डेङ्गी नियन्त्रणका लागि साउनलाई ‘सचेतना महिना’ घोषणा, समुदायको सक्रियता आवश्यक: स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा तीव्र रुपमा फैलिएको डेङ्गी नियन्त्रण गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनालाई ‘डेङ्गी सचेतना महिना’का रूपमा मनाउने घोषणा गरेको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका माध्यमबाट मन्त्रालयले समुदायको सक्रिय सहभागिता, स्थानीय सरकारहरूको संयोजन र सबै सरोकारवाला निकायबीचको सहकार्यबाट मात्रै संक्रमण दर घटाउन सकिने स्पष्ट पारेको छ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डिल्लिराम शर्माले
विश्वव्यापी रूपमा डेङ्गी संक्रमणको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै भने, “यो रोगको पीडा परिवारका लागि अत्यन्तै दर्दनाक र समाजका लागि दीर्घकालीन असर पार्ने भएकाले सबै तहका सरकार, समुदाय र जनताले मिलेर नियन्त्रणमा लाग्नुपर्छ।”
स्वास्थ्य सेवा विभागका महानिर्देशक टङ्कप्रसाद बाराकोटीले सरकारी तथ्यांक प्रस्तुत गर्दै भने, सन् २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढी व्यक्तिहरूमा डेङ्गी संक्रमण भएको थियो भने ११ हजारभन्दा बढीको मृत्यु भएको थियो। यस्तै सन् २०२५ को मे महिनासम्ममा मात्रै ३३ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
प्रदेश सरकारका मन्त्री, विभिन्न प्रदेशका स्वास्थ्य अधिकारी तथा सरोकारवालाहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा मान निर्देशक बाराकोटीले डेङ्गी नियन्त्रणका लागि पूर्वतयारी, जनचेतना, नियमित सरसफाइ तथा लामखुट्टे नष्ट गर्ने गतिविधिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
नेपालमा डेङ्गीको अवस्था
नेपालमा डेङ्गी पहिलो पटक सन् २००२ मा चितवनमा एक विदेशी नागरिकमा पुष्टि भएको थियो। त्यसपश्चात् सन् २००६ मा पहिलोपटक प्रकोपको रूपमा देखा परेको हो। २०७४ सालपछि देशका विभिन्न क्षेत्रमा छिटपुट रूपमा देखा पर्दै आएको डेङ्गी संक्रमण २०७९/८० सालपछि व्यापक रूपमा फैलिएको देखिन्छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, २०८१/०८२ सालमा मात्रै जेठ महिनासम्म ५० हजारभन्दा बढी संक्रमित भएका थिए र उनीहरुमध्ये १५ जनाको मृत्यु भइसकेको छ। मुख्यतया साउन महिनाबाट संक्रमण तीव्र हुने भएकाले मन्त्रालयले साउनलाई सचेतना महिना मनाउने निर्णय गरेको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताए ।
किन साउन महिना?
कार्यक्रममा मन्त्रालयले साउन महिनामा नै सचेतना अभियान सञ्चालन गर्नुको औचित्य प्रस्तुत गर्दै भन्यो, “सामुदायिक परिचालन र लामखुट्टेको प्रजनन स्थल नष्ट गर्न सक्ने क्षण यही हो।”
स्वास्थ्य मन्त्रालयले एडिज जातको लामखुट्टेको जीवन चक्रको ८०% समय पानीमा अण्डा, लार्भा र प्युपा अवस्थामै हुने भएकाले लामखुट्टे नष्ट गर्नेभन्दा पनि प्रजनन स्थल खोजेर नष्ट गर्नुपर्नेमा जोड दिएको छ।
“यो अभियान एकपटक गरेर पुग्दैन, नियमित रूपमा निरन्तर गर्नुपर्ने अभियान हो,” मन्त्री पौडेलले भने।
अभियानमा बहु-क्षेत्रीय साझेदारी आवश्यक
स्वास्थ्य, शिक्षा, निजी क्षेत्र, सहरी विकास, खानेपानी, सञ्चारजस्ता निकायहरूलाई अभियानमा सक्रिय संलग्न गराई जनशक्तिको परिचालन तथा सामाजिक उत्तरदायित्व सुनिश्चित गर्नुपर्ने सुझाव छ।
स्वास्थ्य मन्त्रालयले सबै सार्वजनिक निकाय तथा कार्यालयहरूलाई लामखुट्टे प्रजननस्थल नष्ट गर्न, जोखिमसम्बन्धी सूचना समुदायमा पुर्याउन, सूचना सामग्री उत्पादन तथा वितरण गर्न र सामाजिक सञ्जालमार्फत दैनिकरूपमा जनचेतना फैलाउन निर्देशन दिएको छ।
क्याटेगोरी : जीवनशैली, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस