारी लाँदा आफ्नै आश्रम रामपुरमा बास बस्ने गरी जग्गा जोडेर आश्रम बनाइएको छ।

रामपुर र आसपासको क्षेत्रमा मात्र करिब २ सय बिगाहा जग्गा स्वर्गद्वारी आश्रमका नाममा रहेको पाइन्छ। टरीगाउँ, नैनवार, उच्चानिम्बु, ढोडेनी र झिगौरामा उत्पादन (धान, तोरीलगायतका अन्नबाली) जम्मा गर्ने गरी झिगौरामा अर्को आश्रम रहेको छ। उक्त आश्रमबाट रामपुर, हर्नक, टारा (अरुण खोला) हुँदै स्वर्गद्वारी पुग्ने गरी जग्गाको व्यवस्थापन गरिएको देखिन्छ।

बनगाउँ आश्रममा उच्चानिम्बु, चैलाही, अर्नहवा, बनगाउँ र मझगाउँको अन्नपात (आम्दानी) जम्मा हुने गर्थ्यो। झिगौरा र ढोडेनीमा स्वर्गद्वारा आश्रमको २ सय बिगाहा जमिन छ। टरीगाउँ र ढोडेनीको उत्पादन भएको अन्न झिगौरा आश्रममा जम्मा गरिँदै आएको थियो। पलासे आश्रममा रामपुर क्षेत्रको उत्पादन संकलन हुने गरेको थियो। हर्नक आश्रममा उत्पादन हुने कृषिबस्तु हर्नक आश्रममै जम्मा हुँदै आएको थियो। हर्नकमा स्वर्गद्वारी आश्रमको ५ बिगाहा जमिन छ।

प्युठानको बाह्रबिसेमा उत्पादन भएको कृषि सामग्री बाह्रबिसे आश्रममै संकलन हुने र टारा (अरुण खोला)मा उत्पादन हुने खाद्यान्न टारा आश्रममै जम्मा हुने गर्छ। बाह्रबिसेमा ४५ रोपनी र प्युठान, रोल्पा र दाङ सीमानामा रहेको टारा (अरूण खोला)मा ९५ रोपनी जग्गा स्वर्गद्वारी आश्रमको नाममा रहेको छ।
दाङका रहेका जग्गाहरू स्वर्गद्वारी महाप्रभुले झोलीको पैसाले आश्रमको निजी सम्पत्तिको रुपमा किनेका हुन्। कतिपय जग्गाहरू त ऋण लिएर समेत किनेको पाइन्छ। ती जग्गाहरू अखण्ड महायज्ञ नरोकियोस् र तीर्थयात्रीलाई भोजन गराउन सहज होस् भन्ने उद्देश्यले खरिद गरिएको बताइन्छ।

झिगौरा, रामपुर, हर्नक र टारा आश्रम त स्वर्गद्वारी जाने तीर्थयात्रीका लागि समेत बासस्थानका रूपमा प्रयोग हुने गर्थे। कोही तीर्थयात्री झिगौरा वा रामपुर (पलासे)मा बास बसेर स्वर्गदारी दर्शन गर्न पुग्थे। कोही तीर्थयात्री हर्नक आश्रम त कोही टारा आश्रममा बसेर स्वर्गद्वारी पुगेर दर्शन गर्ने गर्थे। ती आश्रमहरूमा माहत्माहरूनै बस्ने गरेका थिए।

अहिले गाडीको सुविधा भएकाले तीर्थयात्रीहरू ती आश्रममा बस्दैनन्। मोहीले जग्गाको कुत समेत नबुझाउने भएकाले कृषि उत्पादन पनि जम्मा हुन छाडेको छ। आश्रम आफैले गरेको खेतीको अन्न पनि मालबाहक गाडीबाट सीधै महाप्रभुको तपस्यास्थल तथा अखण्ड महायज्ञस्थल स्वर्गद्वारी पुग्छ। अहिले ती आश्रममा गाई र आश्रमको रेखदेख गर्ने मान्छे मात्र रहेका छन्। स्वर्गद्वारी आश्रमको जग्गामा भूमाफियाको गिद्दे नजर लागेको छ। भूमाफियाबाट ती जग्गाहरू जोगाउने विषय निकै पेचिलो र चुनौतीपूर्ण बन्दै गएको पाइन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #झिंगौरा, #टारा, #बाह्रसिसे, #रामपुर पलासे, #स्वर्गद्वारी गुठी, #हर्नक
तपाईको प्रतिक्रिया दिनुहोस