भाइरल लोड परीक्षण ठप्प
खरिद जिम्मा UNDP को, अनुरोध SR सँग: ‘योगीको घरमा संन्यासी पाहुना’को कथा!

काठमाडौं । नेपालमा एचआइभी संक्रमितहरूको उपचार प्रगति मापन गर्न अनिवार्य मानिने भाइरल लोड परीक्षण पूर्ण रूपमा ठप्प भएको छ। परीक्षण सामग्री नहुँदा देशभरका एआरटी केन्द्रहरूबाट सेवा अवरुद्ध भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले २ साउनमा सबै केन्द्रलाई पत्र पठाउँदै रिएजेन्ट अभावका कारण परीक्षण गर्न नसकिएको जानकारी दिएको हो।
तर अझ आश्चर्यजनक पक्ष के छ भने, सामग्री खरिदको जिम्मेवारी पाएको UNDP अहिले उल्टै Sub-Recipient (SR) संस्थाहरूलाई ती सामग्री उपलब्ध गराइदिन अनुरोध गर्दैछ। यसले ‘योगीको घरमा संन्यासी पाहुना’ भन्ने नेपाली उखान झल्काएको छ।
UNDP को जिम्मा, तर माग SR सँग
नेपालले हाल ग्लोबल फन्डको सातौँ अनुदान चक्र (२०२४–२०२७) अन्तर्गत एचआइभी, क्षयरोग (TB) र मलेरियाविरुद्धको कार्यक्रम सञ्चालन गरिरहेको छ। यस कार्यक्रमअनुसार स्वास्थ्य मन्त्रालयको तर्फबाट UNDP लाई परीक्षण सामग्री खरिदको जिम्मेवारी दिइएको हो।
प्राप्त जानकारी अनुसार, १६ जुलाईमा UNDP का एचआइभी विश्लेषक सुजन वन्तले SR संस्थाहरूलाई इमेल गर्दै १७ हजारभन्दा बढी सामग्री (ट्युब र क्रायोभायल्स) आपूर्ति गरिदिन आग्रह गरेका छन्। जबकि ती सबै सामग्री UNDP आफैंले ग्लोबल फन्डको बजेटमा खरिद गरी वितरण गर्नुपर्ने हो।
यस अनुरोधसँगै UNDP आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लाग्न थालेको छ। एक उच्च सरकारी स्रोतका अनुसार, अहिले SR संस्थाहरू नै राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (NCASC) लाई इमेल गर्दै आपतकालीन बैठक बोलाउन आग्रह गरिरहेका छन्।
‘कम प्रदर्शन’का कारण हटाइएका कर्मचारीलाई युएनडिपीकाे जिम्मेवारी?
UNDP तर्फबाट परीक्षण व्यवस्थापनमा जिम्मेवारी पाएका सुजन वन्त सेभ द चिल्ड्रेनमा कार्यरत थिए। स्रोतका अनुसार, कम प्रदर्शनका कारण त्यहाँबाट हटाइएका वन्तलाई यति संवेदनशील र रणनीतिक भूमिकामा पुनः ल्याइनु UNDP को व्यवस्थापकीय कमजोरी मानिएको छ।
‘नागरिक अधिकारको हनन हुन दिन्नौं’
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (NCASC) का निर्देशक डा. शर्वेस शर्माले भने, “नागरिकको स्वास्थ्य अधिकार कुण्ठित हुने खालका कुनै पनि लापरवाही स्वीकार्य हुँदैन। परीक्षण तत्काल सुचारु गर्ने प्रयास भइरहेको छ।”
गम्भीर असर, मौन सरोकारवाला?
यस घटनाले एचआइभी संक्रमितको उपचारलाई गम्भीर रूपमा असर गरेको छ। सयाै बिरामीको ART regime monitoring प्रभावित भएको छ भने संक्रमणकाे थप जोखिमसमेत बढेको छ। तर यस्तो गम्भीर लापरवाहीमा समेत स्वास्थ्य मन्त्रालय मौन छ । स्वास्थ्य समन्वय महाशाखाका प्रमुख र सचिवलाई यूएनडीपीले के दिएर फकाएको छ त्यो भोलिका दिनमा अवश्य खुल्ने नै छ।
जिम्मेवारी स्पष्ट, तर कार्यशैली उल्टो
UNDP लाई ग्लोबल फन्डको लाखौं डलरको स्रोतबाट खरिदको जिम्मा दिइएको छ। तर उनीहरू नै सामग्री आपूर्तिका लागि SR सँग गुहार मागिरहेका छन्। यस्तो कार्यशैलीले सरकार, दातृ निकाय र नागरिक सबैको विश्वासमाथि प्रश्न उठाएको छ। ‘योगीको घरमा संन्यासी पाहुना’ भन्ने उखान सायद यतिसारो प्रासंगिक कहिल्यै भएको थिएन।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस