नियमभन्दा शक्तिशाली साइन! – निमित्त पदमै ‘महानिर्देशक’ बने डा. यादव

काठमाडौं । नेपालको स्वास्थ्य प्रणालीमा नियमहरू भन्दा साइन शक्तिशाली देखिन थालेको उदाहरण अहिले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विभागमा निमित्त महानिर्देशकका रूपमा दशौं तहका डा. श्यामबाबु यादवलाई पठाएका छन् । तर उनले आधिकारिक पत्राचारहरूमा “महानिर्देशक” भनेर हस्ताक्षर गर्न थालेपछि बिद्वत वर्गमा प्रश्न उठ्न थालेको छ — के अब तह होइन, मन्त्रीको मनले नै निर्णय गर्छ?
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको एक वर्षको उपलब्धि भनेकै निमित्त महानिर्देशकको जिम्मा दिएर महानिर्देशक लेखाउने हो। सायद स्वास्थ्य क्षेत्रमा यो पहिलो प्रयास हो।
पाैडेलकाे नियुक्ति र यादवको दस्तखतले नियमभन्दा ठूलो ‘पद’ सिर्जना गर्यो?
स्वास्थ्य मन्त्रालयको मञ्जुरीमा यादव जस्ता दशौं तहका अधिकारीलाई निमित्त बनाइएको सन्दर्भमा मन्त्रीको चासो किन यति चर्को भयो भन्ने प्रश्न स्वाभाविक छ। महानिर्देशक पद सामान्यतया ११औं तहको पदाधिकारीले सम्हाल्ने हो।
तर, विभागमा त्यही तहका डा. प्रदीप केसी थिए, जो नियमअनुसार योग्य, कार्यसम्पादनमा सक्षम र विवादरहित थिए। उनले विभागलाई एक नयाँ उचाइमा पुर्याइरहेका थिए। तर स्वास्थ्य मन्त्री प्रदीप पाैडेलको ध्यान कार्यभन्दा पात्रमा गयो, पात्र पनि नेवि संघको ‘सुरुवाल समातेर’ उफ्रिने टाइपका कोटामा पर्ने!
के थियो हटाउने र राख्ने खेल?
विभागमा एकाएक ११औं तहका डा. केसीलाई हटाएर १०औं तहका यादवलाई राख्ने निर्णयले विवादको लहर नै निम्त्यायो। यो निर्णय व्यवस्थापकीय हो कि व्यक्तिगत वा आर्थिक चलखेलको उपज? यसबारे मन्त्रालय मौन छ।
स्वास्थ्य मन्त्रालयका अन्य निकायमा ११औं तहकै अधिकारीहरूलाई जिम्मेवारी दिइँदा यही विभागमा मात्र १०औं तहको व्यक्ति नियुक्त हुनुले यो चलखेलबिना सम्भव छैन भन्ने आँकलनलाई बल दिएको छ।
सत्ताको साइन?
सबैभन्दा ठूलो प्रश्न अहिले उठिरहेको छ — डा. यादवको दस्तखतमा ‘महानिर्देशक’ कसरी लेखियो? नेपालको प्रशासनिक संरचनामा पद, तह र अधिकारको सीमारेखा स्पष्ट छ। तर यादवले जस्तोसुकै पत्रमा “महानिर्देशक” भनेर साइन ठोक्न थालेका छन्, जुन निजामती नियमावलीको सरासर उल्लंघन हो। तर “गवार” स्वास्थ्य मन्त्रीलाई यो नियम उल्लङ्घनको विषय फिक्का छ।
स्वास्थ्य मन्त्रालय यसबारे पूरै चुप छ। यो मौनता चिठ्ठीको वैधानिकतामा होइन, राजनीतिक र आर्थिक सन्तुलनमा आधारित देखिन्छ। हुन त, मन्त्रालयभित्रका स्रोतहरू भन्छन् — “यादव मन्त्रीका मान्छे खुसी पारेर आएको हो, उसले जे साइन गरे पनि कोही केही बोल्दैन।”
के नियम अब फेसन मात्रै हो?
डा. यादवले न नियमको परवाह गरे, न तहको मर्यादाको ख्याल। आफूलाई ‘महानिर्देशक’ भनेर चिठ्ठी पठाउन नहिच्किचाउने उनको शैलीले प्रशासनिक चरित्र र जिम्मेवारीबोधमाथि ठुलो प्रश्न खडा गरेको छ।
हुन त, यस्तो प्रवृत्तिले प्रशासनमा कार्यरत इमानदार, योग्य र तहअनुसार अगाडि बढ्न खोज्ने कर्मचारीको मनोबल गिराउँछ। यसको प्रभाव दीर्घकालीन प्रशासनिक शिथिलतासम्म जान सक्छ।
एकजना योग्य, सक्षम र विवादरहित ११औं तहका अधिकारी हटाइन्छन्, दशौं तहको व्यक्ति ल्याइन्छ, अनि उनले आफैंलाई महानिर्देशक भनेर घोषणा पनि गर्छन् — यो अब साधारण नियुक्ति मात्र रहेन, यो संस्थागत व्यवस्थामाथिको हस्तक्षेप, नियमको अवमूल्यन र सत्ताको ‘साइन पावर’ हो।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
तपाईको प्रतिक्रिया दिनुहोस