माईती जिल्लाको सिडिओ बनेकी स्किमविरुद्ध जनप्रतिनिधिहरू नै आन्दोलित 


काठमाडौं। माईती जिल्ला (जन्मिएको जिल्ला) मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेर गएकी स्किम श्रेष्ठ लगातार विवादमा पर्दै आएकी छिन्। ५ महिना अघि जन्म जिल्ला मकवानपुरको सिडिओ बनेर गएकी स्किमको कार्यक्षमतामाथि समेत निरन्तर प्रश्न उठेको छ। पछिल्लो समय सिडिओ स्किम र एसपी विश्वराज खड्काको कार्यशैलीलाई लिएर हेटौंडाका जनप्रतिनिधिहरू आन्दोलनमा उत्रिएका हुन्।

गृह मन्त्रालयले सिडिओ सरूवासम्बन्धी कार्यविधि मिचेर स्किमलाई जन्म जिल्ला (नागरिकता अनुसार) मकवानपुरको सिडिओ बनाएको थियो। फागुनको दोस्रो साता मकवानपुर सिडिओको जिम्मेवारी सम्हालेकी स्किम त्यसपछि लगातार विवादमा छिन्। कहिले पत्रकार लाई फोटो भिडिओ खिच्न नदिएर विवादमा आउने त कहिले जिल्लामा शान्ति तथा सुव्यवस्था तथा अमनचयन कायम गर्न नसकेको भनेर स्किम विवादमा तानिँदै आएकी छिन्।

अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्न खोज्दा भूमाफियाहरूले हेटौंडा-१ का वडाध्यक्ष सविन न्यौपानेमाथि टाउकोमा गम्भीर चोट लाग्ने गरी आक्रमण गरेको थियो। ती भूमाफिया आक्रमणकारीहरूलाई अहिलेसम्म पक्राउ नगरेको भन्दै हेटौंडाका जनप्रतिनिधिहरू सिडिओ स्किम र एसपी विश्वराजविरुद्ध आन्दोलनमा उत्रिएका हुन्। गृह मन्त्रालयले सुशासनलाई चुनौती दिँदै स्किमलाई गृह जिल्लाको सिडिओ बनाएको थियो। त्यसको दुष्परिणाम अहिले देखिँदैछ। सिडिओ स्किमको कार्यक्षमता कमजोर हुँदा बागमती प्रदेशको राजधानी रहेको हेटौंडा नै असुरक्षित बन्दै गएको आरोप लागेको छ। आन्दोलनरत जनप्रतिनिधिले सुरक्षा व्यवस्था कमजोर हुँदा जिल्ला प्रशासन कार्यालयबाटै वडा कार्यालय चलाउनु पर्ने बाध्यता आइपरेको गुनासो गर्न थालेका छन्।

२०८१ जेठ १३ गते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सिडिओको जिम्मेवारी सम्हालेकी स्किमले ९ महिनापछि माईती जिल्लाको सिडिओ भएर जाने सौभाग्य प्राप्त गरेकी थिइन्। तर, उनी जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न असफल देखिएकी छिन्।

२०६९ असोजमा आदिवासी/जनजाति कोटाबाट महिला विकास अधिकृत बनेकी स्किम २०७७ साउन महिला कोटाबाट सीधै सहसचिव बन्न सफल भएकी हुन्। सहसचिव भएपछि स्किमले बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव र प्रदेश सुशासन केन्द्र हेर्ने गरी जिम्मा पाएकी थिइन्। प्रदेश सुशासन केन्द्रमा हुँदा अनियमितता भएको गुनासो आएपछि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भनेर उनलाई सरूवा गरिदिएका थिए। त्यसपछि स्किम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संघीय मामिला महाशाखा प्रमुख हुँदै गृह मन्त्रालय छिरेकी थिइन्। गृहमा छिर्नेबित्तिकै विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भएकी उनी केही समयपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सिडिओ बनेर गएकी थिइन्। नवलपरासी पश्चिमबाट स्किम माईती जिल्ला मकवानपुरको सिडिओ बन्न सफल भएकी छिन्। तर, मकवानपुरको सिडिओ चलाउन भने उनी असफल भएको पाइन्छ। स्किमको कार्यशैली र क्षमतालाई जिल्लास्थित राजनैतिक दल र जनप्रतिनिधिहरू नै विरोधमा उत्रिदाँ पनि गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडी अनदेखा गरिरहेका छन्। गृह प्रशासनको सुशासनले ‘हावा’ खाएको छ। गृह प्रशासन कमजोर बनाउने सिडिओमाथि गृह मन्त्रालय ‘मौनधारण’ गरेर बसिरहेको आरोप लाग्न थालेको हो।

 

क्याटेगोरी : समाचार
ट्याग : #स्किम श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ