बिचौलियाले काउन्सिललाई गुमरामा राख्दै किर्ते कागजमार्फत चिकित्सक दर्ता मागेको आशंका, CIB मा छानबिन हुँदै


काठमाडौं । एक व्यक्तिले बिचाैलियाकाे “बुई” चढेर नेपाल मेडिकल काउन्सिलको लोगो, लेटरप्याड र रजिष्ट्रारको हस्ताक्षर दुरुपयोग गरी झुटो प्रमाणपत्र बनाएर चिकित्सकको रूपमा दर्ता हुन खोजिएको खुलासा भएको छ।

१४ पटकसम्म लाइसेन्स परीक्षा फेल भएका सीडी भुसाल नामक व्यक्तिले पुतलीसडकस्थित ‘स्पिड इन्टरनेसनल’ का मिलन ज्ञवालीको मिलेमतोमा किर्ते प्रमाण तयार गराएको आशंका छ। घटनाबारे काउन्सिललाई गुमरामा राख्दै उनीहरूले झुटो ‘पास’ देखाएर दर्ता प्रयास गरेकाे पाइएपछि उक्त विषय छानवीनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) सम्म पुगेको हो।

काउन्सिलका रजिष्ट्रार डा. सतिश देवका अनुसार पेश गरिएको प्रमाणमा प्रयोग भएको लेटरप्याड, लोगो र हस्ताक्षर सबै नक्कली हुन्। “सिस्टमअनुसार उनी अझै फेल छन्,” डा. देवले बताए, “कपि पटक-पटक” जाँच गरे पनि पास हुने सम्भव छैन।”

काउन्सिल स्रोतका अनुसार, रजिष्ट्रारलगायत पदाधिकारीलाई जानकारी नदिई बिचौलियाको संलग्नतामा प्रमाणपत्र बनाइएको छ। संस्थाको कुनै संलग्नता नरहेको भन्दै बोर्ड बैठकले आधिकारिक रूपमा छानबिनको निर्णय गरिसकेको छ र CIB लाई पत्राचार गरिएको छ।

कसरी गरियो किर्ते ?

चीनको डाली युनिभर्सिटीबाट एमबीबीएस गरेका भुसालले बारम्बार फेल भएपछि बिचाैलिया मिलन ज्ञवालीमार्फत रि–टोटलिङको प्रयास गरेका थिए। उनीहरूले बनाएको झुटो पास प्रमाणलाई आधार मानी काउन्सिलमा लाइसेन्स दर्ता माग गर्दै निवेदन समेत दिएका थिए।

भुसालले विभिन्न उजुरी र कागजातमा ज्ञवालीकै सहयोगमा प्रमाण तयार गरेको स्वीकारेका छन्। उनले निवेदनमा काउन्सिल अध्यक्ष डा. चोपलाल भुसालले सहयोग नगरेको आरोपसमेत लगाएका छन्। स्रोतहरू भन्छन् — “यो नियोजित आरोप हो, जसको लक्ष्य रजिष्ट्रारलाई फसाउने र नेतृत्वमाथि संदेह खडा गर्नु हो।”

बिचौलिया र प्रणालीमाथि प्रश्न

स्पिड इन्टरनेसनलका मिलन ज्ञवाली विगतमा पनि यस्ता विवादमा मुछिँदै आएका छन्। यसपटक उनले ठगीकै आशयले झुटो पास बनाएर पेश गरेको र केही रकम पनि लिएको प्रारम्भिक सूचनामा उल्लेख छ। स्वास्थ्य लाइभकाे फाेन सम्पर्कमा ज्ञवाली आउन चाहेनन् ।

काउन्सिलले भनेको छ, “हाम्रो प्रणाली सुरक्षित छ भन्नेमा विश्वस्त छौं। पास नगरेकालाई कसैले पास बनाइदिएर लाइसेन्स दिने कुरा सम्भव छैन।” यो घटनाले चिकित्सा शिक्षामा बिचौलिया प्रभाव, विद्यार्थी ठगी र प्रणालीमाथिको विश्वासमाथि प्रश्न उठाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ