जेलबाट छुट्नेबितिकै चुडामणिलाई लोक सेवा पढाउन हतार

काठमाडौं। भ्रष्टाचार मुद्दामा जेल बसेका चूडामणि शर्मा सर्वोच्च अदालतको फैसलापछि जेलमुक्त भएका छन्। कर फर्स्योट आयोगमा विशेष अदालतले शर्मालाई दोषी ठहर गर्ने गरी गरेको फैसला त्रुटिपूर्ण भन्दै सर्वोच्च अदालतले बदर गरिदिएपछि उनी जेलबाट निस्किएका थिए। जेलबाट बाहिर आउनेबित्तिकै शर्मा लोक सेवा खेतीमा लागेका छन्।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले राजस्व चुहावटको मुद्दामा शर्मालाई दोषी ठहर गरेकाे थियो। कर फर्स्योट आयोगमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका शर्मालाई विशेष अदालतले ९ वर्ष कैद र चार अर्ब १० करोड रुपैयाँभन्दा बढी जरिवाना हुने फैसला गरेको थियो। उक्त फैसलालाई सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले बदर गरेर विशेष अदालतमै फेरि सुनुवाईका लागि पठाइदिएको छ।
सर्वोच्च अदालतको उक्त फैसलापछि जेलबाट रिहा भएका शर्मा अहिले ओटिसको लोक सेवा पढाउन सक्रिय भएका छन्। बुधबार समेत उनको ओटिसमा अभिमुखीकरण कक्षा रहेको पाइन्छ।
ओटिसको सूचनामा भनिएको छ, ‘प्रतिष्ठित प्रशिक्षक चुडामणि शर्माद्वारा लोक सेवा आयोग अन्तर्गत शाखा अधिकृतको नजिकिदै गरेको परीक्षालाई मध्यनजर गर्दै ओटिसमार्फत यहिँ असार ३२ गते विहान ७ बजे १५ दिने (लेखनसीप) कमाण्डो कक्षाको अभिमुखीकरण कक्षा सञ्चालन हुन गईरहेको छ!’, जेलबाट हालै बाहिर आएका शर्माले ३ घण्टा कक्षा लिने ओटिसले जनाएको छ।
भ्रष्टाचारमा डामिएका चूडामणिले लिएको शाखा अधिकृत १५ दिने लेखसीप कमाण्डो तथा अभिमुखीकरण कक्षाबाट के सिक्छन् त्यो आफैंमा विचारणीय कुरा हो। उनले भ्रष्टाचार मुद्दाबाट पूर्ण रूपमा सफाइ पाइसकेका छैनन्। उनीविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छ। शर्माको कक्षामा सहभागी भएर सरकारी सेवामा प्रवेश गरेका कर्मचारीले कस्तो आचरण प्रस्तुत गर्लान् त्यो पनि सोचनीय विषय हो।
प्रस्तावित संघीय निजामती सेवा ऐनमा कर्मचारीलाई लोक सेवा पढाउन रोक लगाएको छ। उक्त कानुन तत्काल पास भएर लागू भए धेरैको ‘दोकान’ सुक्ने अवस्था आउँछ। भ्रष्टाचार मुद्दा लागेका कर्मचारी लोक सेवा गुरू हुञ्जेलसम्म मुलुकमा भ्रष्टाचारले पश्रय पाउँछ। सरकारी सेवामा थप चूडामणि शर्माहरू थपिन्छन्।
क्याटेगोरी : समाचारट्याग : #ओटिस, #चूडामणि शर्मा, #लोक सेवा कक्षा
तपाईको प्रतिक्रिया दिनुहोस