दान दिए भगीरथाले, नाम राखे ओलीले

काठमाडौं । “यो नाम राख्न मैले नै भनेको हुँ।” गत शनिबार झापाको बुद्धशान्ति गाउँपालिकामा निर्मित आधारभूत अस्पतालकाे शिलालेख अनावरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले स्वास्थ्य मन्त्रालयको जग हल्लियाे।
१० कराेड खर्च गरेर १५ बेडको आधारभूत अस्पताल बनाउने जमिन भागिरथा न्यौपानेले दान गरिन्, त्यसको बदला अस्पतालकै नाममा ‘भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल’ राखियो। प्रधानमन्त्रीकै प्रस्तावमा मन्त्रिपरिषदले स्वीकृति दियो। अनि, ओली आफैले उद्घाटन पनि गरिदिए- फोटो, माला र तालीसहित।
यसअघि पटकपटक प्रयास गर्दा पनि अस्पतालको नाम दाताको नाममा राख्ने काम अघि बढ्न सकेको थिएन। स्वास्थ्य मन्त्रालयले नामले दुरुपयोग बढ्ने भन्दै स्पष्ट रुपमा व्यक्तिको नाम जोडेर अस्पतालको नामकरण गर्नु नमिल्ने बताउँदै आएको थियो।
“न त कानुनले छुट दिन्छ, न राम्रो अभ्यास हो यो। सालिक वा धन्यवादपत्रमै सीमित गरौँ भनेका थियौँ,” मन्त्रालयका नीति, याेजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पाैलले गुनासो गरे, “तर प्रधानमन्त्री आफैले जब ‘नाम राख्न मैले भनेको’ भन्नुभयो, हामी चुपचाप बस्नुबाहेक केही गर्न सकेनौँ।”
मन्त्रालयका अनुसार देशभरका अधिकांश आधारभूत अस्पतालका जग्गा दानबाट संकलन गरिएका छन्। “भोलि सबै अस्पतालमा दाताको नाम राख्न थालियो भने के अस्पताल सेवा केन्द्र बन्छ त, कि नामको सजावट घर?” अर्का एक अधिकारीले थपे। स्वास्थ्य मन्त्रालयले तीन वर्षअघि नै ‘आधारभूत अस्पतालहरूलाई एउटै ढाँचामा नामकरण गरौं’ भन्दै मन्त्रिपरिषद्मा प्रस्ताव समेत पठाएको थियो। तर, त्यो प्रस्ताव अलपत्र छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस