१३७ दिनको झोक विदा पछि डा. संगीता फेरि सेवामा फर्किने तयारी गर्दै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव बन्न नपाएको झोकमा मन्त्रालय नआइ १३७ दिन बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्र अब फेरि सेवामा फर्किने तयारीमा छिन्।
साउन १० गतेसम्मको विदा अवधि सकिन लागेपछि उनले मन्त्रालयमा आफू सेवामा फर्कन लागेको सन्देश आफ्ना दूतहरू मार्फत पठाएको बुझिएको छ। केही दिन यता
संगीताले खुसुखुसु ड्राइभरलाई गाडी मगाएको बुझिएको छ। तर मन्त्रालयले तेल भने दिएको छैन।
स्वास्थ्य सचिव बन्ने प्रमुख दावेदारमध्ये रहेकी डा. संगीता मिश्रलाई बढुवा समितिले वरीयताका आधारमा शीर्ष स्थानमा राखेको थियो। तर, मन्त्रिपरिषद्ले गत फागुन २१ गते उनीभन्दा जुनियर डा. विकास देवकोटालाई सचिव नियुक्त गरेपछि उनले सरकारविरुद्ध अदालतमा मुद्दा दायर गरिन्। त्यसयता उनी कहिले पर्व बिदा त कहिले घरबिदाका नाममा निरन्तर बिदामा बस्दै आइन्।
१३७ दिन लामो झोक विदा
डा. मिश्रले अहिलेसम्म ८ पटक गरेर १३७ दिनको बिदा लिएकी छन् ।
यस्तो छ बिदाको अवस्था
1 २०८१/११/२५ – २०८१/१२/०१ ७ दिन
2 २०८१/१२/०३ – २०८१/१२/०४ २ दिन
3 २०८१/१२/०५ – २०८१/१२/०८ ४ दिन
4 २०८१/१२/१० – २०८१/१२/१५ ६ दिन
5 २०८१/१२/१७ – २०८१/१२/३१ १५ दिन
6 २०८२/०१/०२ – २०८२/०१/३१ ३० दिन
7 २०८२/०२/०१ – २०८२/०३/०६ ३८ दिन
8 २०८२/०३/०८ – २०८२/०४/१० ३५ दिन
जम्मा — १३७ दिन
‘गुलियो’मा भुलाउँदै वकिल, सचिव बन्ने झिनो आशा
हाल डा. संगीता सरकारविरुद्ध दायर गरेको मुद्दाकाे अझै न्यायिक अन्तिम किनारामा पुगेको छैन। तर, उनका वकिलहरूले “जसरी पनि जिताइदिन्छौं” भन्दै उनलाई ढाडस दिइरहेका छन्। मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, यसै भरोसामा उनी सचिव बन्ने झिनो आशामा रहेकाे देखिन्छ। तर, सरकारले सचिव नियुक्ति गरिसकेका कारण त्यो सम्भावना समाप्त भइसकेको छ।
नेतृत्व अभावले मन्त्रालयमा सुस्ती
हाल स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव सकृय नभएका कारण धेरैजसो निर्णय, समन्वय र द्रुत कार्यान्वयनमा सुस्ती देखिएको छ। मन्त्रालयको रणनीतिक निर्णयमा गति दिनुपर्ने जिम्मेवारीमा रहेका अतिरिक्त सचिवको सक्रियता कमजोर हुँदा मन्त्रालय नै सुस्ताएको अनुभूति हुन थालेको स्रोतहरू बताउँछन्।
यस्तो अवस्थामा डा. संगीता मिश्रको पुनरागमनले स्वास्थ्य मन्त्रालयलाई फेरि लयमा फर्काउने अपेक्षा गरिएको छ। अनुभव, ऊर्जा र निर्णय क्षमतासमेत भएकी मिश्र फर्किएपछि मन्त्रालयमा नेतृत्वको खाडल केही हदसम्म पुरा हुने विश्वास व्यक्त गरिएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस