युएईका राजदूत तेजबहादुर क्षेत्री मेनपावरको ‘एजेन्ट’ बनेको आरोप


काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित नेपाली आवासीय राजदूत तेजबहादुर क्षेत्रीमाथि केही मेनपावरको ‘एजेन्ट’ बनेको आरोप लागेको छ। रोजगार दाताले अरू मेनपावरमा पठाइएको कामदारको माग (डिमाण्ड) निश्चित मेनपावरलाई दिन लबिइङ गरेको राजदूत क्षेत्रीमाथि आरोप लागेको हो। आर्थिक चलखेलका आधारमा अन्य मेनपावरमा आएको ‘डिमाण्ड’लाई ‘डाइभर्ट’ गरेर शिखर मेनपावर, कन्फिडेट मेनपावर र स्टार मेनपावरलाई दिलाउन राजदूत क्षेत्रीले भूमिका खेल्दै आएको आरोप लागेको छ। ती मेनपावरको एजेन्डा बनेर ‘डिमाण्ड’मा चलखेल गरेको उनीमाथि गम्भीर आरोप लागेको हो।

राजदूतले नेपाली नागरिक र कामदारको हकहितमा काम गर्नुपर्ने हो। तर, युएईका राजदूत क्षेत्रीले उक्त देशका विभिन्न रोजगारदाता कम्पनीहरूबाट नेपालका मेनपावरमा आउने कामदारको ‘डिमाण्ड’लाई आर्थिक चलखेलका आधारमा निश्चित मेनपावरमा पठाउन ‘लबिइङ’ गरेको पाइन्छ।

क्षेत्रीले महिलामाथि दुर्व्यवहार गरेको भनेर संसदीय सुनुवाई समितिमा उजुरी परेको थियो। तर, संसदीय सुनुवाई समितिले उनलाई सहजै अनुमोदन गरिदियो। क्षेत्री राजदूत भएर गएपछि युएईस्थित नेपाली आवासीय राजदूतावासका सबै कर्मचारीलाई उनीसँग काम गर्न नसक्ने भनेर हस्ताक्षरसहित परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाए। त्यसपछि राजदूत क्षेत्रीले माफी मागेको दूतावासका कर्मचारीहरू बताउँछन्। परराष्ट्र मन्त्रालयले विवादित राजदूत क्षेत्रीको विषयमा परेको उजुरी गुपचुप पारेको मन्त्रालय स्रोतले बतायो।

यता प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले क्षेत्रीले नेतृत्व गरेको युएईस्थित नेपाली राजदूतावासमाथि गम्भीर आरोप लगाएको छ। दूतावासको श्रम शाखामा बढ्दो लापरबाही, ढिलासुस्ती, अन्यायपूर्ण व्यवहारप्रति मञ्चले गम्भीर आपत्ति जनाएको हो। निश्चित गिरोहले ‘एप्रुभल’ प्रक्रिया नै कब्जा गरेको मञ्चको आरोप छ। राजदूत नै निश्चित मेनपावरको ‘एजेन्ट’ जसरी प्रस्तुत हुने र प्रक्रिया नै उक्त गिरोहले कब्जा गर्न थालेपछि दूतावासमाथि समेत आक्षेप लाग्न थालेको हो। तर, परराष्ट्र मन्त्रालय उक्त विषयमा ‘मौनधारण’ गरेर बसेको छ।

तत्कालीन परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीको निजी सचिव हुँदा क्षेत्रीको ‘लबिइङ’ संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको ओएन्डएम हेर्ने सहसचिव बाबुराम अधिकारी ( हाल लुम्बिनी प्रदेशका प्रमुख सचिव)लाई श्रीमतीसहित अमेरिका फ्रान्स जर्मनी बेलायत घुमाएर ल्याएपछि सहसचिव दरबन्दी थपाएर सहसचिव बढुवा भएका थिए। अंग्रेजी भाषामा कमजोर पकड भएका क्षेत्री युएईको राजदूत भएर गएपछि देशको हित प्रवर्द्धन गर्न लाग्नु पर्नेमा मेनपावरको व्यवसाय प्रवर्द्धन गर्न लागिपरेको आरोप लागेको छ। यो विषयमा परराष्ट्र मन्त्रालय छानबिन गर्छ कि दूतावासका कर्मचारीले हालेको उजुरी जस्तै गुपचुप पार्छ हेर्न बाँकी छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #नेपाली राजदूतावास अबुधाबी युएई, #राजदूत तेजबहादुर क्षेत्री युएई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ